November 28, 2026, 4:50 pm
» दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने » नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु » भीरबाट खसेर १५ वर्षीय अङ्कित बेपत्ता » इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला » गृहमन्त्री सुधन गुरुङले मंसिर १७ मा गोरखामा परम्परागत विवाह गर्ने

जनता डुबेपछि दलालीको भागाभाग ! हिजो सुनको रवाफ, आज ऋणको तनाव !

मंसिर १२, २०८३ मा प्रकाशित | ३६०४ दर्शक तीव्रखबर

– रुषा थापा

सात वर्षअघि काठमाडौं उपत्यका वा शहरी इलाकाहरुमा कोट–पेन्टमा सजिएका, हातमा दुईटा मोबाइल, औंलाहरुमा सुनमा औंठी, घाँटीमा पनि सुनकै सिक्री लगाएका महिला वा पुरुषहरु पाइलैपिच्छे भेटिन्थे । विशेषगरी यस्ता मानिसहरु चिया पसल, होटल, रेष्टुरेन्ट र सार्वजनिक स्थलहरुमा हुन्थे । उनीहरु हुन्थे–घरजग्गा, गाडी, सेयर, सुन दलाली र बैंक, वित्तिय संस्थाका पदाधिकारी तथा कर्मचारीहरु ।

तर, केही वर्षयता यस्ता व्यक्तिहरु देखिन छोडेका छन् । बजारमा एकदमै कमले मात्र कोट–पेन्ट र सुनका गरगहनाहरु लगाएको भेटिन्छ, त्यो पनि कोट–पेन्ट सरकारी कर्मचारीले लगाएका हुन्छन् त सुनका गरगहना विवाह, भोजभतेरमा जानेहरुले । बरु, आजकल शरीरभरि ट्याटु खोपेका मानिसहरु भने छ्यापछ्याप्ती भेटिन्छन् । सात वर्षअघि घरजग्गा, गाडी, सेयर कारोबार एकदमै फस्टाएको थियो ।

दैनिक अर्बौको कारोबार हुन्थ्यो । घरजग्गाको मूल्य त दिनमा दुई र रातमा चार गुणाले बढ्थ्यो । त्यतिबेला दलालीहरु भन्थे–अब जग्गा पाइँदैन । जग्गा नै छैन । सबै सकिसक्यो । सेयर र गाडी दलालीहरु पनि यस्तै भन्थे । दलालीहरुको लहैलहैमा लागेर लाखौं मानिसले घरजग्गा, गाडी, सेयरमा लगानी पनि गरे, त्यो पनि बैंक, वित्तिय संस्थाबाट कर्जा लिएर । अर्को मुख्य कुरा, सात वर्षअघि बैंक, वित्तिय संस्थाहरुको पनि साम्राज्य नै चलेको थियो ।

बैंक, वित्तिय संस्थामा बचत राख्न वा कर्जा पाउनसमेत पावर लगाउनुपर्ने अवस्था थियो । त्यस्ता संस्थाका अध्यक्ष, सञ्चालक, कर्मचारीलाई भनेझैं घुस वा कमिशन दिएपश्चात् मात्र कर्जा पाउन सकिन्थ्यो । बैंक, वित्तिय संस्थाले पनि ठूल्ठूला व्यक्ति, व्यापारी वा व्यवसायी तथा दलालीहरुलाई मात्र ऋण प्रवाह गर्थे, त्यो पनि कमसल धितो राखेर । त्यतिखेर बैंक, वित्तिय संस्थाले मासिक अर्बौ आम्दानी गर्थे ।

त्यसैले, त्यस्ता संस्थाका पदाधिकारी र कर्मचारीहरुको भुइँमा खुट्टा हुँदैन्थ्यो । कार्यालय आउजाउ गर्नसमेत नयाँनयाँ कोट–पेन्ट लगाउँथे । चिल्लो गाडीमा चढ्थे । हात र घाँटी सुनका गरगहनाले छोपिएको हुन्थ्यो । अझ सहकारीका बजार प्रतिनिधिहरु त पैसा उठाउनसमेत स्कुटर–मोटरसाइकलमा चढ्थे । त्यो पनि चिटिक्क परेर । तर, अहिले यी सबैको भागभाग भएको छ ।

सहकारी त पाँच वर्षअघि नै भाग्यो । अधिकांश सहकारीका सञ्चालक, अध्यक्ष, कर्मचारीहरु अहिलेपनि फरार छन् । उनीहरु देशभित्रै छन् कि विदेश भागिसके ? कसैलाई थाहा छैन । घरजग्गा, गाडी, सेयरको मूल्य लगातार घटिरहेको छ । सात वर्षअघि करोडौं पर्ने घरजग्गा अहिले लाखमा झरिसकेको छ, तैपनि किनबेच ठप्प छ । मानिसहरुले गाडी पनि किन्न छोडेका छन् । किनकि सवारीसाधन फलाम, प्लाष्टिक, रबर, सिसा, फर्मबाट बन्छ । यस्ता सामान कवाडीले दुई रुपैयाँ किलोमा समेत लग्दैन । अर्कोतर्फ पेट्रोलबिना गाडी चल्दैन, अनि आगोको सानो छिट्टाले समेत गाडी खोक्रो बनाइदिन्छ । जुन जेनजी आन्दोलनमा हामी सबैले देख्यौं पनि ।

यता, एक सय रुपैयाँ प्रतिकित्ताको सेयर दलालीहरुले मूल्य बढाएर ३२ सयदेखि पाँच हजारसम्ममा बेचेका थिए । अहिले यही सेयर २५ सयमा झरिसकेको छ । सबै वस्तुको मूल्य कृत्रिम रुपमा बढाइएको थियो । मानिसहरुले दलालीहरुको लहैलहैमा लागेर यस्ता वस्तुमा लगानी गरेका थिए, डुबेपछि उनीहरुको आँखा खुलेको छ । घरजग्गा, गाडी, सेयर, सुनमा लगानी गर्नुहुँदैन, डुबिन्छ भन्ने कुरा सर्वसाधाणले बुझिसकेका छन् ।

अनि जनता सचेत भएपछि दलालीहरुको भागाभाग भएको हो । जनताले घरजग्गा, गाडी, सेयरमा लगानी नगरेपछि दलालीहरुले बैंक, वित्तिय संस्थाको ऋण त तिर्न सकेनन्, सँगै परिवारसमेत पाल्न हम्मेहम्मे पर्यो । अर्कोतर्फ, प्रहरीको खोजीमा परे, त्यसैले उनीहरु सम्पर्कविहीन बनेका छन् । दलालीहरुलाई खर्बौ कर्जा प्रवाह गरेका बैंकहरु पनि चाँडै यस्तै अवस्थामा पुग्दैछन् । किनकि घरजग्ग, गाडी, सेयर, सुन कारोबार त ठप्प छ ।

त्यसैले, हिजो आँखा चिम्लेर कमसल धितो राखी दलालीहरुलाई खर्बौका खर्बौ कर्जा प्रवाह बैंकका पदाधिकारी र कर्मचारी पनि छिट्टै भाग्नेछन् । सँगै इन्स्योरेन्स र म्यानपावर तथा कन्सल्टेन्सी व्यवसायीहरुको पनि यस्तो दिन चाँडै आउँदैछ । बढ्दो विपद्का घटनाले मानवीयसँगै भौतिक पूर्वाधारमा खर्बौको क्षति पुर्याइरहेको छ । आजकल हरेक वस्तुको बीमा गराइएको हुन्छ । अनि बाढीपहिरोले घरजग्गा, गाडी सबै बगाएपछि मानिसहरु बीमा रकम दाबी गरिरहेका छन् ।

तर, इन्स्योरेन्स कम्पनीहरुसँग भुक्तानी गर्न पैसा नै छैन । किनकि एकैचोटि करोडौं, अर्बौको क्षति भएको हुन्छ । अनि बीमा रकम भुक्तानी गर्न नसकेपछि इन्स्योरेन्सहरुको भागाभाग चल्ने भयो नै । म्यानपावर र कन्सल्टेन्सीहरुले रोजगारी वा शिक्षाका निम्ति विदेश पठाइदिने आश्वासनमा कतिपयलाई ठगेका छन् त कतिपयलाई विदेशमै अलपत्र पारिदिएका छन् । जनताले यिनीहरुको असली रुप देखिसकेका छन् ।

यसैले, आजकल मानिसहरुले विदेश जान जस्तो पायो त्यस्तो म्यानपावर, कन्सल्टेन्सीमा जाँदैनन् । बरु, ठग म्यानपावर, कन्सल्टेन्सीहरुको पर्दाफास गरिरहेका छन् । दलालीहरुले ङतबसम्म ठग्न वा लुट्न सक्छन्, जबसम्म जनता चेतनशील हुँदैनन् । तर, दलालीहरुकै कारण सर्वसाधारणमा चेतना आयो । दलालीहरुको ठगीको सिकारमा परेपछि उनीहरुले लहैलहैमा लागेर लगानी गर्नै छोडिदिए । अनि मानिसहरुले लगानी नै नगरेपछि दलालीहरुको भागाभाग हुने भएन त । यहाँ जो बढी समाजसेवाको कुरा गर्छ, उही ठग हुन्छ ।

भाटभटेनी सुपरमार्केटले साढे चार अर्ब राजस्व छलेको सर्वोच्च अदालतले नै ठहर गरेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पनि भाटभटेनी सञ्चालक मीनबहादुरु गुरुङलाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । भाटभटेनीमा गुणस्तरहीन, कुहिएका सामानहरु बेच्ने गरिएको बजार अनुगमनका क्रममा पटकपटक भेटिएको छ । त्यहाँ श्रम शोषणसमेत भइरहेको छ ।

मानिसक आठदेखि १५ हजार रुपैयाँ तलबमा बिहान ६ बजेदेखि राति ८ बजेसम्म काम लगाइन्छ । अनि यस्तै व्यक्ति समाजसेवाको कुरा गर्दै हिँड्छन् । बुढापाकाहरुले भन्थे–पाप धुरीबाट अवश्य नै कराउँछ । ढिलोचाँडो आफूले गरेको पापको प्रतिफल भोग्नैपर्छ । दलालीहरुको हकमा पनि यही भएको हो ।

उनीहरुले जनता र राज्य दुवैलाई लुट्नु लुटे । तर, अतिले खति निम्त्याउँछ भनेपछि उनीहरुले अझै पनि जनता र राज्यलाई ठग्न खोजेपछि आज आफैं भाग्नुपरेको छ । यसरी दलालीहरुको भागाभाग चलेपछि जनताको जीउधनको पनि सुरक्षा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *