November 28, 2026, 4:51 pm
» दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने » नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु » भीरबाट खसेर १५ वर्षीय अङ्कित बेपत्ता » इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला » गृहमन्त्री सुधन गुरुङले मंसिर १७ मा गोरखामा परम्परागत विवाह गर्ने

गृहमन्त्री सुधन गुरुङले मंसिर १७ मा गोरखामा परम्परागत विवाह गर्ने

मंसिर १२, २०८३ मा प्रकाशित | १६०४ दर्शक तीव्रखबर

इटहरी। गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन्।

आफ्नो समुदायका माझ पहिलोपटक विवाहको मिति सार्वजनिक गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले विवाहमा मौलिक कला, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे। ‘पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि परम्परागत शैलीमा विवाह गर्ने म र हुनेवाला श्रीमती दुवैको इच्छा हो,’ उनले भने, ‘आफ्नो समुदाय, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउन मलाई मन छैन। भावी पुस्तालाई इतिहास र पहिचान हस्तान्तरण गर्न गोरखा रोजेको हुँ।’

ऋण लिएर भए पनि तामझाम र भव्य भोजभतेर गर्ने सामाजिक प्रवृत्तिको आलोचना गर्दै उनले विवाह प्रतिष्ठा वा प्रतिस्पर्धाको विषय नभई श्रीमान्–श्रीमती र परिवारको आपसी सुख–दुःखको यात्रा भएको बताए। सीमित व्यक्तिहरूको मात्र उपस्थिति रहने उक्त विवाह समारोहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत सहभागी हुने अपेक्षा गरिएको उनले जानकारी दिए।

गोरखालाई भविष्यमा ‘वेडिङ डेस्टिनेसन’ र हिमाली पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत आफूले राखेको गृहमन्त्री गुरुङको भनाइ छ। आफ्नो विवाहले स्थानीय होमस्टे, कला–संस्कृति र ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा उनले आफ्नो सामाजिक तथा राजनीतिक यात्रामा देश–विदेशमा रहेका गुरुङ समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै आभार व्यक्त गरे। विगतमा सात महिनासम्म चलेको आन्दोलनमा पूर्वी नेपालले दिएको निरन्तर साथ कहिल्यै नबिर्सने उल्लेख गर्दै उनले ‘पार्टीको झन्डाभन्दा देश माथि हुन्छ’ भन्ने समाजको शिक्षालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। नागरिकको सुरक्षा र देशमा सुशासन कायम गर्न सरकार जुनसुकै कदम चाल्न तयार रहेको समेत उनले स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *