तीव्रखबर
काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौंमा वायु प्रदूषणको मात्रा फेरि घातक रूपले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन संस्था (IQAir) ले हालै सार्वजनिक गरेको वास्तविक समयको (रियल-टाइम) तथ्यांक अनुसार काठमाडौं विश्वका सबैभन्दा बढी प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थानमा पुगेको छ।
अनुगमन निकायको तथ्यांक अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (US AQI) १८३ पुगेको छ। १५१ देखि २०० सम्मको एक्यूआई (AQI) लाई स्वास्थ्यका लागि ‘अस्वस्थकर’ मानिने गरिन्छ। यस सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन्।
भौगोलिक बनावट (उपत्यकाको खाल्डो), बढ्दो सहरीकरण, पुराना तथा धुवाँ फ्याँक्ने सवारी साधनहरूको अत्यधिक चाप, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो र चिसो मौसमसँगै वायुमण्डलमा धुलोका कणहरू थुप्रिने समस्याका कारण काठमाडौंको वायुमण्डल दूषित बन्दै गएको छ।
बढ्दो वायु प्रदूषणका कारण बालबालिका, वृद्धवृद्धा, तथा श्वासप्रश्वाससम्बन्धी दम, रुघाखोकी र मुटुका बिरामीहरूलाई गम्भीर स्वास्थ्य जोखिम पुग्न सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्। विशेषज्ञहरूले सकेसम्म घर बाहिर खुला स्थानमा धेरै नबस्न, घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न तथा घरका झ्यालढोकाहरू बन्द राख्न सुझाव दिएका छन्।
सहरमा वायु प्रदूषण दिनप्रतिदिन विकराल बन्दै गए पनि सरकारी तहबाट प्रभावकारी नियन्त्रणका दीर्घकालीन उपायहरू लागू हुन नसक्दा नगरवासीहरू दूषित हावामा सास फेर्न बाध्य छन्।
प्रतिक्रिया