September 13, 2026, 8:47 pm
» शान्ति सुरक्षादेखि सम्पदा संरक्षणसम्म महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की » आईजीपी दानबहादुर कार्कीले गरे गौशाला प्रहरी वृत्तको पुनर्निर्मित भवन उद्घाटन » जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन गृहकार्य भइरहेको छ- ऊर्जामन्त्री श्रेष्ठ » कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र » सुन भन्दै एक करोड ३९ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

राममन्दिर घोटाला प्रकरण : केशवध्वज राणाले देखाए ‘आफैंबोक्सी र धामी’को चरित्र

भदौ २८, २०८३ मा प्रकाशित | ७१०४ दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र नीजि गुठी मातहत रहेको ‘राममन्दिर’मा भएको चरम घोटालाको विषयमा समाचार प्रकाशित भएपछि हलचल मच्चिएको छ । वर्षौंदेखि त्यहाँ धार्मिक क्षेत्रमा हुँदै आएको अनधिकृत व्यापारीक संरचना निर्माण गर्नेदेखि मन्दिरको अस्तित्व नै समाप्त पार्ने लगायतका पार्टी प्यालेस शैलीको व्यापारसम्मका क्रियाकलाप गरेको पाइएपछि तीव्रखबरले खोजमूलक समाचार प्रकाशन गरेकोमा हलचल मच्चिएको हो ।

विक्रम संवत १९२८ सालमा कम्याण्डिङ कर्णेल सनकसिंह लाहुरे टण्डन क्षेत्रीले स्थापना गरेको श्री रामचन्द्र निजी गुठी अन्तर्गत रहेतापनि २०४८ सालमा गूठीकै केही व्यक्तिहरुले स्वीकृति दिएको हवाला दिँदै स्थापना भएको श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवम् संवद्र्धन समितिले मर्मत सम्भार गर्ने लगायतको कार्य गर्दागर्दै मन्दिर र गुठीको जग्गा जमिन समेत कब्जामा लिएको भन्दै गम्भीर आरोपको चर्चा हुनथालेपछि तीव्रखबरले तथ्य र प्रमाणका आधारमा एक समाचार प्रकाशित गरेपछि सो समितिले समाचारको खण्डन गरेको छ ।

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवम् संवद्र्धन समितिका रामचन्द्र निजी गुठीको प्रतिनिधिसदस्य उल्लेख भएका केशवध्वज राणा र सदस्य सचिव केशव घिमिरे खत्रीको संयुक्त हस्ताक्षरमा जारी खण्डनपत्र प्राप्तभएको हो । दुई पृष्ट लामो खण्डनपत्रमा अधिकांश प्रसंगमा गुठियारहरुको अस्तित्वमाथि नै धावाबोलिएको छ ।

हेर्नुहोस् खण्डनपत्र जस्ताको त्यस्तै

केशवध्वज राणाको ‘आफैंबोक्सी र आफैंधामी’को चरित्र
कम्याण्डिङ कर्णेल सनकसिंह लाहुरे टण्डन क्षेत्रीले शिलालेखमाउ उल्लेख गरी पुस्तान्तरणको आधारमा नेतृत्व र प्रतिनिधित्व हुने गरी अख्तियारी दिएको गुठीमा केशवध्वज राणा हालपनि सदस्य सचिवको रुपमा देखिएका छन् भने सो गुठी मातहत रहेको मन्दिरको जीर्णोद्धार गर्न बनेको समितिमा पनि प्रतिनिधि सदस्यका रुपमा रहेको उनले हस्ताक्षर गरेको खण्डनपत्रबाट थाहाभएको छ । यस अर्थमा राणा आफैंपनि उक्त गुठीको अधिकार प्राप्त गुठियार मध्येका एक हुन् तर उनको चरित्र भने दोहोरो देखिएको छ ।

आफ्ना पुर्खाले स्थापना गरिदिएको गुठीकै विरुद्धमा उनले खण्डनपत्रका नाममा धावाबोलेका छन् । उनले गुठीयारहरुकै अस्तित्व अस्वीकार गरेका छन् । उनीआफैं गुठियार हुँदाहुँदै पनि समितिका नाममा विज्ञप्ति जारी गरेर राणाले तत्कालीन समयको ३ सय ७४ रोपनी ८ अना ३ पैसा जग्गा नै समाप्त पारिसकेको खण्डनपत्रमा स्वीकार गरेका छन् । साथै उनले यो विषयमा प्रकाशित भएको समाचारलाई भने एकाङ्की र भ्रमपूर्ण भएको आरोप लगाएका छन् । उनले ‘हामी गुठियार हौं’ भन्नेहरु कहाँथिए भन्दै आफ्नै पुर्खामाथि अर्थपूर्ण प्रश्न गरेका छन् । यसै विषयमा उनै गुठीका सदस्य सचिव तथा समितिका सदस्य केशवध्वज राणालाईलाई फोन सम्पर्क गरि तपाई आफै गुठीयार होइन र तपाईको खण्डन बाझिएन र भन्ने जिज्ञासामा उनले भनेका छन् – ‘जग्गा हामीले मुद्धा लडेर फिर्ता ल्याईसकेका छौं । बाहिर–बाहिर अनावश्यक भ्रम फैलाएर हिड्ने गुठीयारहरुलाई नै भनिएको हो ।’

उक्त खण्डनमा वर्षौंदेखि अलपत्र परेको अवस्थामा स्थानीय अग्रज, बुद्धिजीवी तथा निजी गुठीका तत्कालीन सरोकारवालाहरुसँग गहन छलफल गरी समितिको स्थापना गरिएको उल्लेख गरिएको छ, तर गुठीले के–के काम गर्न र कतिवर्षको लागि जीर्णोद्धार वा मर्मत सम्भार गर्नको लागि जिम्मेवारी दिएको हो भन्ने विषय कहीँकतै उल्लेख गरेका छैनन् । उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्थाले विधान अनुसार कार्य गरिरहेको त उल्लेख गरेका छन् तर सामाजिक संस्थाको रुपमा दर्ता भएको उक्त समिति र गुठीबीचको सम्बन्ध के हो भनेर खुलाएका छैनन् । जबकी त्यो मन्दिर निजी गुठी मातहत निर्माण भएको हो र खण्डन जारी गर्ने राणा पनि गुठीको बहालवाला सदस्य सचिव हुन् । यसै विषयमा राणालाई सोधिएको एक जिज्ञासामा भन्छन् – ‘गुठीका प्रतिनिधी नै समितिका सदस्य रहने परम्परा छ, सोही अनुसार हामी समितिमा पनि छौं र गुठीमा पनि छौं । बाहिर अनावश्यक भ्रम फैलाएर हिड्ने गुठीयारहरु हामी चिन्दैनौं ।’

खण्डनपत्रमा – ‘मन्दिरका निर्माताले दिएको ३७४-८-३ रोपनी जग्गा कहाँ छ ?’ भनेर प्रश्न गरेका छन् तर आफू पनि गुठीको सदस्य सचिव भएपछि कति रोपनी कहाँ कुन अवस्थामा छ भनेर पत्ता लगाउन भूमिका खेलेको वा परिणाम ल्याएको कुरा उल्लेख गरेका छैनन् । त्यसको आम्दानी र खर्च कहाँ छ ? भनेर अर्को प्रश्न गरेका छन् तर समाचारमा ‘३५ वर्षदेखिको हिसाब खोई ?’ भन्ने प्रश्नको जवाफ लेखेका छैनन् । निजी गुठीका गुठियार हुँ भनी पत्र-पत्रिकामा अनेक थरी भ्रामक विचार छर्दै हिड्नेहरुले यसको जवाफ कहिले दिने ? भनेर प्रश्नगरेका छन् तर गुठीको सदस्य सचिव भएको नाताले त्यसको जवाफदेही आफैं हो भन्ने सत्यता भुलेका छन् । उनले मन्दिरको स्थायी आम्दानीको श्रोत नभएकोले मन्दिर परिसरमा विवाह, ब्रतबन्ध आदि अवसरमा ठाउँ तथा भोजन सेवा उपलब्ध गराए वापत प्राप्त सहयोगबाट मात्र मासिक खर्च धान्दै आएको उल्लेख गरेका उनले मूल्य नै तोकेर मन्दिरलाई व्यापारिक प्रतिष्ठान जस्तो बनाएको विषयमा समाचार आएको बारेमा भने प्रस्ट पारेका छैनन् बरु यसको कुनै प्रमाण नभएको उल्लेख गरेका छन् । उनले तीव्रखबरले विभिन्न माध्यममा प्रकाशित गरेका समाचार हटाउन पनि चेतावनी दिएका छन् ।

तीव्रखबरले गुठीका अध्यक्ष प्रेमध्वज राणासँग जिज्ञासा राखेकोमा उनले आफूसँग कुनै पनि कागजपत्र नभएको भन्दै पन्छिए । अध्यक्ष राणाले जिम्मेवार जवाफ दिन नसकेपछि उपाध्यक्ष नृपतेन्द्रध्वज राणासँग सम्पर्क गर्दा उनले जीर्णोद्धार समितिका नाममा मन्दिर र गुठीको जग्गा जमिन हडपिएको बताए । आफूले लामो समयको अध्ययन र अनुसन्धान गरेको दाबी गर्दै उपाध्यक्ष राणाले गुठीले हालसम्म कसैलाई पनि जीर्णोद्धार समितिमा प्रतिनिधि सदस्यका रुपमा पठाउने निर्णय नगरेको बताए । ‘हामी गुठियारहरु पुर्खाले आर्जेको सम्पत्ति र धार्मिक संरचनाको संरक्षण हुनुपर्छ भनिरहेका छौं, दिलोज्यान दिएर लागिरहेका पनि छौं तर केही अवाञ्छित तत्वहरुले त्यसलाई कब्जा गरेर हामीमाथि नै आक्रमणको प्रयास गरिरहेका छन् । हामीमाथि नै आधिकारिकताको प्रश्न उठाएर भ्रम फैलाइरहेका छन् ।’-उनले भने ।

निजी गुठीमा अवाञ्छित तत्व हाबी हुँदा किन कानूनी उपचार नखोज्नु भएको त ? भन्ने हाम्रो प्रश्नमा उनले भने – ‘गुठीमा हामीले प्रतिनिधित्व गरेपछि केही समय त अध्ययन अनुसन्धान गर्नमै बित्यो । त्यसलाई हडप्ने, गुठी र मन्दिरको महिमामाथि असर गर्ने गरी विकृत क्रियाकलाप गर्ने र धार्मिक तथा पुरातात्विक क्षेत्रको दुरुपयोग गरी कमाउ धन्दामा लागेकाहरुको पहिचान गर्न पनि हामीलाई समय लाग्यो । अब सबै कुराको पहिचान भइसकेको छ । हामी हाम्रापुर्खा कम्याण्डिङ कर्णेल सनकसिंह लाहुरे टण्डन क्षेत्रीले शिलालेखमा उल्लेख गरे बमोजिम उहाँले सुम्पिएको अख्तियारी तलमाथि नहुने गरी त्यसको संरक्षण गर्छौं । हामी अरु माथि हस्तक्षेत्र गर्दैनौं र हाम्रो पुर्खाको निशानी माथिको हस्तक्षेप पनि सहँदैनौं ।

केशवध्वज राणा र केशव घिमिरे खत्रीबीचको उदांगो स्वार्थ
समर ध्वजका नाति, कृष्ण ध्वजका छोरा रहेका केशवध्वज निजी गुठीको वर्तमान कार्यसमितिमा रहेका छन् । उनी गुठी स्थापनाको उद्धेश्यका स्पष्ट दाबेदार हुनुको नाताले त्यहाँ प्रतिनिधित्व गर्न पाएर सदस्य सचिवको रुपमा पदासिन छन् । यद्यपि श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवम् संबद्र्धन समितिका सदस्य सचिव रहेका केशव घिमिरे खत्रीसँग उनको सम्बन्ध नै शंकास्पद देखिएको छ । यस्तो शंका समितिमा रहेर दुईजनाले समाचारको खण्डनपत्रमा संयुक्त हस्ताक्षर गरे भनेर होइन । निजी गुठी अन्तर्गतकै सात रोपनीभन्दा बढी जग्गा दुई जनाको मिलेमतोमा सल्टाइएको शंकास्पद प्रमाण फेलापारी तीव्रखबरले यसको अध्ययन गरिरहेको छ ।

यसअघि प्रकाशित समाचारको हेर्नुहोस्

बत्तिसपुतलीको राम मन्दिरमा घोटालै घोटाला : ३५ वर्षदेखिको हिसाब-किताब खोइ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *