October 11, 2026, 8:47 am
» बाढीपीडितलाई ६३ लाख सहयोग » विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक » बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको एक्रो पुल जडान » कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा प्रदीप पौडेल निकै अगाडि » हनुमानढोकास्थित दशैं घरमा जमरा राखियो, घटस्थापनासँगै विजयादशमीको रौनक सुरु

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

अशोज २५, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन्।

समाचार संस्था एसोसिएटेड प्रेस ९एपी० का अनुसार, विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको परिसरमा क्षेप्यास्त्र प्रहार भएको थियो। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतकमध्ये बंगलादेशका दुई जना तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना छन्।

साउदी नेतृत्वको गठबन्धनले आक्रमणका लागि छिमेकी यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीलाई जिम्मेवार ठहर गरेको छ। पछिल्लो एक सातामा विमानस्थलमा भएका विभिन्न आक्रमणमध्ये यो सबैभन्दा घातक घटना भएको समाचारमा उल्लेख छ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरबले गर्ने सैन्य कारबाहीमा अमेरिका सहभागी हुने वा नहुनेबारे विचार गरिरहेको बताएका छन् । उनले घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक निर्णय छिट्टै गरिने उल्लेख गरे ।

ट्रम्पले शनिबार साउदी युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गर्ने योजना रहेको बताएका थिए । उनले साउदी अरबमा भएको घटना स्वीकार्य नभएको प्रतिक्रिया दिए ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् ।

यमनमा साउदी समर्थित सरकारी सेनाले हुथी विद्रोहीसँग लडाइँ गरिरहेका बेला पछिल्लो आक्रमणले क्षेत्रीय तनाव थप बढाउने देखिएको छ। खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण साउदी अरब र उसका सहयोगी राष्ट्रहरूको सुरक्षा चुनौतीसमेत बढेको छ। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *