तीव्रखबर
काठमाडौं । नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। हिरासतमा रहेका व्यक्तिलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोजिएको र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग भएको आशंका गर्दै कांग्रेसले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटाको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको, तयार पारिएको कागज पढ्न बाध्य बनाएको र नमाने फसाइदिने धम्की दिएको भन्ने आरोप गम्भीर प्रकृतिको भएको बताएका छन्।
आङ्देम्बेका अनुसार सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेख गरेका तथ्यहरूले अनुसन्धान प्रक्रिया र राज्यका निकायको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार पछिल्ला दिनमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नेपाली कांग्रेसका सभापति गगन थापालगायत व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पारिएको र हिरासतमा रहेका व्यक्तिलाई दबाब दिएर त्यसअनुसार बोल्न बाध्य पारिएको आरोप सार्वजनिक भइरहेका छन्।
‘हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पारेको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको हो भने यो सामान्य विषय होइन। यो विधिको शासनमाथिको गम्भीर प्रहार हो,’ आङ्देम्बेले भनेका छन्।
अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउनु तथा राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी शासनको मर्मविपरीत भएको उनको भनाइ छ।
आङ्देम्बेले प्रधानमन्त्रीसँग समेत यस प्रकरणबारे स्पष्ट जवाफ मागेका छन्। सरकारले इनम सापकोटा प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको छ वा नियोजित रूपमा कसैलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने प्रश्न उठाउँदै उनले अनुसन्धानकारी निकायको विश्वसनीयतामाथि नै चुनौती उत्पन्न भएको बताएका छन्।
‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ उनको भनाइ छ।
कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौंदेखि संघर्ष गर्दै आएको पार्टी भएको उल्लेख गर्दै आङ्देम्बेले यस प्रकरणमा आफ्नो अडान स्पष्ट रहेको बताएका छन्।
उनले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय समिति गठन गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिने जोकोहीलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ। राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुँदै होइन,’ आङ्देम्बेले भनेका छन्।
कांग्रेसले सरकारलाई क्षणिक राजनीतिक स्वार्थ र सनकका आधारमा नभई संविधान, लोकतान्त्रिक मूल्य र विधिको शासनअनुसार सञ्चालन हुन पनि आग्रह गरेको छ।
प्रतिक्रिया