November 26, 2026, 12:26 pm
» मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह » नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार » विवाह बन्धनमा बाँधिए रोहित पौडेल » एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

घरजग्गादेखि सुनचाँदीसम्म लगानीकर्ता त्राहिमाम !

मंसिर १०, २०८३ मा प्रकाशित | २६०४ दर्शक तीव्रखबर

हिजो मंसिर ९ गते सुनको मूल्य घटेर तोलाको दुई लाख ४१ ह्जार ४ सय रुपैयाँमा झर्यो । चाँदी पनि तीन सय ४० रुपैयाँमा झर्यो । बजारमा सुनचाँदी बेच्न खोज्नेहरु थुप्रै थिए । तर, अधिकांश सुन पसल बन्द गरिएका थिए । बन्द नगरिएका सुन पसलहरुले पनि सुनचाँदी दुवै किन्न मानिरहेका थिएनन् । पसलहरुले भन्थे–हामीसँग पैसा छैन, अन्त लगेर बेच्नुस् ।

सुनचाँदीको मूल्य लगातार घटिरहेको छ, त्यो पनि भारी रुपमा । बजारमा विश्लेषण गर्न थालिएको छ कि सुन तोलाकै ५० हजारसम्म झर्नेछ । त्यस्तै, चाँदी पनि पाँच सयदेखि हजारमा झर्ने व्यापक चर्चा छ । वि.सं. २०२२ सालमा सुन तोलाको ८० रुपैयाँ रहेको भन्नेहरु अहिलेपनि भेटिन्छन् । त्यतिबेला चाँदी त सित्तैमा समेत कसैले नलैजाने उनीहरु बताउँछन् ।

०८२ भदौ १८ गते त्यही सुन तोलाकै तीन लाख ४९ हजार तीन सय रुपैयाँ पुग्यो । ज्यालासहित चार लाख रुपैयाँ हालेर सर्वसाधारणले किने । त्यस्तै, चाँदी आठ हजार ६७० रुपैयाँ पुगेकोमा ज्यालासहित दश हजार हालेर मानिसहरुले किनेका थिए । त्यतिखेर बजारमा व्यापक हल्ला थियो–सुन तोलाको पाँच लाखसम्म पुग्छ । चाँदी पनि १५ हजार पुग्नेछ ।

सुन व्यवसायीहरु यही हल्ला फिजाउँदै सर्वसाधारणलाई सुनचाँदी किन्न प्रोत्साहित गर्थे । यसरी तोलाकै पाँच लाख रुपैयाँ पुग्ने भनिएकोमा मूल्य झन् घटिरहेको छ । पछिल्लो एक वर्षमै सुनमा लगानी गर्नेहरुले तोलामै डेढ लाख रुपैयाँ गुमाइरहेका छन् ।
चाँदीमा पनि सात हजार रुपैयाँ गुमिसक्यो । एक तोलामात्र सुनचाँदी किन्नेलाई त मूल्यमा भारी गिरावटले खासै असर नपरेको होला तर दलाली वा सुन व्यापारीहरुको लहैलहैमा लागेर महँगोमा किलोका किलो सुनचाँदी किनेकाहरु अहिले चुर्लुम्मै भएका छन् । उनीहरुको रुवाबासी शुरु भइसकेको छ । एक वर्षअघि सुनचाँदी किन्न जाँदा व्यापारीहरु भन्थे–यो सुनचाँदी जुनसुकै समयमा बेच्न ल्याएपनि किन्छौं ।

तर, अहिले व्यापारीहरु पसल बन्द गरेर घरमै लुक्न थालेका छन् । किनकि उनीहरुलाई थाहा छ–सुनचाँदीको मूल्य अझै घट्नेछ । दलाली र सुन व्यापारीहरुको लहैलहैमा लाग्दा करोडौं सर्वसाधारणले एक वर्षकै बीचमा लाखौं–करोडौं रकम डुबाएका छन् । सुनमा लगानी गर्दा सर्वसाधारण त डुबे नै, बैंकसमेत संकटमा पर्ने देखिएको छ । बैंकले सुन धितो राखेर विभिन्न व्यक्तिलाई ३१ खर्ब कर्जा प्रवाह गरेको छ ।
सुनको मूल्य लगातार घटिरहेको छ, यस्तो अवस्थामा ऋणीले कर्जा तिर्न सक्दैनौं, सुन लिलाम गर्नुस् भन्नसक्ने सम्भावना बलियो छ । तर, सुन लिलाम गरेपनि कर्जा रकम उठ्न सक्ने अवस्था नै छैन । किनकि ३१ खर्बको सुन त अर्बमा झरिसकेको छ, केही समयपछि लाखमा समेत झर्न सक्छ, तब बैंकको हालत के होला ? सुनचाँदीजसरी घरजग्गा, गाडी, सेयरमा लगानी गर्दा पनि थुप्रैले आफ्नो पुँजी गुमाएका छन् ।

दलालीहरुले रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य वा सरकारी जग्गासमेत दर्ता गरेर प्लटिङ गरे । जग्गाको मूल्य आनाकै लाखदेखि करोडौं पुर्याए र बेचिदिए । यसका लागि एउटै उदाहरण काफी छ । भक्तपुरको राधेराधे क्षेत्र पाँच दशकअघि सिमसार थियो । बाह्रै महिना डुबानमा पर्ने र अधिकांश जग्गा सरकारी, गुठी, सिमसारको भएकोले यहाँ संरचना बनेका थिएनन् । न त जग्गा किनबेच नै हुन्थ्यो ।

तर, दलालीहरुले यहाँका जग्गा पनि प्लटिङ गर्न शुरु गरे । सोही क्रममा ०६६ सालमा राधेराधेमा पन्ध्र तले भवन निर्माण शुरु भयो । यद्यपि, उक्त भवन अहिलेपनि निर्माणाधीन अवस्थामै छ । त्यसकै अगाडि रहेको भाटभटेनी सुपरमार्केटको भने ०७४–७५ सालबाट निर्माण थालिएको थियो । भाटभटेनी बनेपछि ०७८–०७९ मा यहाँ जग्गाको मूल्य आनाकै ६५ लाखदेखि करोडौं पुग्यो । तैपनि जग्गा पाउन मुस्किल हुन्थ्यो ।

अहिले यही एरियामा जग्गा बिक्री हुन गाह्रो परेको छ । बर्खायाममा डुबानमा पर्ने र अधिकांश जग्गा वि.सं. २०२१ सालमा नापीका क्रममा सरकारी, गुठी, ऐलानी, सिमसारमा राखिएको थाहा पाएपछि यहाँ जग्गा किनबेच ठप्प भएको छ । भाटभटेनी बनेपछि यहाँको जग्गा आनाकै करोडौंमा किनबेच भएको थियो । मानिसहरुले करोडौं लगानी गरेर घर बनाए, बैंक–वित्तिय संस्थाबाट ऋण लिएर ।

यो ठाउँका घरजग्गामा बैंकको अर्बौ कर्जा लगानी छ । तर, अहिले यहाँ घरजग्गाको मूल्य स्वाट्टै घट्नुका साथै किनबेच ठप्प छ । अब भनौं–व्यक्तिसँगै बैंकको लगानी पनि डुब्यो कि डुबेन ? राधेराधेमा मात्र होइन, देशभरिका विशेषगरी शहरी इलाकामा दलालीहरुले जग्गाको मूल्य ह्वात्तै बढाएका थिए । उनीहरुकै कारण गाउँ रित्तियो । अब भने दलालीहरु भाग्नुपर्ने दिन आउँदैछ । यता, सेयर जलविद्युत, बीमालगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गर्दै आएका छन् ।

०७८ भदौ ३ गते सेयर कित्ताकै ३२ सय ८७ रुपैयाँ पुगेको थियो । गत भदौ १५ गते यही सेयर घटेर कित्ताको २५ सय १३ मा झरेको थियो । त्यसअघि १७ सयमा समेत झरिसकेको थियो । सेयरको मूल्य अझै घट्ने बजारमा व्यापक चर्चा छ । किनकि कृत्रिम रुपमा बढाइएको मूल्य कुनै न कुनै दिन त वास्तव मूल्यमा झर्ने नै छ । अनि झण्डै ३३ सयमा किनेको सेयर एक सय रुपैयाँमा झरेमा के होला ? सेयरमा पनि व्यक्तिसँगै बैंक–वित्तिय संस्थाको खर्बौ कर्जा लगानी छ । फलाम, सिसा, प्लाष्टिक, रबर, फर्मजस्ता सामानहरु दुई रुपैयाँ किलोमा समेत बिक्री हुन मुस्किल पर्छ ।

तर, यस्तै सामानबाट छिमेकी मुलुकहरु भारत र चीनले सवारीसाधन बनाए । अटो शोरुमहरुले एउटै गाडी लाखदेखि करोडौं हाली किनेर नेपाल भित्र्याए । र, आफूले किनेको भन्दा दश गुणासम्म बढी मूल्यमा सर्वसाधारणमा बेचे । अधिकांश गाडी पेट्रोलबिना चल्दैन, अर्कोतर्फ आगो लागेमा गाडीको हालत के हुन्छ ? हामी सबैले जेनजी आन्दोलनमा देखिसकेकै छौं । करोडौं पर्ने सरकारी गाडीहरु आगो परेपछि सित्तैमा लैजानेसमेत कोही छैनन् भने हामीसँग पेट्रोलको खानी छैन ।

बाहिरबाट ल्याउनुपर्छ । अनि विदेशीले पेट्रोल नै नदिएमा ती करोडौं पर्ने सवारीसाधन काम लाग्ला ? घरजग्गा, गाडी, सेयर र सुनमा गरिएको लगानीका कारण त व्यक्ति त डुबे नै, बैंक–वित्तिय संस्था पनि समस्यामा परे नै, सँगै मुलुकको अर्थतन्त्रसमेत धरायसी अवस्थामा पुगेको छ । सरकारले अर्थतन्त्र सुधार्न ६४ वटा ऐनमा संशोधन गर्ने तयारी गरेको छ ।

तर, मुख्य ऐन चाँहि सरकारले संशोधन गर्नै चाहेन । त्यो हो–संस्था ऐन, २०३४ र संस्था ऐन २०१८ । किनकि यो ऐनअन्तर्गत दर्ता भएर यातायात व्यवसायीदेखि विभिन्न संघसंस्थाले सर्वसाधारणदेखि राज्यसम्मलाई लुटिरहेका छन् । त्यसैले, सरकारले अरु ६४ वटा ऐन संशोधन गरेपनि न त राजस्व उठ्नेछ न त अर्थतन्त्र चलायमान नै हुनेछ । किनकि कृत्रिम रुपमा मूल्य बढाइएको घरजग्गा, गाडी, सेयर, सुनचाँदी अब कसले किन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *