November 19, 2026, 5:43 am
» सुनचाँदीको मूल्य आजपनि घट्यो » राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते » भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते » काठमाडौंका यी क्षेत्रमा १२ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने » दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ

दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ

मंसिर ३, २०८३ मा प्रकाशित | १३०४ दर्शक तीव्रखबर

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन उनी कात्तिक २७ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमण टोलीमा गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्ले र स्वकीय सचिव जेम्स कार्की सहभागी थिए ।

विश्वभरका प्रहरी प्रमुख र सुरक्षा विज्ञहरू भेला भएर सुरक्षा चुनौती र प्रविधिबारे छलफल गर्ने मञ्च ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा यसपटक नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) भने सहभागी भएनन् । प्रहरीको तर्फबाट एसएसपी ऋषिराम कँडेलको नेतृत्वमा डीएसपी गोविन्द राउत र इन्स्पेक्टर देवराज काफ्ले कात्तिक २९ गते यूएई पुगेका थिए ।

नोभेम्बर १६ देखि १८ (कात्तिक ३० देखि मङ्सिर २) सम्म चलेको सम्मेलनअघि कात्तिक २८ गते मन्त्री गुरुङले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमण गरी अधिकारीहरूसँग छलफल गरेका थिए । सोही दिन उनले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका थिए ।

गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा सुरक्षा प्रविधि र ‘फेसलेस पुलिसिङ’ का साथै बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानीबारे छलफल भएको थियो । यद्यपि, ऊर्जा मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने बूढीगण्डकी आयोजनामा लगानीको विषय उठाउनुले भ्रमणको प्राथमिकतामाथि प्रश्न उठेको प्रहरी अधिकारीहरू बताउँछन् ।

भ्रमणका क्रममा मन्त्री गुरुङ दुबईको प्रसिद्ध सुन बजार ‘गोल्ड सुक’ मा सुन छनोट गर्दै गरेको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सम्मेलनबाहेक उनले दुबईका पर्यटकीय स्थलको भ्रमण गर्नुका साथै त्यहाँ रहेका नेपाली युवाहरूसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *