November 26, 2026, 12:35 pm
» मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह » नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार » विवाह बन्धनमा बाँधिए रोहित पौडेल » एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह

मंसिर १०, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

बैङ्कक-  थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

विस्फोटबाट तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएपछि बैङ्ककका बासिन्दालाई मोबाइल फोनमार्फत सतर्कता सूचना पठाइएको थियो ।

सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको थियो । बैङ्कक महानगर प्रशासनका अनुसार विस्फोटपछि लागेको आगो एक घण्टाभन्दा कम समयमा नियन्त्रणमा लिइएको थियो । विस्फोटको कारण भने खुल्न सकेको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा बैङ्ककको पूर्वी क्षेत्रमा रहेको प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ । उक्त प्रशोधन तथा भण्डारण केन्द्रको स्वामित्व रहेको बङ्गचाक कर्पोरेसनले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

दैनिक एक लाख २० हजार ब्यारेल तेल प्रशोधन क्षमता रहेको उक्त केन्द्र थाइल्यान्डको पाँचौँ ठूलो प्रशोधन केन्द्र हो । सहरी क्षेत्रमा अवस्थित यो देशको एक मात्र प्रमुख तेल प्रशोधन केन्द्र रहेको बताइएको छ ।

यसअघि सन् २०१२ को जुलाईमा पनि उक्त केन्द्रमा विस्फोट र आगलागी भएको थियो । त्यसबेला नजिकैको आवासीय क्षेत्रमा क्षति पुगेको थियो भने प्रशोधन केन्द्रको मर्मत गर्न दुई साता लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *