September 12, 2026, 1:22 pm
» प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात » कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो » नेपाल र चीनबीच विपद् प्रतिरोध र प्रविधि सहकार्य विस्तार हुनुपर्छ- मन्त्री खनाल » सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते » बेपत्ताको खोजीमा प्रहरीको विशेष अपरेसन : ‘टिमुरेदेखि त्रिवेणीसम्म’

गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएसको पठनपाठन सुरु हुनुपर्छ- गोपाल हमाल

साउन १०, २०८३ मा प्रकाशित | ९७०४ दर्शक तीव्रखबर

धनगढी। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु हुनुपर्ने बताएका छन् ।

हमालले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी यही शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुनुपर्ने बताएका हुन् ।
उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति लगायतका विषयहरू त्यति महत्वपूर्ण नरहेको उल्लेख गर्दै मुख्य प्राथमिकता शैक्षिक गतिविधि सुरु गर्नु र सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको बताए । उनले भनेका छन्- ‘को पदाधिकारी बन्यो वा बनेन भन्ने विषय तपसिलको कुरा हो । धेरै लामो प्रतीक्षापछि गेटा मेडिकल कलेज सही दिशामा अघि बढेको छ। अब कुनै पनि बहानामा यसको गति रोकिनु हुँदैन ।
नगर प्रमुखले गेटा मेडिकल कलेजको पूर्वाधार विकास समितिको नेतृत्वसँग आफू प्रत्यक्ष रूपमा जोडिएको अनुभव पनि स्मरण गर्दै यसअघि डा. चेतराज पन्तको अध्यक्षतामा पूर्वाधार विकास समिति रहेको र उनको कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले अधिकार दिएअनुसार धनगढी उपमहानगरपालिकाले समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको र सो जिम्मेवारी आफूले नै निर्वाह गरेको हुँदा यस विषयमा आफूलाई पर्याप्त जानकारी रहेको उनको भनाइ छ ।
उनले सुदूरपश्चिमका नागरिक गेटा मेडिकल विश्वविद्यालयसँग भावनात्मक रूपमा जोडिएको उल्लेख गर्दै अब कुनै अन्योल वा शंका नगरी यही शैक्षिक वर्षमै कम्तीमा एमबीबीएसको पठनपाठन सञ्चालन हुने वातावरण बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भनेका छन्- ‘हाम्रो स्पष्ट भनाइ छ, जसरी भए पनि पढाइ छिटो सुरु होस् र जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकून्। यही उद्देश्य पूरा गर्न सबै पक्षले आवश्यक सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *