तीव्रखबर
काठमाडौं / प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुन:निर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले पूर्ण रूपमा क्षति भएका भवनहरू पुनःनिर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दैयो सद्भाव एवम् साथले प्रहरी र समुदाय बीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढी नागरिकमैत्री, उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संरचनाको पुनर्निर्माण सँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो । भवन पुन:निर्माण सँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार, अनुशासित, पारदर्शी, संवेदनशील, उत्तरदायी हुँदै नागरिक प्रति समर्पित भएर कार्य गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुन:निर्माण कार्य समितिका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुन:निर्माण समितिका कोषाध्यक्ष वि.एन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा ई. डा. शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया