November 27, 2026, 10:57 am
» २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते » भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : महासचिव पोखरेल » पूर्वमुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो » स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ » घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

दुई तिहाइको दम्भ, नौ महिनाको उपलब्धि शून्य !

मंसिर ११, २०८३ मा प्रकाशित | २७०४ दर्शक तीव्रखबर

– रुषा थापा

नेपाल २०८१ फगुन ९ गते सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा परेको थियो । आगामी माघ मसान्तभित्र यो लिष्टबाट नहटे नेपाल ब्ल्याकलिष्टमा पर्नेछ । मुलुक ऋणको दलदलमा फसेको छ । पुरानै सरकारले झण्डै ३० खर्ब ऋण लिएकोमा बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएपश्चात् पाँच खर्ब थपिसकिएको छ । जताततै सरकारी बक्यौता छ ।

निर्माण व्यवसायीको ५६ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, कोरोना बीमाको २४ अर्ब र दुग्ध तथा उखु किसानको सात अर्ब बक्यौता भुक्तानी वर्षौदेखि बाँकी छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार मुलुकको कुल जनसंख्या कुल करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । एउटै नागरिकको टाउकोमा एक लाख पाँच हजार बढी ऋणको भारी छ ।

यो ऋण उनीहरुले लिएका होइनौं, राज्यले लिएको हो । ०४६ सालअघि मुलुक कुनै पनि ऋणको दलदलमा फसेको थिएन । त्यतिखेर नेपाल खाद्यान्नमा पूर्ण रुपमा आत्मनिर्भर थियो । विभिन्न देशमा खाद्यान्न निर्यात गर्नुका साथै कतिपय देशलाई अनुदानमा समेत खाद्यान्न दिइन्थ्यो । पाँच दशककै बीचमा हामी खाद्यान्नमा पूर्ण रुपमा परनिर्भर हुन पुगेका छौं ।

अहिले विदेशीले खाद्यान्न नदिए हामी चाँहि भोकभोकै मर्नुपर्ने अवस्था छ । किनकि अन्न उत्पन्न हुने जमिनमा कतै घर र बाटो बनेको छ त कतै बाँझो छोडिएको छ । युवाहरु धमाधम विदेश पलायन भइरहेका छन् । नेपालमा नेपाली कम, विदेशी बढी हुन थालेका छन् । आजकल हरेक घरपरिवारबाट कोही न कोही वैदेशिक रोजगारमा गएकै हुन्छन् ।

हुन त वैदेशिक रोजगारीमा गएकाहरुले पठाएकै रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र चलिरहेको अवस्था छ । महँगी बढेको बढ्यै छ । सामान्य कमाई हुने त बाँच्न नसक्ने अवस्थामा पुगेका छन् । किनकि महिनाभरि दुःख गरेर कमाएको पैसा घरभाडा तिर्दा र एक बोरा चामल किन्दै सकिन्छ । सरकारी कर्मचारीलाई भने जुनै सरकार आएपनि मोजैमोज छ ।

वि.सं. २०३२–३३ सालमा मासिक ३० देखि ३५ रुपैयाँ तलबमा सरकारी जागिर खाएकाहरु अहिले पेन्सनमात्र मासिक ४० हजारदेखि ६० हजारसम्म थाप्छन् । बहालवाला कर्मचारी पनि पदअनुसार मासिक ५० हजारदेखि एक लाखभन्दा बढी रकम तलबस्वरुप बुझ्छन् । निजामती, सुरक्षाकर्मी, शिक्षक लाखौंको संख्यामा छ ।

त्यस्तै, करार, ज्यालादारी वा अस्थायी कर्मचारी पनि लाखौंकै हाराहारीमा छन् । उनीहरुलाई पेन्सनबाहेक सरकारीसरह तलब र सेवासुविधा दिनुपर्छ । वार्षिक दुई जोर पोशाक, कार्यालय आउजाउ गर्न गाडी, परिवारसहितको निःशुल्क औषधिउपचार, निःशुल्क जीवनलगायत विभिन्न बीमाजस्ता सेवासुविधासमेत पाउँछन् । तर, यत्रो तलब, सेवासुविधा हुँदासमेत कर्मचारीहरु घुस खान भने छोडेनन् । सर्वसाधारणको काम घुस नपाइकन गर्दैनन् ।

कर्मचारीहरुले जनता र राज्य दुवैलाई लुटिरहेका छन् । सरकारी काम गर्न जनतासँग घुस माग्छन्–बुझ्छन् त घरधनीसँग पनि कमिशन बुझेर सरकारी कार्यालयहरु चर्को भाडा तिर्नुपर्ने घरमा सञ्चालन गराइरहेका छन् । यसका उदाहरण हुन्–भक्तपुरको सल्लाघारी र राधेराधेस्थित यातायात कार्यालयहरु । बागमती प्रदेशअन्तर्गत रहेका यी यातायात कार्यालयहरु दश मिनेटको दुरीमा छन् ।

दुवै कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन्, मासिक डेढ लाख रुपैयाँ भाडा तिरिरहेको अवस्था छ । जबकी सेवासुविधा चाँहि केही पनि छैन । सवारीसाधन पार्किङ्ग गर्ने ठाउँसमेत छैन । सल्लाघारीको यातायात कार्यालय स्थापना भएयता अर्थात् दुई दशकदेखि एउटै घरमा सञ्चालित छ । जबकी कानूनमा सरकारी कार्यालय एउटै घरमा दुई वर्षभन्दा बढी भाडामा बस्न नमिल्ने व्यवस्था छ ।

अर्को रोचक कुरा, यही एरियामा यस्ता घर मासिक २०–३० हजारमा समेत भाडामा नगइरहेको अवस्था छ । यसरी कर्मचारीहरु घरधनीसँग मिलेर कार्यालय सार्न दिँदा राज्य लुटिरहेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत कर्मचारीको तलबमा २१ प्रतिशतले वृद्धि गर्यो । महँगी भत्ता मासिक पाँच हजार रुपैयाँ पनि यथावत राखियो ।

कर्मचारीको तलब बढेसँगै जनप्रतिनिधिहरुको पनि बढ्यो । बजेटमार्फत प्रधानमन्त्री बालेनका लागि बालुवाटारमा खाटलगायत फर्निचर खरिदका निम्ति एक करोड ४० लाख रुपैयाँ छुट्याइयो । रास्वपाका एक सय ८२ जना सांसदमध्ये एक सय १३ जनाको काठमाडौं उपत्यकामै घर छ । आफ्नो घर भएपनि उनीहरुले राज्यबाट घरभाडा वा मर्मत खर्च बुझिरहेका छन् । अरु दलका सांसदसहितले राज्यबाट उपलब्ध कुनै पनि सेवासुविधा छोडेको पाइँदैन ।

एउटै सांसदमा राज्यको मासिक तीन लाख रुपैयाँ खर्च हुँदै आएको छ । गत असोज १६ गतेदेखि सदन स्थगित छ । कामै नगरिकन सांसदहरुले तलब र सेवासुविधा बुझिरहेका छन् । बालेन सरकार गठन भएको आठ महिना पूरा भएको छ । यसबीचमा सरकारले सिन्को भाँचेको पाइन्न । प्रधानमन्त्री बालेन हालै भारत भ्रमणमा गए । काठमाडौं महानगरपालिकाको मेयर हुँदा ग्रेटर नेपालको नक्सा टाँगेका उनले भारत भ्रमणमा सीमा विवाद र मिचिएको नेपाली भूमिबारे एक शब्दसमेत बोलेनन् । बालेन सरकारले काम गर्नै नचाहेको देखिन्छ । किनकि यो सरकार क्याबिनेट बैठकसमेत बस्दैन । कुनै पनि महत्त्वपूर्ण कामका निम्ति क्याबिनेटबाट निर्णय अत्यावश्यक हुन्छ । तर, यो सरकार त क्याबिनेट बैठक नै बोलाउँदैन, बल्लतल्ल दुई–तीन सातामा बोलाइन्छ, त्यो पनि बढुवा, सरुवा र ऋण स्वीकृत गरेरै सिक्किन्छ ।

रास्वपा सभापति रवि लामिछानेले चुनावका बेला भोट माग्दै भनेका थिए–हाम्रो बहुमतको सरकार गठन भएको सय दिनमै देशमा उथुलपुथल हुनेछ । भ्रष्टाचारीलाई जेल कोच्छौं, अतिक्रमित सार्वजनिक जग्गा र सम्पदा फिर्ता ल्याउँछौं । सहकारीका बचर्तकर्ताको पैसा फिर्ता गछौं । देशमै रोजगारी सिर्जना गछौं र विदेशमा रहेका नेपालीलाई समेत फिर्ता ल्याउँछौं ।

जनताले रास्वपालाई चुनावमा झण्डै दुई तिहाई सिट जिताए । बालेन सरकार गठन भएको पनि नौ महिना लागेको छ । तर, यसबीचमा के कति काम चाँहि भयो त ? कति भ्रष्टाचारीलाई जेल कोचियो ? सहकारीका कति बचतकर्ताको रकम फिर्ता गरियो ? कति सार्वजनिक जग्गा र सम्पदा पुनः राज्यको स्वामित्वमा ल्याइयो ? देशभित्रै कति युवालाई रोजगारी दिइयो ? रवि र बालेनले अब कि त यी प्रश्नको जवाफ दिनुपर्छ होइन भने जनतासँग माफी मागेर मार्ग प्रशस्त गर्नुपर्छ ।

कांग्रेस, एमाले, माओवादी, मधेशी दललगायतले ३५ वर्षमा केही गरेन भनेर हिजो रास्वपाले जनतालाई उचाल्यो । अहिले आफू सरकारमा रहेको आठ महिनामा चाँहि के के गर्यो त ? यदि रवि र बालेनसँग नैतिकता छ भने जनतासँग माफी मागेर पद छोड्नुपर्छ । किनकि उनीहरुले जनताको विश्वास र मतको अपमान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *