तीव्रखबर
– अनुसा थापा
नेपाली समाजमा ठगहरुको अभाव छैन । कम्पनी खोल्ने, सदस्य बनाउने, शुल्क लिने, महिनैपिच्छे ढुकुटी खेलाउने अनि ठगि खाने । यो पछिल्लो समय छिटो कमाउने सबैभन्दा सजिलो धन्दा बनेको छ । हर्वो, युनिटी लाइफलगायतका संस्थाले सदस्य बनाएर हजारौंलाई ठग्यो ।
युनिटी काण्ड मुलुकको चर्चित ठगी काण्डमध्ये एक हो । सदस्यता बाँडेर सो संस्थाले अर्बौं लुट्यो । संस्थाका पदाधिकारीविरुद्ध मुद्दा नै चल्यो । हर्बो पनि त्यस्तै संस्थामध्ये एक हो । महिला समूहको नाममा ठग्नेहरु पनि छ्याप्छ्याप्ती छन् । महिलाहरुको समूह बनाउने, पैसा उठाउने अनि खाएर फरार हुने ।
ढुकुटी खेल्ने परिपाटी नेपाली समाजमा व्यापक छ । ढुकुटीमा लाखदेखि करोडसम्म पैसा लगाइन्थ्यो । बाठाटाठा पहिल्यै त्यो पैसा लिएर भाग्ने, सर्वसाधारण डुब्ने । विभिन्न संघसंस्था, महिला समूहबाट करोडौं नागरिक डुबेका छन् । सरकारले टोलटोलमा सहकारी, घरघरमा धानको भकारी भन्यो ।
सहकारीले करोडौं बचतकर्ताको अर्बौं रुपैयाँ खाइदियो । पढ्न विदेश पठाइदिने भन्दै थुप्रै कन्सल्टेन्सी र म्यानपावर खुलेका छन् । दुई लाखदेखि १५ लाख पैसा लिने तर विदेश नपठाउने । दुनियाँबाट पैसा उठाएपछि म्यानपावर र कन्सल्टेन्सी फरार भएको थुप्रै उदाहरण छन् । भूमाफिया र बाठाटाठाले हदबन्दीभन्दा बढीको जग्गा कब्जा गरे ।
बाठाटाठा र दलालहरु हदबन्दीको जग्गा व्यक्तिको नाममा सरकारले सित्तैमा पास गरिदिनुपर्ने माग गरिरहेका छन् । अहिले कब्जा गरिरहेको जग्गा त्यत्तिकै लैजान उनीहरु लागिपरेका छन् । दलालीहरुले बैंक तथा वित्तिय संस्था, संघसंस्थाले एक सय रुपैयाँ प्रतिकित्तामा निकालेको सेयर २५ सयदेखि पाँच हजारमा बेचे ।
सेयरमा लगानी गर्ने सर्वसाधारण फसेका छन् । सस्तोमा खरिद गरेको खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर भूमाफियाले आनाको ५० लाखदेखि २० करोडसम्म बेचेका छन् । २०२२ सालमा ८० रुपैयाँ तोलामा पाउने सुन झण्डै चार लाख रुपैयाँ पुगेको थियो । छिमेकी मुलुकमा एक–डेढ लाख रुपैयाँमा पाउने सवारी साधन ल्याएर सर्वसाधारणलाई लुटिएको छ ।
सहकारीबाट ऋण लिने ६३ लाख सुकुम्बासी बनेका छन् । लघुवित्तबाट ऋण लिने २७ लाख १६ हजार, बैंकबाट २२ लाखले ऋण लिएका छन् । उनीहरु घर न घाटको बनेका छन् । मीटरब्याजीबाट ऋण लिने त कति छन् कति । कतिपयको उठिबास लागिसकेको छ भने कतिपयको लाग्ने क्रममा छ ।
बैंकले ऋण दिने बेला आठ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुल्यो । व्यक्तिले एक लाखको ३० हजारसम्म असुलेको पाइन्छ । काठमाडौं उपत्यकामा जताततै कोठा खोज्ने, जागिर खोज्ने अफिस खुलेका छन् । सेक्युरिटी गार्डको जागिर चाहिनेलाई छुट्टै अफिस सञ्चालनमा ल्याइएको छ ।
बत्तीको पोल र भित्तामा १६ हजार रुपैयाँ तलब दिने भनि सम्पर्क नम्बर टाँसिरहेको पाइन्छ । बेरोजगारहरु जागिर पाउने आशामा त्यहाँ पुग्छन् । जब खोज्न गएका उनीहरुलाई लुटिन्छ । फाराम भर्नुपर्छ, पैसा लाग्छ । तर, जागिर कहिले पाइन्छ रु टुंगो हुँदैन । यता, सेक्युरिटीको अफिसले जागिर खोज्न आएकोसँग शुरुमै तालिम भनेर १० हजार असुल्छ ।
ड्रेसको फेरि १० हजार लिइन्छ । ती अफिसले बिचौलियाको काम गर्छ । सेक्युरिटी गार्ड खटाएको ठाउँबाट कम्पनीले ३० देखि ३५ हजार लिन्छ । तर, सुरक्षा गार्डलाई जम्मा १५ देखि १८ हजार दिन्छ । अरु सबै कम्पनीले खाइदिन्छ । कम्पनीले दशैं पेश्कीलगायत पाउने सेवासुविधा लिन्छ ।
तर, सुरक्षा गार्डलाई दिइँदैन । सुरक्षा गार्डहरु बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खटिन्छन् । जब खोज्ने अफिसमा पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँ तिरेर फाराम भर्नुपर्छ । काम पाएपछि फेरि पैसा तिर्नुपर्छ । ३५ सयदेखि पाँच हजार रुपैयाँ काममा लगाएबापत् तिर्नुपर्छ ।
काम गर्न कामदार सो कार्यालयमा पुग्छन् । तर, पैसा जब सेन्टरको खातामा आउँछ । जब सेन्टरले भनेकोजति दिन्छ, अरु खाइदिन्छ । बाठाटाठा यसरी बसिबसि मोटाइरहेका छन् । कोठा खोज्ने कार्यालयहरु पनि ठग नै हुन् । न दर्ता हुन्छ न कानुनी प्रक्रिया पुरा गरेको हुन्छ । घरधनी सिँधै कोठा दिँदैनन् ।
कोठा खोज्ने कम्पनीमार्फत जानुपर्छ । कम्पनीमा पहिले फाराम भर्नुपर्छ । फाराम भर्दा पाँच सयदेखि हजार रुपैयाँ लाग्छ । कोठा पाएपछि पनि दुईदेखि पाँच हजार रुपैयाँ बुझाउनुपर्छ । दुई–तीन हजारमा नजाने कोठा अफिसले दशौं हजारमा लाइदिन्छ । अनि महिनैपछि घरधनीबाट दुई–तीन हजार उठाउँछ ।
बाठा घरधनीले ती कम्पनीलाई एक महिनाको भाडा पहिल्यै दिन्छन् । घरायसी कामदारले मासिक तीनदेखि पाँच हजार तलब पाउँछन् । त्यो काम खोजिदिनेलाई पनि कमिशन खुवाउनुपर्छ । उता, घरधनीबाट पनि फाइदा लिन्छन् । यस्तो लुटको धन्दा व्यापक छ । स्कुल र अस्पतालमा आफ्नो मान्छे लग्दा पनि कमिशन खान्छन् ।
जताततै कमिशनकै खेल चलिरहेको छ । कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन । करारमा जागिर खानुपरे नि कमिशन, सुरक्षा संयन्त्रतर्फ जागिर खानुपरे नि कमिशन । कमिशन नखुवाईकन केही नहुने भयो । यस्तो पाराले देशबाट कसरी भ्रष्टाचार, घुसतन्त्र, कमिशनको अन्त्य हुन्छ ।
गरिब जहाँ त्यहीँ लुटिएका छन् । उनीहरु दुःख गर्छन् । तर, आफ्नो श्रमअनुसारको तलब पाउँदैनन् । बिचमा बसेर बाठाटाठाले खाइरहेका छन्, गरिब हेरेको हेर्यै छन् । डाक्टरहरु पनि ठग छ । थापाथली र ललितपुरमा महिलाको शरीरबाट अण्डाकोष निकालियो । सीधासाधी किशोरीलाई प्रलोभन देखाएर डाक्टरहरुले त्यो काम गरे ।
मिर्गौला निकालेको घटनाहरु पनि सार्वजनिक भइरहेको हुन्छ । तिनलाई कारबाही गर्ने कसले रु कतिलाई झुक्याएर मिर्गौला बेचिन्छ । पैसाको प्रलोभन देखाएर पनि मिर्गौला निकालिन्छ । यस्ता घटना नेपाली समाजमा व्यापक घटिरहेको छ । तर, तिनलाई कसले कारबाही गर्ने रु यस्ता गैरकानुनी धन्दा सञ्चालन गर्ने गिरोहलाई राजनीतिक दलको संरक्षण छ ।
पढेलेखेकैबाट यस्ता काम भइरहेका छन् । व्यापार गर्ने नाममा व्यापारीले लुटिरहेकै छन् । उद्योगीहरुले आफूखुशी भाउ बढाएर ठगेका छन् । गुणस्तरहीन सामान बेचेका छन् । तिनलाई कसले कारबाही गर्ने रु सुशासनको लागि बनेको बालेन्द्र साह नेतृत्वको सरकारले पनि केही गर्न सकेन ।
त्यस्ता व्यक्तिको अगाडि सरकार पनि निरीह बन्यो । प्रधानमन्त्री बालेन व्यापारीहरुको विज्ञापन गर्नमै व्यस्त छन् । तर, तिनले कसरी ठगेका छन् रु थाहा पाएर पनि बुझ् पचाएका छन् । यहाँ देश र जनतासँग कसैलाई सरोकार छैन । जसले जसलाई लुटेपनि, जसरी लुटेपनि सरकार रमिते बनेर बसेको छ ।
हातमा दुईटा मोबाइल बोक्ने, सुटपाइन्ट लगाउने, गला र हातमा सुन भएका, प्राइभेट गाडी चढ्नेहरुले लुटिरहेका छन् । नेपाली समाजमा लुटको धन्दा चलाउनेहरु सुकिलामुकिला भएर हिँड्नेहरु छन् । गरिबहरुलाई देख्नेबित्तिकै चोर ठहर्याउने यो समाजले सुकिलामुकिला भएर हिँड्ने त्यस्ता चोरहरुलाई चिन्न सकेको छैन ।
बैंकबाट बचतकर्ताको पैसा चोरिएको छ । सरकार यत्रा निकाय छन्, ती सबै फेल भइसकेका छन् । नत्र यस्ता ठगहरु कारबाहीको दायरामा आउँथे होला । लुट्नका लागि नयाँ नयाँ योजना ल्याइँदैछ । तिनको सामुन्ने सरकार निरीह छ ।
प्रतिक्रिया