तीव्रखबर
तिहारका लागि सरकारले कात्तिक २० गतेदेखि सार्वजनिक बिदा दिएको छ । सरकारी कार्यालयसँगै विद्यालय, अफिसहरु बन्द भएका छन् । तिहारलाई लक्षित गरी घर जानेहरु यत्तिकै छन् । दशैंमा घर जान नपाएका र गाउँघरमा दिदीबहिनी, दाजुभाइ भएकाहरु घर फर्किरहेका छन् ।
तिहारलाई घर जानका लागि जडीबुटी, बल्खु, कलंकी, नयाँ बसपार्क, बालाजु, बाइसधारा, मकालुबारीमा यात्रुको चाप छ । जडीबुटीस्थित पूर्वअरनिको यातायात प्रालिभित्र हिजो सोमबार यात्रुको एकदमै भीड थियो । त्यही थिए, टिकट नपाएर अलपत्र परेका यात्रुहरु । बिहान ११ बजेर ४४ मीनेटमा त्यहाँ भेटिएका ती यात्रुहरु काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थली जान त्यहाँ आएका थिए ।
तर, गाडी छुटिसक्दा उनीहरु कसरी जाने ? के गर्ने ? भनेर चिन्तित बनेका थिए । काठमाडौंबाट भुम्लका विभिन्न वडासम्म दैनिक एउटै मात्र गाडी जान्छ । पूर्वअरनिको यातायात प्रालिले त्यहाँ एउटा गाडी चलाएको छ । त्यो गाडी कहिले बिहान ९ बजे जडीबुटी बसपार्कबाट छुट्छ, कहिले बिहान ११ बजे । त्यो गाडी छुट्यो भने अर्को गाडी नै छैन ।
वडा नम्बर १, रिष्ठे, २ सिम्थली, ३ बेख्सिम्ले, ४ चौबास, कोड्खा, ओख्ले, ठाडो कोड्खा, सिउरानी, फागर, डोडुवा, सिम्पाल, गतखोरिया, ओर्लिनी, मूलखर्क, दुर्गे लगायत विभिन्न स्थानका यात्रु त्यहीँ गाडीमा जान्छन् । टिकट काउण्टरमा जडीबुटीबाट सिम्थली गएको ५९२ रुपैयाँ भाडा लेखेर टाँसिएको थियो । पूर्वअरनिको यातायात प्रालिको लेटरप्याडमा राखिएको गाडीभाडाको सूची सरकारले तोकेको हो कि प्रालिले ? यात्रुलाई थाहा छैन ।
लेटरप्याडमा प्रालिका अध्यक्षको हस्ताक्षर मात्रै छ, सरकारी अधिकारीको छैन । काभ्रेको भुम्लु गाउँपालिका जाने सडक राम्रो छैन । त्यस्तोमा एउटै मात्र गाडी छ, कोचाकोच गरेर यात्रु लगिन्छ । एउटै गाडी भएपछि जसलाई पनि जानु छ । अर्को गाडी आउला र जाउला भन्ने विकल्प हुँदैन । ज्यानै जोखिममा राखेर उनीहरु यात्रा गरिरहेका छन् । सिम्थलीमा २०६५ सालमा बाटो खुलेको हो ।
तर, त्यतिबेलादेखि अहिलेसम्म एउटै मात्र गाडी चलिरहेको छ । हिउँदमा एउटा गाडी चल्छ, बर्खामा त गाडी नै चल्दैन । साविकको चौबास गाविस–४ काभ्रेको चित्रबहादुर कुँवर पूर्वअरनिको यातायात प्रालिका अध्यक्ष थिए । उनले त्यहाँ गाडी थप्न चासो दिएनन् । न त्यहाँको सडक मर्मतमै उनले कुनै पहल गरे । बरु, उनले प्रालिको अध्यक्ष भएर ललितपुरको टिकाथलीमा घर बनाए ।
प्रालिले गाडी हाल्ने धनीसँग सातदेखि आठ लाख रुपैयाँ असुल्छ । एउटा गाडीबाट १५ सयदेखि दुई हजार लेबी उठाइन्छ । अटोशोरुम र बीमा कम्पनीसँग कमिशन खान्छ । दुर्घटनामा ज्यान गुमाएका यात्रुका आफन्तलाई एक लाख रुपैयाँ दिएर बीमाबाट प्राप्त पाँच लाख आफू खान्छ । कुँवरले चाहेको भए, आफ्नो पालोमा पाँच–६ वटा गाडी हाल्न सक्थे । तर, उनले त्यो सोचेनन् । त्यसैगरी, फागरको नृपेध्वज महत प्रालिको उपाध्यक्ष भए ।
उनले पनि त्यहाँको स्थानीयको विषयमा सोचेनन् । प्रालिमै रहेर उनले नरेफाँटमा घर बनाएका छन् । २०८२ फागुन २१ गते भएको निर्वाचनमा सिम्थलीकै बदन भण्डारी रास्वपाबाट निर्वाचित भएका छन् । तर, उनले पनि गाडी थप्न पहल गरेका छैनन् । आफ्नो क्षेत्र, पालिका र वडाको जनताले गाडी नहुँदा कतिसम्म हैरानी खेपिरहेका छन् ? उनी बेखबर हुन् कि थाहा पाएर पनि बुझ्पचाएको ?
चार वटा वडासहित विभिन्न ठाउँका जनतालाई एउटा गाडीले धान्छ ? त्यहाँका सर्वसाधारणलाई आपतविपत पर्दा गाडी छैन । अस्पताल आउनुपर्यो भने गाडी पाइँदैन । बिरामी हुँदा धुलिखेल अस्पताल आइपुग्नुपर्छ । धुलिखेल अस्पतालसम्म आउन गाडी छैन । कि बिरामी बोकेर दोलालघाटसम्म ल्याउनुपर्यो कि चेहेडेसम्म । काभ्रेपलाञ्चोक काठमाडौं उपत्यकासँग जोडिएको जिल्ला हो ।
भक्तपुर र काभ्रेपलाञ्चोकको सीमाना जोडिएको छ । सँगै यो जिल्ला देशको संघीय राजधानी भएको बागमती प्रदेशमै पर्छ । राजधानीबाट नजिकको जिल्लाको अवस्था त यो छ भने दुर्गमको त कल्पना पनि गर्न सकिँदैन । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का सांसद बदन भण्डारी सिम्थलीको भएतापनि काठमाडौंमा बस्छन् । उनले जिल्ला छोडिसकेका छन् । काठमाडौंको कपनमा उनको घर छ ।
आफ्नो जिल्ला छोडिसकेकालाई जनताले भोट दिए । जसले आफ्नो जिल्ला छोडिसक्यो, जो त्यहाँ बस्दै बस्दैन, त्यहाँको जनताको दुःखकष्ट बुझेकै छैन, उसले त्यो क्षेत्रका लागि काम गर्छ भनेर सोच्नु मुर्खता हुनेछ । भुम्लुका पूर्वअध्यक्ष गुमानध्वज कुँवरले पनि गाउँ छोडिसके । अध्यक्ष बनेर अंकुत सम्पत्ति कमाएका उनको बाफलमा घर छ । गाउँको सिधासाधी जनतालाई फकाईफुलाई गर्ने, चुनाव जित्ने, सत्तामा पुग्ने, घर बनाउने अनि यतै बस्ने ।
तिनलाई आफूले चुनाव जितेको क्षेत्र र जन्मेको थलोसँग कुनै सरोकार नै हुँदैन । भुम्लु दुर्गम जिल्लाजस्तो छ । स्वर्गीय नेता गोविन्दनाथ उप्रेतीको पहलमा कोशीपारी कच्ची सडक लगिएको थियो । सडक खनियो तर अहिलेसम्म पिच भएको छैन । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट धेरै सांसद भए । गोविन्दनाथ उप्रेतीले २०४८ र २०५१, काँग्रेसले २०५६, माओवादीले २०६४, २०७०, २०७४ र २०७९ मा एमाले निर्वाचित भयो ।
२०८२ मा त्यहाँ रास्वपा विजयी भयो । त्यहाँ अलिकति गरेको भनेको उप्रेतीले हो । अरु त नाम मात्रका सांसद भए । चुनाव जिते, काठमाडौंमा घर बनाए, गाडी चढे । सांसद, पालिकाका जनप्रतिनिधि मात्र होइन, वडाध्यक्ष पनि त्यहीँ हो । गाउँमा चुनाव जित्ने, काठमाडौंमा जग्गा किन्ने अनि घर बनाउने । २०७४ सालमा सिम्थलीको वडाध्यक्ष बनेका कृष्णकुमार कार्कीले भक्तपुरमा घर बनाएका छन् ।
एक कार्यकाल खाँदा घर बनाउनेले भ्रष्टाचार कति गरे होला ? सहजै अनुमान लगाउन सकिन्छ । जहिले जनता झुक्याउने, आफू मोटाउने क्रम चलिरहेको छ । गाउँमा जनताले तिरेको कर र विदेशी ऋणबाट निर्माणका निम्ति बजेट जान्छ । सिम्थलीकै सडकका लागि कतिपटक बजेट गइसक्यो । तर, कहिल्यै सडकको निर्माण सकिँदैन । अहिलेपनि हिउँदमा धुलाम्मे हुँदै सो सडकबाट यात्रा गर्नुपर्छ ।
बर्खामा त कच्ची बाटो भएकाले गाडी नै गुड्दैन । ५० लाख बजेट गयो भने पाँच लाखको काम हुन्छ, अरु सबै झ्वाम्म पारिन्छ । अनि कसरी हुन्छ विकास ? जनताले कसरी सुविधा पाउँछन् ? जनता कर तिरेको तिर्यै छन्, ऋण बोकेका बोक्यै छन् । तर, के उपलब्धि भयो ? जनता गाडी नहुँदा सास्ती खेपिरहेका छन् तर सांसद भण्डारी ती कुरा सदनमा उठाउँदैनन् । हामीलाई ‘खराने, घण्टे’ भन्यो भन्छन् ।
उनलाई जनताले आफ्नो व्यक्तिगत कुरा राख भनेर सदनमा पठाएका हुन् ? जनता गाडी नपाउँदा घण्टौं हिँड्न बाध्य छन् । उपचारका लागि अस्पताल आउन सकेका छैनन् । सांसद भने आफ्नै दुनियाँमा रमाइरहेका छन् । व्यवस्था फेरियो, नेता फेरिए तर जनताको अवस्था फेरिएन । जनताको समस्या आजपनि ज्यूँको त्यूँ नै छ ।
प्रतिक्रिया