November 18, 2026, 11:34 am
» राजपरिवारको सम्पत्तिमा सीमित व्यक्तिको रजगज ! » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने » इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह » नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार

राजपरिवारको सम्पत्तिमा सीमित व्यक्तिको रजगज !

मंसिर २, २०८३ मा प्रकाशित | ००४ दर्शक तीव्रखबर

– रुषा थापा

२०५८ जेठ १९ गते राजा वीरेन्द्र वीर विक्रम शाह र उनको सम्पूर्ण परिवारको हत्या भयो । उनको वंश नै मारियो । तर, राजा वीरेन्द्रको सम्पत्ति कति थियो ? अहिलेसम्म जनतालाई थाहा छैन । उनी र उनको परिवारका नाममा देशभरि कति जग्गा थियो ? नेपाल र विदेशका बैंकमा कति नगद थियो ? सुनचाँदीलगायत गरगहना कति थियो ? शेयरमा कति लगानी थियो ? सवारी साधन कति थियो ? जस्ता कुनै पनि विवरण सार्वजनिक भएन ।

राजा वीरेन्द्रको वंश नासिएको २५ वर्ष पूरा भइसकेको छ । विडम्बना, अहिलेसम्म राजा वीरेन्द्रको वंश नासिनु पछाडि कसको हात थियो ? जनताले थाहा पाउन सकेका छैनन् । न त दोषीलाई कानूनी दायरामै ल्याउन सकियो । बरु, उल्टै राजा वीरेन्द्र र उनको परिवारको हत्यारा पत्ता लगाउने र कारबाही गर्ने स्टन्टबाजी गरेर जनतालाई भ्रमित बनाउने काम हुँदै आएको छ । ०८३ जेठ २६ गते दोस्रो पटक गृहमन्त्री बनेपछि सुधन गुरुङले राजपरिवार हत्याको पुनः अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने बताएका थिए ।

तर, पाँच महिना बित्दासमेत केही पनि भएको छैन । न त राजपरिवार हत्यारा समातिए न राजपरिवारको सम्पत्तिको खोजतलास नै भएको छ । गृहमन्त्री गुरुङलाई जनता प्रश्न गर्छन्–राजपरिवारको नाममा स्टन्ट गर्न तपाईंलाई लाज लागेन ? झुटो कुरा र आश्वासन बाँडेर पदमा बसिरहन नैतिकताले दिन्छ ? त्यसैले, गृहमन्त्री गुरुङले अब जनतासामु माफी माग्नुपर्छ । किनकि दुःखद् घटनालाई हतियार बनाएर आफू चर्चित हुनु आफैंमा लज्जास्पद त छँदैछ, सँगै जनताको भावनामाथि समेत खेडबाठ गर्नु हो ।
राजपरिवारको हत्यारा र सम्पत्ति खोजतलासमा गृहमन्त्री गुरुङले बेवास्ता गरेपनि प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले खोजीनीति गर्ने जनताको आशा छ । जनता प्रधानमन्त्री बालेनसँग माग गर्दछन्–‘राजा वीरेन्द्रको वंश नाश गर्नेलाई पत्ता लगाउनुस्, कडाभन्दा कडा कारबाही गर्नुस् र राजाको सम्पत्ति खोजतलास गरेर फिर्ता ल्याउनुस् ।’ राजा वीरेन्द्र र उनका परिवारका नाममा थुप्रै सम्पत्ति थियो, चाँहे त्यो नगद होस् या जग्गा अथवा सुनचाँदीलगायत गरगहना । तर, राजपरिवारको वंश नाशपछि ती सम्पत्तिसमेत हड्पियो ।

अथवा राजपरिवारको अन्तिम निशानीसमेत मिलीचुली बाँडियो । ती सम्पत्तिबाटै सीमित व्यक्तिहरु अहिले करोडपति, अर्बपति बनेका छन् । राजपरिवारको जग्गा हड्पेर कसैले घर ठड्याए त कसैले उद्योग । कोही राजाको पैसामा अर्बपति बने । त्यसैले, अब बालेन सरकारले राजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोजतलास गर्नुपर्छ । राजपरिवारको सम्पत्ति के कति थियो ? र अहिले कति छ ? जाँच गरियोस् । यसबाटै थाहा हुनेछ कि राजपरिवारको नाममा भएको के कति जग्गा, नगद, गरगहना हड्पियो ? बालेन सरकारले यो काममा ढिलाई गर्नुहुँदैन । किनकि जति ढिलो गर्यो, त्यति नै त्यस्ता सम्पत्ति हड्पनेहरुको मनोबल बढ्दै जानेछ । उनीहरु धनी बन्दै जानेछन् ।

वीरेन्द्र र उनका परिवारको हत्यापश्चात् उनका भाइ ज्ञानेन्द्र राजा भए । उनी निरकुंश बन्न थालेपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्रको अन्त्य भयो, लोकतन्त्र गणतन्त्रको स्थापना भयो । ज्ञानेन्द्र दरबार छोडेर नागार्जुनको जंगलमा गएर बस्न थाले । रोचक कुरा के छ भने, राजतन्त्र हटेपनि ज्ञानेन्द्रले राजाबापतको मासिक भत्ता र सेवासुविधा पाउँदै आएका छन् । अनि कसरी हट्यो राजतन्त्र ? ज्ञानेन्द्रले श्रीपेच त खोले तर राजा हुँदा उनी र उनका परिवारले पाउनुपर्ने हरेक सेवासुविधा अहिलेपनि यथावत छ ?
अनि राजतन्त्र हटिसकेको भए यी सेवासुविधा किन अझैपनि कायमै छ ? राजतन्त्रको अन्त्यपश्चात् राजपरिवारको सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको संरक्षणमा राख्ने निर्णय सरकारले गर्यो । राजपरिवारको कति सम्पत्ति थियो र कति ट्रष्टको संरक्षणमा आयो ? ट्रष्टले अहिलेसम्म सार्वजनिक गरेको छैन । यसमा पनि अर्को महत्त्वपूर्ण कुरा, वीरेन्द्र र उनका परिवारको कति सम्पत्ति ट्रष्टको नाममा आयो र ज्ञानेन्द्र र उनका परिवारको नाममा रहेको कति सम्पत्ति ट्रष्टको स्वामित्वमा गयो ? कि केही पनि सम्पत्ति ट्रष्टको स्वामित्वमै गएको छैन ? यसबाट जनता अनजान छन् ।

राजपरिवारको सम्पत्तिका रुपमा भक्तपुरको सल्लाघारी तीनकुने चौरमात्र देखिएको छ । यो जग्गा राजा महेन्द्रले ०२४ सालमा किनेका थिए, प्रति रोपनी एक हजार रुपैयाँमा । लालपूर्जामा एक सय दश रोपनी लेखिएको यो जग्गा त्यतिखेर नापजाँच गर्दा एक सय ४५ रोपनी हुन्थ्यो । कर तिर्नुपर्ने भएकोले जग्गाधनीहरुले जग्गा लुकाएका थिए । तर, यो जग्गा पनि अतिक्रमण भइसकेको छ । एक सय दश रोपनीमध्ये अहिले बढीमा ६०–६५ रोपनीमात्र बाँकी छ । अरु जग्गामा राजनीतिक दलका कार्यकर्ताहरु (विशेषगरी नेमकिपा) ले घरलगायत संरचना बनाएका छन् ।

उनीहरुले सम्पन्नता प्रमाणपत्रसमेत पाइसकेका छन् । बाँकी जग्गामा समेत नेमकिपाको रजगज रहेको भक्तपुर नगरपालिका आँखा गाँडेर बसेको छ । यो जग्गामा ख्खप विश्वविद्यालय बनाउने नगरपालिकाको योजना छ । ट्रष्टको संरक्षणमा रहेको भनिएपनि यो जग्गामा नगरपालिकाको रजगज चलिआएको छ । नगरपालिकाले यही जग्गाबाट मासिक करोडौं आम्दानी गर्दै आएको छ, भाडा उठाएर । ०७४ सालमा यो जग्गा घेराबन्दीका निम्ति अर्थ मन्त्रालयबाट प्राप्त तीन करोड बजेटसमेत हिनामिना गरिएको आरोप छ । जग्गा नापजाँच नै नगरी नगरपालिकाले घेरा लगायो । अर्थात् पर्खाल र गेट । त्यसमा बढीमा १५–२० लाख खर्च भएको र बाँकी करोडौं रकम भ्रष्टाचार भएको स्थानीय नै दाबी गर्छन् ।

राजपरिवारको सम्पत्ति कसरी हड्पिरहेको छ ? यो त एउटामात्र उदाहरण हो । किनकि राजपरिवारको सम्पत्ति देशभरि थियो । ती सम्पत्तिको अहिले कुनै हिसाबकिताब छैन । सरकारले बेवास्ता गर्दा सीमित व्यक्तिहरुले राजपरिवारको सम्पत्तिमाथि कब्जा जमाए ।

अहिले उनीहरु मालामाल बनेका छन् ? दुर्भाग्य, राजपरिवारको अन्तिम निशानीसमेत वर्तमान र भावी पुस्ताले देख्न नपाउने भए । त्यसैले, अब बालेन सरकार तात्न आवश्यक छ । राजपरिवारको सम्पत्ति खोज्नतर्फ सरकार सक्रिय होस् । नत्र केही बचेका सम्पत्तिसमेत चाँडै अतिक्रमण हुनेछ । राजा साझा थिए र राजपरिवारको सम्पत्ति पनि समग्र जनताको साझा सम्पत्ति हो । राजपरिवारको सम्पत्ति खोजतलासका निम्ति सञ्चारमाध्यमहरुले पनि सरकारलाई दबाब दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *