तीव्रखबर
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत विभिन्न पदाधिकारी पदहरूको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तीव्र गतिमा अघि बढिरहेको छ।
कुल ७ हजार ४३ मत खसेकोमा हालसम्म २ हजार २ सय ३१ मत गणना भइसकेको छ। पछिल्लो मतपरिणाम अनुसार खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्री पदमा प्रदीप पौडेलले आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै फराकिलो अग्रता कायम राखेका छन्।
खुला उपसभापति पदका दुई स्थानका लागि भइरहेको प्रतिस्पर्धामा १ हजार ५७ मत प्राप्त गर्दै डा. चन्द्रकान्त भण्डारी शीर्ष स्थानमा रहेका छन्। उनलाई ७ १२ मतका साथ इन्जिनियर मधु आचार्यले पछ्याइरहेका छन्।
यस्तै अन्य उम्मेदवारहरूमा सुरेन्द्रराज पाण्डेले ६८० मत, गोविन्द भट्टराईले ६०९ मत, धनराज गुरुङले ४०६ मत, दीपक गिरीले ३०१ मत र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिको १ पदका लागि भने तीव्र र रोचक प्रतिस्पर्धा देखिएको छ। हालसम्मको गणनामा ६ १५ मतसहित विनोद कुमार चौधरी झिनो अन्तरले अगाडि रहेका छन् भने उनलाई ५७८ मतका साथ जीवन परियारले कडा टक्कर दिइरहेका छन्। यसैगरी सीता गुरुङले ३३४ मत, फरमुल्लाह मन्सुरले २८५ मत र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।
दुई खुला पदका लागि भइरहेको महामन्त्रीको मतगणनामा प्रदीप पौडेल १ हजार ३ सय ८१ मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई ७८६ मतसहित उदय शम्शेर राणाले पछ्याइरहेका छन्।
यस्तै अमरसिंह पुनले ६९५ मत, डा. सुनिल कुमार शर्माले ५२६ मत, गुरुराज घिमिरेले ३२८ मत, नैनसिंह महरले २७० मत, शंकर तिवारीले ४६ मत र डा. सन्तोष उपाध्यायले २८ मत पाएका छन्।
त्यस्तै महामन्त्री महिलातर्फको १ पदका लागि डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना) बीच निकै प्रतिस्पर्धात्मक भिडन्त भइरहेको छ।
डा. डिला संग्रौलाले ९६५ मत ल्याएर अग्रता बनाइरहँदा महालक्ष्मी उपाध्याय (डिना) ९५२ मतका साथ उनकै पछाडि छिन्। अर्की प्रतिस्पर्धी रिता खनालले २५१ मत प्राप्त गरेकी छन्। सानेपामा कडा सुरक्षाका बीच मतगणना कार्य निरन्तर जारी रहेको छ।
प्रतिक्रिया