November 24, 2026, 6:57 am
» एनभिडियामा जेन्सेन हुआङको नाटकीय पुनरागमन, मुख्यालयमा कर्मचारीको भव्य स्वागत ! » सुन-चाँदीको मूल्यमा वृद्धि, आज कति पुग्यो प्रतितोला ? » गुरु नानकको जन्मजयन्ती आज मनाइदै » विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति? » ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म महसुस

सहकारी पीडितको चित्कार सिंहदरबारसम्म पुगेन कि सुनिएन ?

मंसिर ८, २०८३ मा प्रकाशित | २००४ दर्शक तीव्रखबर

– अनुसा थापा

पछिल्लो केही समययता बैंकिङ्ग ठगी बढेको छ । बैंकको कर्मचारी भन्दै फोन गर्ने, केवाईसी माग्ने र रकम चोरी गर्ने कार्य भइरहेको छ । केवाईसी दिनेबित्तिकै खाताबाट पैसा गायब हुन्छ । यो त भयो एउटा । बैंककै कर्मचारीले खाताबाट पैसा चोरेको घटनाहरु पनि सार्वजनिक भइरहेको छ ।

बैंकमा पैसा सुरक्षित होला, एक दुई प्रतिशत ब्याज आउँला भनेर सर्वसाधारणले बचत गरेका छन् । तर, बैंककै कर्मचारीले पैसा चोर्न र केवाइसी माग्दै पैसा झिक्न थालेपछि सर्वसाधारणले कसरी बैंकमा बचत गर्ने ? कर्जा नगएपछि बैंकका कर्मचारी ग्राहक खोज्दै हिँडेका छन् ।

घरजग्गा दलाललाई ऋण लिन उनीहरु फकाइरहेका हुन्छन् । बैंकको ऋण लिँदा तिर्न नसकेर परिवार नै सकाएको घटनाहरु पनि सार्वजनिक भइरहेको छ । ऋण लिएपछि तिर्न सक्दैनन्, अनि आफू पनि मर्छन्, परिवार पनि मार्छन् । बैंक तथा वित्तिय संस्था माथिबाट जनताको विश्वास ढग्मगाउँदै गएको छ ।

एक करोडको धितो राखेर ६० लाख रुपैयाँ ऋण दिँदा बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा कर्मचारीले १० लाख त घुसै खान्छन् । अनि साँवा र ब्याजचाँहि ६० लाखकै तिर्नुपर्छ । ३० लाख पर्ने ट्याक्सी धितो राखेर १८ लाख दिँदा २७ हजार घुस नै खान्छन् । शुरुमा एक प्रतिशत सेवाशुल्क लिन्छन् ।

ऋणको अवधि सातदेखि १० वर्ष राखिएको हुन्छ । तर, वर्षैपिच्छे नवीकरण गर्न लगाएर एक प्रतिशत सेवाशुल्क असुलिन्छ । अवधिभन्दा अगाडि ऋण चुक्ता गर्न खोज्दा पनि एक प्रतिशत सेवाशुल्क तिर्नुपर्छ । कर्जा दिने बेलामा ब्याज १४ देखि १८ प्रतिशत भनिएपनि ८० प्रतिशत असुलिन्छ ।

ऋणीले महिनैपिच्छे तिरेको किस्ता साँवामा घटाइँदैन, बचत गरिन्छ । अनि ऋणीलाई हर्जाना तिराइन्छ । अर्कोतिर, धितोको बीमा गर्न लगाएर कमिशन खाइन्छ । ऋण दिने बेलामा खाली फोटोकपी पेपर र नेपाली कागजमा ल्याप्चे लगाएर राखिन्छ । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै पत्तै नदिई धितो नामसारी गराइन्छ ।

यो धन्दा हो, काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको । २०५७ मंसिर २९ गते सहकारी विभागमा दर्ता भएको सिन्सियरबाट हजारौं नागरिक पीडित भइसकेका छन् । सिन्सियरमा ठूलाठूला व्यक्तिको राजश्व छली र भ्रष्टाचार गरेको पैसा छ ।

व्यापारी, मारवाडी, ठेकेदार, सरकारी कर्मचारी, नेताहरुले यहाँ आफ्नो कालोधन लुकाएका छन् । सहकारी दर्ता गर्ने बेला अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठसँग २० लाखको पुर्ख्यौली सम्पत्ति थिएन । अहिले उनको राजधानीको महाराजगञ्जमा भव्य घर छ । विभिन्न ठाउँमा उनको घरजग्गा छ ।

सेयर र सुनमा पनि उनको लगानी छ । कार्यकारी सञ्चालक राजेश खड्का काठमाडौंको कलंकीको भएपनि १० लाखको पनि सम्पत्ति थिएन । सहकारीको कार्यकारी सञ्चालक भएर उनले ठाउँ ठाउँमा घरजग्गा जोडेका छन् । सेयर र सुनमा पनि उनको लगानी छ । सहकारी दर्ता हुँदासम्म उनीहरुसँग कार्यालय आउने सवारी साधनसमेत थिएन ।

राजेन्द्रभक्त हिँडेर र राजेश साइकलमा आउँथे । कर्जा अधिकृत मीरा कर्माचार्य १० वर्षअघि बालाजुस्थित निजी अस्पतालमा १० हजार रुपैयाँ मासिक तलबमा काम गर्थिन् । ढल्कुकै बासिन्दा भएपनि उनी सम्पन्न परिवारकी होइनन् । तर, सिन्सियरमा बसेर, ऋणीको उठिबास लगाएर कमाइन् ।

बचतकर्तालाई तीनदेखि ६ प्रतिशत ब्याज दिने, ऋणीसँग ८० प्रतिशत असुल्ने । ऋण तिर्न नसकेर धितो गुमाएकाको सम्पत्ति बेच्ने, आफ्नो कटाएर बाँकी भएको पैसा ऋणीलाई नदिने, आफैं खाने । सहकारीमा बचत गरेको बचतकर्ताको निधन भयो भने तिनको परिवारलाई खबर नै गरिँदैन ।

सिन्सियरकै पदाधिकारीले त्यो पैसा खाइदिन्छन् । किस्ता तिरिरहेको हुन्छ तर ऋण घट्दैन, यस्तो गुनासो पनि सुनिन्छ । बचतकर्ताको पैसा खाताबाट हराउँछ । कमिशन खानका लागि ऋणीलाई थाहै नदिईकन धितोको बीमा गराइन्छ । धितो लिलाम गर्नुअघि अनिवार्य राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्नुपर्छ ।

तर, सिन्सियरले त्यसो गर्दैन । सूचना ननिकालिकन धितो लिलाम गरिन्छ । पीडितले गुनासो गर्दा उनीहरु ‘जे सक्छन्, त्यही गर’ भनेर धम्क्याउँछन् । प्रशासनदेखि लिएर गुण्डागर्दी गर्नेहरु उनीहरुको साथमा छन् । सिन्सियरले वर्षेनि साधारण सभा गर्छ । साधारण सभामा गएकालाई पैसा दिइन्छ ।
साधारण सभामा देखाउने प्रतिवेदन र वास्तविक प्रतिवेदन अर्कै बनाइन्छ । नक्कली डकुमेण्ट देखाउँदै आइएको छ । सिन्सियर सिंहदरबारबाट धेरै टाढा होइन । प्रधानमन्त्री, सहकारीमन्त्री, गृहमन्त्री त्यही नजिक हुँदापनि सिन्सियरमाथि कारबाही हुन सकेको छैन । सिन्सियरलाई न सहकारी विभागले कारबाही गर्न सक्यो न सहकारी मन्त्रालय न अख्तियार न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ।

सिन्सियरविरुद्ध पहिलोपटक २०७९ चैत ८ गते अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी परेको छ । अख्तियारमा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०४८८०९ रहेको छ । त्यसैगरी, सोही दिन सम्पत्ति शुद्धिकरणमा पनि उजुरी परेको देखिन्छ । उजुरीको दर्ता नम्बर ४४५५ रहेको छ ।

उजुरीमा सिन्सियरको ठगीधन्दाको नालीबेली उल्लेख गरिएको छ । त्यस्तै, सिन्सियरविरुद्ध २०८० साउन २८ गते अर्को उजुरी परेको छ । सम्पत्तिको छानबिन गरिपाऊँ’ भन्दै परेको उजुरीको दर्ता नम्बर सी–००८०६२ रहेको छ । उनीहरुले कर्जावालसँग घुस खाएर अंकुत सम्पत्ति जोडेको भन्दै छानबिनको लागि अख्तियारको ध्यानाकर्षण गराइएको छ ।

पछिल्लोपटक २०८१ कात्तिक २५ गते उजुरी परेको छ । जसको दर्ता नम्बर सी–०२७४८५ रहेको छ । उजुरीमा भनिएको छ,‘यो संस्थामा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारीलगायतले आफ्नो कालोधन लुकाएका छन् ।’ तर, उजुरी पर्दासमेत सिन्सियरमाथि कुनै कारबाही भएन ।

स्थानीय सरकार र प्रदेश सरकारले पनि सिन्सियरमाथि कारबाही गर्न चासो देखाएको छैन । सरोकारवाला निकाय कारबाही गर्दैन अनि पीडितले के गर्ने ? सरकारले नसुनेपछि कानुन हातमा लिनुपर्ने बाध्यता हुन्छ कि हुँदैन ? सिंहदरबार छेउमै ठगीधन्दा चलाएर बसेकालाई कारबाही गर्न नसक्ने बालेन्द्र साह नेतृत्वको सरकारले सुशासन कायम गर्छ ?

अर्थतन्त्र संकटमा पर्नुको प्रमुख कारण यही नै हो । जनताको मनमा बैंक तथा वित्तिय संस्था ठग हुन् भन्ने परेको छ । सर्वसाधारणले बचत नै नगरेपछि, ऋण नै नलिएपछि कसरी बैंक तथा वित्तिय संस्था चल्छ ? अर्थतन्त्र कसरी माथि जान्छ ? पहिले पो जनताले बैंकबाट कर्जा लिन्थे ।

कुनै क्षेत्रमा लगेर लगानी गर्थें । राजश्व आउँथ्यो । जानाजान कसले आफ्नो खुट्टामा बञ्चरो हान्ने ? तर, नेपाल राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्रीले यो कुरा बुझ्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *