तीव्रखबर
गत फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन भयो । २७५ सिटका निम्ति निर्वाचन भएकोमा १८२ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भए । रास्वपाबाट बालेन्द्र साह प्रधानमन्त्री भए । चैत १३ गते उनले शपथ ग्रहण गरे । सरकार गठनको २४ घण्टा नबित्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक समातिए ।
उनीहरु पक्राउ परेपछि गलत काम गर्नेहरुको सातो गएको थियो । राजनीतिक दलदेखि व्यापारी, सरकारी कर्मचारी, सार्वजनिक सम्पत्ति कब्जा गर्नेहरु डराएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी, मजदुर किसान पार्टी, मधेशी दलमा आबद्ध नेताहरुको भागाभाग शुरु भइसकेको थियो ।
त्यसैबीच गृहमन्त्री सुधन गुरुङ्गमाथि बिचौलियासँग साँठगाँठ भएको आरोप लाग्यो । उनले पद छोडेपछि प्रधानमन्त्री स्वयंले सो पद सम्हाले । प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन थालियो । राजधानीको गैरीगाउँ तीनकुने, मनोहरा खोला वरपर डोजर चलाइयो ।
सुकुम्बासी भनेर अन्यत्र जग्गा कब्जा गरेर बस्नेहरु डराइसकेका थिए । सरकारले सार्वजनिक, ऐलानी, हदबन्दीभन्दा बढी लगायतका जग्गा खाली गर्छ भन्ने अपेक्षा धेरैमा जागेको थियो । भक्तपुरको सल्लाघारी चौर वरपरका धेरै सार्वजनिक जग्गा कब्जा भएको छ । त्यहाँका घरधनीहरु सरकारले अब यहाँ पनि भत्काउँछ भन्न थालिसकेका थिए ।
तर, त्यसो भएन । २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले २०६२–६३ यता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोग गठन हुनेबित्तिकै भ्रष्टाचार गरेर सम्पत्ति जोडेका, सरकारी सम्पत्ति दोहन गरेका, राज्यलाई लुटेकाहरु त्रसित बनेका थिए ।
यता, कर्मचारीको हकमा ३०–५५ लागू गर्ने भनिएको थियो । अर्थतन्त्र चलायमान बनाउन पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाउनेसम्म जनाइएको थियो । सरकारले बन्द भएको उद्योग सञ्चालनमा ल्याउने पनि भनेको थियो । सहकारी पीडितलाई एक सय दिनभित्र बचत फिर्ता दिने र सहकारी ठगहरुलाई कारबाहीको दायरामा ल्याउने घोषणा गरिएको थियो ।
सर्वसाधारण ठग्ने म्यानपावर व्यवसायी, समयमै काम नसकेर सर्वसाधारणलाई दुःख दिने र राज्य लुट्ने निर्माण व्यवसायी, सिण्डिकेटधारी र कालोबजारी गर्नेलाई कारबाही गर्ने आश्वासन दिइएको थियो । यी कुरापछि जनताले देशमा साँच्चै नै अबचाँहि सुशासन आउँछ कि भनि आशा गरेका थिए ।
प्रधानमन्त्री अगाडि बढेका थिए तर साथ नपाउँदा रोकिए । सुकुम्बासी हटाउन जाँदा पार्टी सभापति रवि लामिछाने र गृहमन्त्री गुरुङ्ग अवरोध बने । सभापति लामिछाने सुकुम्बासी हटाउनुहुन्न भन्ने पक्षमा थिए । गृहमन्त्रीले त हटाइएका सुकुम्बासीलाई गएर भेटे । दुःख व्यक्त गरे ।
प्रधानमन्त्री साहले हरेक साताको शनिबार र आइतबार सरकारी सम्पत्तिमा भएको अतिक्रमण हटाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए । तर, गृहमन्त्रीले त्यो पालना नै गरेनन् । सरकारी सम्पत्ति कब्जा गरेर बस्नेकहाँ पुगेर गृहमन्त्रीले दुःख व्यक्त गर्न सुहाउँछ ?
सरकारको काम सरकारी सम्पत्तिको संरक्षण गर्नु होइन ? अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्माण व्यवसायी र उद्योगीलाई समात्न दिएनन् । उनले भेटेरै पक्राउ नगर्ने वाचा गरे । देश र राज्य लुट्ने निर्माण व्यवसायी र उद्योगीलाई कारबाही नगरेर फूलमाला लगाउने ? न उनले पाँच सय र हजारको नोटमा प्रतिबन्ध नै लगाए ।
कानुनमन्त्री सोभिता गौतमले निजामती सेवामा ३०–५५ को फाइल नै रोकेर राखिदिइन् । पाँच दशकदेखि यातायात क्षेत्रमा सिण्डिकेट छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले त्यति खोल्न पनि सकेनन् । त्यसैले विपक्षी दल र सञ्चार क्षेत्रमाथि दोष लगाउनु बेकार छ । न बालेन सरकारलाई विपक्षी दलले काम गर्न रोकेको छ न सञ्चार क्षेत्रले ।
उनकै क्याबिनेटका मन्त्री र पार्टी अवरोध बनेका छन् । उनलाई फेल गराउन लागिपरेका छन् । सरकारले तीन वरियता मिच्दै डा मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनायो । तर, अहिलेसम्म सम्पत्ति छानबिनको हकमा कुनै फैसला हुन सकेको छैन । १८ हजारले सम्पत्ति विवरण बुझाइसकेकोमा अदालतले रोकिदियो ।
जसको हकमा कुनै फैसला नै हुन सकिरहेको छैन । २०७९ जेठ ९ गतेको क्याबिनेट बैठकले जग्गा वर्गीकरणको निर्णय गर्यो । जेठ २७ गते मंसिरभित्र वर्गीकरण गरिसक्नु भनि सबै स्थानीय तहलाई परिपत्र गरियो । भूमाफियाहरुले जनप्रतिनिधिहरुलाई पैसा खुवाएर जग्गा वर्गीकरणमा रोक लगाए ।
पटकपटक म्याद थपिसकियो । २०८३ असार मसान्तसम्म पछिल्लोपटक म्याद थप भएकोमा सकियो । वर्गीकरण नगर्ने पालिकालाई कारबाही गर्नुपर्नेमा सरकारको भूमिसुधारमन्त्री प्रतिभा रावल जग्गाको कित्ताकाट खोल्न म्याद थप गर्न लागिपरेकी छिन् । उनले टिप्पणी उठाएर अर्थ मन्त्रालय र कानुन मन्त्रालय पठाइसकेकी छिन् ।
अब त्यो मन्त्रिपरिषद् जाँदैछ । कारबाही गर्नुको साटो कित्ताकाट खोल्न लागियो । उनले कारबाही गरिदिएको भए, सरकारको कति चर्चा हुन्थ्यो ? स्वास्थ्यमन्त्री निशा मेहताको केही उपलब्धि छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग कुनै सरोकार छैन ।
सडक छेउछाउ मागेर खाने बालबालिका र ज्येष्ठ नागरिक यत्तिकै छन् । सल्लाघारी चौरभित्र बालबालिकाहरु चिसो भुइँमा सुतेका हुन्छन् । आमाछोरा पनि कठयाङ्ग्रिदो जाडोमा सुतिरहेको देखिन्छ । त्यहाँ कन्सर्ट भइरहन्छ । यद्यपि, कसैको आँखा जाँदैन । यता, मन्त्रीलाई भने स्टण्ट देखाएरै भ्याइनभ्याइ छ ।
उनी कहिले कता पुगिरहेकी हुन्छिन्, कहिले कता । घुमफिर गर्नमै उनी व्यस्त छिन् । मन्त्रीहरु झण्डावाल गाडी चढेर हिँड्छन्, जनतासँग उनीहरुलाई सरोकार नै छैन । आफ्नो जिम्मेवारी के हो ? तिनले बिर्सिसकेका छन् । उनीहरुलाई पनि पदको मात लागिसकेको छ । मन्त्रीहरुलाई के छ, काम नगरेपनि सबै भार खेप्ने प्रधानमन्त्री छँदैछन् ।
असफल भए प्रधानमन्त्री हुने हुन् । आफूहरु मन्त्री बन्न पाइहाले । उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगहरुले नतिरेको भुक्तानी ६० करोडभन्दा बढी रकम उठाइन् । आयल निगमका कर्मचारीले एक वर्षमा दुई वर्षको सुविधा लिन्थे । उनलाई रुँदै हटाइयो । अहिले आएका नयाँ मन्त्री दीपक साहले सिन्को भाचेनन् ।
उनले हेटौंडाको कपडा उद्योग सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइसकेकी थिइन् । तर, सत्य बोल्दा उनी राजीनामा दिन बाध्य भइन् । राम्रो काम गर्नेलाई हटाउने अनि विवादमा तानिएकालाई च्याप्ने । यसरी कसरी देशमा सुशासन आउँला ? तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई हटाएर डा मनोजकुमार केसीलाई ल्याइयो । उनले कति जनालाई समाते ?
कति काम गरे ? काम गर्नेले एकैदिन गर्छ, नगर्नेलाई वर्षौं दिएपनि पुग्दैन । अहिले क्याबिनेटमा होस् या सरकारले नियुक्ति गरेका व्यक्ति, उनीहरु काम गर्नै आएका होइनन् । जुन स्पष्ट देखिइसकेको छ । त्यसमा प्रधानमन्त्री साहले ख्याल गर्न आवश्यक छ । कर्मचारी पनि काम नगर्ने, मन्त्री पनि अनि देश कसरी बन्ने ?
प्रधानमन्त्रीले तत्काल एक्सन लिन आवश्यक भइसकेको छ । काम नगर्ने कर्मचारीलाई कारबाही गरौं, मन्त्री हटाऔं । नत्र दुई तिहाईको सरकारको पनि केही औचित्य हुँदैन ।
प्रतिक्रिया