तीव्रखबर
देशको संघीय राजधानी काठमाडौं सहितका अन्य प्रमुख जिल्लामा मानव बस्ती बढ्दै गएको छ । मानवको बसोबास बढ्दै जाँदा मुलुकको राजधानी र जिल्लाका प्रमुख शहरहरु अव्यवस्थित र सरोकारवाला निकायको लापरवाहीले असुरक्षित बनिरहेको छ । पछिल्लो समय पेट्रोल पम्प जताततै देखिन्छ ।
राजधानीमा त सडक छेउछाउ र बस्तीको बीचमा पेट्रोल पम्प सञ्चालन भइरहेको छ्याप्छ्याप्ती भेटिन्छ । मानव बस्ती र सवारी साधनको संख्या बढेसँगै अन्य जिल्लामा पनि पेट्रोल पम्प खुल्ने क्रम बढ्दो छ । तर, यी पेट्रोल पम्प कतिबेला ब्लास्ट हुने हुन् थाहा छैन । सरकारले पेट्रोल पम्प सञ्चालनका निम्ति निश्चित मापदण्ड तोकेको छ ।
विडम्बना, देशको संघीय राजधानी काठमाडौंमै त्यसको पालना भएको पाइँदैन । एक आना जग्गामा पेट्रोल पम्प सञ्चालन भएका छन्, त्योपनि घनाबस्तीको बीचमा । पेट्रोल पम्पमा बस छिर्न पनि महाभारत देखिन्छ । पेट्रोल पम्प वरपरका घरधनी र डेरावालहरु त्रसित भएर बाँचिरहेका छन् ।
पेट्रोल पम्पमा जतिबेला पनि आगलागी या अन्य कुनै घटना घट्न सक्छ । तैपनि, सरकार यसमा गम्भीर बनेको छैन । त्यति मात्र होइन, घनाबस्तीकै बीचमा इन्धनको डिपो राखिएको छ । थानकोट र सिनामंगलमा सरकारले इन्धन भण्डारणका लागि डिपो बनाएको छ । त्यहाँ ग्याँस, पेट्रोल, मट्टितेल, डिजेल, हवाई इन्धन लगायत भण्डारण हुन्छ ।
रोचक प्रसंग त के भने, नेपाल आयल निगमले सिनामंगलमा राखेको डिपो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको छ । डिपोमा केही भइहालेमा त्यसले गर्ने क्षतिको कल्पनासमेत गर्न सकिँदैन । विमानस्थलसम्म क्षति हुन सक्छ । डिपोलाई व्यवस्थित बनाउनमा सरकारलाई चासो छैन ।
ठूल्ठूला सुपरमार्केटहरु घनाबस्तीकै बीचमा सञ्चालित छन् । जेनजी आन्दोलनमा भाटभटेनी जलाइयो । छेउछाउका स्थानीय एकदमै त्रसित बनेका थिए । यता, पार्टी प्यालेस पनि घनाबस्तीकै बीचमा खोलिएको छ । पछिल्लो समय पार्टी प्यालेस खुल्ने क्रम बढेको छ । सडक छेउछाउ थुप्रै पार्टी प्यालेस खुलेका छन् ।
तर, के तिनले मापदण्डको कार्यान्वयन गरेका छन् ? अनुगमन शून्यबराबर छ । पार्किङ्ग र ध्वनि प्रदूषणको समस्या समाधानबिनै पार्टी प्यालेस खोल्न दिइएको पाइन्छ । अधिकांश पार्टी प्यालेसमा पार्किङ्गको समस्या छ । बाटोमा गाडी तेस्य्र्राएर सर्वसाधारणलाई दुःख दिइन्छ । अर्कोतर्फ लाउण्ड स्पिकर बजाएर ध्वनि प्रदूषण र डिस्टर्ब गरिन्छ ।
कबाडी गोदामहरु देशको संघीय राजधानीमै यत्रतत्र छन्, त्योपनि घनाबस्तीको बीचमा । ती कबाडी गोदामहरुमा बेलाबखत आगलागी भएको घटना सार्वजनिक भइरहेको हुन्छ । अब भनौं, आम सर्वसाधारण कति त्रसित बनेका होलान् ? उनीहरु कसरी बसेका होलान् ? यता, ड्राइभिङ सेन्टरहरु अहिले जताततै खुलेका छन् ।
थोरै जग्गा लिने, अनि घनाबस्तीको बीचमा सञ्चालन गर्ने । यो क्रम पछिल्लो समय व्यापक बढेको छ । अधिकांश ड्राइभिङ सेन्टरले मापदण्ड पालना नगरेकोमा तिनमा अनुगमन र कारबाहीको दायरामा ल्याउन सरोकारवालालाई चासो छैन । ग्याँसको सिलिण्डर भण्डार गर्ने डिपोहरु घरघरमा छ ।
तल सटरमा भरेको ग्याँसको डिपो हुन्छ, माथि मान्छे बसेका हुन्छन् । त्यो जति जोखिमपूर्ण के हुन सक्ला ? तरकारी बजारहरु पनि व्यवस्थित छैनन् । जति पनि तरकारी बजार छन्, सबै घनाबस्तीमै छन् । जहाँ मान्छेको चाप छ, त्यहीँ निजी शैक्षिक संस्था र वित्तिय संस्था छन् ।
निजी शैक्षिक संस्थाहरु एउटा घर भाडामा लिएर सञ्चालन भएका छन् । न त्यहाँ पढ्ने वातावरण छ न पढाउने । शैक्षिक संस्थाहरुले कमाउनका निम्ति सरकारको मापदण्डको धज्जी उडाउँदै भाडाको घरमा स्कूल, कलेज सञ्चालन गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरु सडक छेउछाउ छन् ।
कहिलेकाँही लाइन सडकसम्म आइपुगिरहेको देखिन्छ । व्यापारिक केन्द्रहरु घनाबस्तीकै बीचमा सञ्चालित छन् । उदाहरणका लागि भृकुटीमण्डप । भृकृटीमण्डप देख्दा धेरैलाई कबाडी गोदाम होकि जस्तो लाग्छ । त्यसले राजधानीकै बदनाम गराएको छ । प्लास्टिकले बेरेर भृकुटीमण्डप सञ्चालन भइरहेको छ ।
तर, सरकार न त्यसलाई हटाउन सक्छ न व्यवस्थित गर्न । कलंकीको खसीबजार पनि त्यस्तै छ । त्यहाँ वरपरबाट हिँड्डुल गर्नसमेत सर्वसाधारणलाई हम्मेहम्मे छ । ईँट्टाभट्टा पनि घनाबस्तीकै बीचमा राख्न दिइएको छ । ईँट्टाभट्टाबाट व्यापक धुवाधुलो निस्किन्छ । त्यसले वायुप्रदूषण त गएको छ नै साथै वरपरका स्थानीयलाई बस्न पनि महामुस्किल छ ।
गोगंबुस्थित बसपार्क, बागबजार, बल्खु, जोरपाटी मकालुबारी, जडीबुटीको बसपार्क घनाबस्तीमै राखिएको छ । यी बाटोकै छेउमा छ । घर नै असुरक्षित बन्दै गएको छ । राजधानीमा पाँचदेखि १९ तलासम्म घर बनेका छन् । केही दिनअघि भक्तपुरको राधेराधेमा करेण्ट सर्ट भएर आगलागी भयो ।
आगलागी नियन्त्रणमा लिन तीन घण्टा लाग्यो । धन्न दिँउसो थियो र मानवीय क्षति हुन पाइएन । राति भएको भए कति क्षति हुन्थ्यो ? कल्पना पनि गर्न सकिँदैन । कोठैपिच्छे ग्याँस छ, बत्ती छ । यी त जोखिम हुन् । जतिबेला पनि आगलागी हुन सक्छ । राजधानीमा एउटा ट्याक्सी छिर्न नसक्ने ठाउँमा घर बनाएर र भाडामा मान्छे बसिरहेका छन् ।
आगलागी भयो भने दमकल छिर्न पनि सक्दैन । अन्तर्राष्ट्रिय विमानस्थल जतिबेला पनि सञ्चालन हुन्छ । दैनिक सयौं विमान आवतजावत हुन्छ । डरलाग्दो कुरा के भने, विमानस्थल वरपर घनाबस्ती छ । विमान उड्दा र अवतरण हुँदा घरमा ठोक्किने हो कि भन्ने डर यात्रुलाई हुन्छ ।
सरकारले कि त वरपरका बस्ती हटाउनुपर्यो, कि एअरपोर्ट सार्नुपर्यो । जोखिम छ भन्ने थाहा हुँदाहुँदै हेलचेक्य्राइँ गरिएको अवस्था छ । एअरपोर्टकै छेउमा इन्धनको डिपो छ । दुईटै जोखिमपूर्ण क्षेत्र एकअर्कासँग जोडेर सञ्चालन गरिएको छ । सरकारले यसअघि इन्धनको डिपो सार्न खोजेको थियो ।
जोखिमपूर्ण हुने भएकाले सार्न लागेको ठाउँका स्थानीयले रोके । उनीहरुले दिएनन् । जोखिम छ भन्ने जान्दाजान्दै कसले दिन्छ । सरकारले इन्धनको डिपो र एअरपोर्ट मानव बस्तीबाट टाढा सार्नुपर्छ । घनाबस्तीकै बीचमा ठूला होटल, रेष्टुरेण्ट छन् । निर्माण सामग्री बेच्ने पसल पनि घनाबस्तीकै बीचमा छ ।
घरधनी जसले बढी भाडा दिन्छ, उसलाई डेरामा दिइहाल्छन् । त्यसले गर्ने जोखिमबारे उनीहरुलाई मतलब नै छैन । तर, यो काम त राज्यको हो । कहाँ कुन व्यापार गर्ने ? कुन व्यापार कस्तो घरमा सञ्चालन गर्न दिने ? अफिस कहाँ सञ्चालन गर्न दिने ? कहाँ डेरामा दिने ? यो तोकिदिने काम राज्यको हो ।
विडम्बना, राज्यलाई मतलब नै छैन । इजाजत दिने बेलैमा राज्यले सबै कुरा ख्याल गर्नुपर्छ । घनाबस्तीको बीचमा अपार्टमेण्ट छन् । आगलागी भयो, भूकम्प आयो भने त्यहाँका मान्छे भाग्न पनि सक्दैनन् । सरकारी कार्यालय वरपर अग्लाअग्ला घर छन् । त्यसले भोलि गर्ने क्षति राज्यले देखेको छैन ।
शहर अस्तव्यस्त छ । कुन बेला के हुन्छ भन्न सकिन्न । शहर व्यवस्थित बनाउन राज्यलाई चासो छैन । घरधनी र व्यापारीलाई पैसा कमाउनुछ, जनताको ज्यानसँग के सरोकार ?
प्रतिक्रिया