तीव्रखबर
– रुषा थापा
पन्ध्र महिनाअघि काठमाडौंको बुढानिलकण्ठ, ललितपुरको खुमलटार, भैंसीपाटी र भक्तपुरको बालकोट चर्चाको केन्द्रीय थियो । यी ठाउँ सञ्चारमाध्यमका लागि समाचारको स्रोत थियो । यी ठाउँलाई भीआईपी एरियाका रुपमा चिनिन्थ्यो । राजनीतिक दलका शीर्ष वा वरिष्ठ नेताहरु बसेकै कारण यी ठाउँमा घरजग्गाको मूल्य चर्को थियो ।
आनाकै ७५ लाखदेखि दुई करोडसम्म भनिन्थ्यो । अझ जग्गा दलालीहरु त यी ठाउँमा घरजग्गा नै पाइँदैन भनी दाबी गर्थे । २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । ७७ जनाको मृत्यु भयो । हजारौं घाइते वा अंगभंग भए । ८४ अर्ब ७७ करोड ४५ लाख बराबरको सरकारी सम्पत्ति खरानी भयो । निजी क्षेत्रतर्फ २७ खर्बको क्षति पुग्यो ।
आन्दोलनमा राजनीतिक दलका शीर्ष नेताहरुको निवास निशानामा परे । देउवा, ओली, प्रचण्डसहितका नेताहरुको घरमा आगो झोसियो । ललितपुरको भैंसीपाटीस्थित सातै प्रदेशका मुख्यमन्त्री बस्नका लागि बनाइएका संरचनासमेत जलेर खरानी बन्यो । अहिले देउवा बुढानिलकण्ठमा बस्दैनन् न त ओली बालकोट अनि प्रचण्ड खुमलटारमा बस्छन् ।
जेनजी विद्रोहपछि ०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । निर्वाचनबाट रास्वपा १८२ सिटसहित पहिलो पार्टी बन्दा अघिल्ला निर्वाचनमा ठूलो पार्टीहरु कांग्रेस ३८, एमाले २५, नेकपा १७ सिटमा खुम्चिए । पन्ध्र महिनामै देशको राजनीतिक समीकरण उलुटपुलट भयो ।
सँगै भीआईपीहरु बस्ने एरियामा जग्गाको मूल्यमा समेत व्यापक गिरावट आएको छ । पन्ध्र महिनाअघि आनाकै ७५ लाखदेखि दुई करोडसम्म भनिने बुढानिलकण्ठ, बालकोट, खुमलटारलगायत एरियाको जग्गा अहिले त्यसको आधाभन्दा पनि आधा मूल्यमा समेत बिक्री नभइरहेको दलालीहरु नै बताउँछन् । केही वर्षअघिसम्म प्रचण्ड सोह्रखुट्टेमा बस्थे ।
त्यसपछि लाम्जिपाट हुँदै खुमलटार सरे । रोचक कुरा चाँहि प्रचण्ड बसेका यी सबै ठाउँमा घरजग्गाको मूल्य बढ्यो । दलालीहरुले भीआईपी बसेको एरिया हो, सुरक्षाको कडा व्यवस्था गरिएको हुन्छ, विदेशीहरु आउँछन्, विश्वमा यो ठाउँको चर्चा हुन्छ भन्दै यहाँको घरजग्गाको मूल्यसँगै कोठा भाडासमेत बढाइदिएका थिए । यतिमात्र होइन प्रचण्ड केही वर्षअघिसम्म घुमफिर वा रमाइलो गर्न सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट गइरहथे ।
जसका कारण उक्त रिसोर्टको त व्यापार फस्टाएकै थियो, सँगै सुकुटेमा घरजग्गाको मूल्य बढेको थियो । प्रचण्डलाई सुकुटे ल्याएकै कारण सिन्धुपाल्चोकबाट माओवादी नेताहरु अग्नि सापकोटा र माधव सापकोटाले पटकपटक चुनाव जिते । प्रचण्डकै आडमा त्यहाँ कतिपयले सरकारी जग्गासमेत अतिक्रमण गरेका थिए । तर, अहिले प्रचण्ड सुकुटे जान छोडेपछि सो रिसोर्टको व्यापार त ठप्प भएकै छ, सँगै गत निर्वाचनमा त्यहाँ नेकपाले हार व्यहोनुपर्यो । ठूला नेताहरु गाउँ बस्तीमा आएपछि विकास पुग्ने आशा हुन्छ ।
त्यसकै फाइदा उठाउँदै जग्गा दलालीहरुले घरजग्गाको मूल्य ह्वात्तै बढाइदिन्छ । नभए नेता आउनुअघि अन्न उब्जनी भइरहेको जग्गा नेता आएपछि के परिवर्तन भएर ह्वात्तै मूल्य बढ्छ त ? देउवा होस् या ओली–प्रचण्डले बुढानिलकण्ठ, बालकोट, खुमलटारमा घर बनाउनुअघि जग्गाका रुपमा खेत किनेका हुन् ।
केही दशकअघिसम्म यी ठाउँमा अन्नमात्र उब्जनी हुन्थ्यो । त्यतिबेला यी ठाउँमा जग्गाको मूल्य बढीमा रोपनीको दशदेखि २० हजारसम्म थियो । ०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित आएपछि काठमाडौंको सोह्रखुट्टे नयाँ बजार, सामाखुशी, गोंगबुसहित उपत्यकामै जग्गा प्लटिङ भए । त्यसअघि यी ठाउँ खेतबारी थियो । स्थापित अघिका मेयर पीएल सिंहले जग्गा प्लटिङ र घर नक्सा पास रोकेका थिए ।
जथाभावी जग्गा प्लटिङ र घर नक्सा पास स्वीकृति दिएमा काठमाडौंमा खानेपानी, फोहोर मैला व्यवस्थापन, अस्तव्यस्त शहरीकरण, प्रदूषणलगायतका समस्या निम्तिने उनको ठहर थियो । तर, केशव स्थापितले जग्गा दलाली वा भूमाफियासँग मिलेर धमाधम जग्गा प्लटिङ र घर नक्सा पास स्वीकृति दिए । यता, भक्तपुर नगरपालिकामा भने जनप्रतिनिधिले जनताको जग्गा किनेर बेचेको पाइन्छ ।
मेयर सुनिल प्रजापतिसहितको योजनामा नगरपालिकाभित्रका जग्गा रोपनीको २० हजारदेखि एक लाखमा किनेर प्लटिङ गरी निकै महँगोमा अर्थात् आनाकै २५ लाखदेखि करोडौंमा बेचिएको पाइन्छ । यसरी नगरपालिका वा जनप्रतिनिधिकै मिलीभगतमा भक्तपुरका रैथाने बासिन्दालाई सुकुम्बासी बनाइयो । गएको निर्वाचनमा भक्तपुरमा एमालेले हार व्यहोर्यो । तर, ओली गुण्डुमा बसेकै कारण यहाँको जग्गाको मूल्य बढाइएको छ । निर्वाचनमा चाँहि भोट नदिने तर ओलीको नाम लिँदै जग्गाको भाउ चाँहि बढाउने ।
अर्को, विडम्बनापूर्ण कुरा चाँहि के छ भने देशको नेतृत्व सम्हालिरहेकाहरु देश र जनताप्रति उत्तरदायी र जिम्मेवार भएनन् । हालै प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आफ्ना प्रमुख सल्लाहकार कुमार बेनको घरमा पुगेर नाचे । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जनताले उनलाई सल्लाहकारको घरमा गएर नाच भनेर पदमा पुर्याएका हुन् ? सल्लाहकारको घर वरपरको घरजग्गाको मूल्य बढाइदेऊ ? भनेर देशको जिम्मेवारी दिएका हुन् । गत फागुनको निर्वाचनमा जनताले तिरेको २० अर्ब कर वा ऋण खर्च भएको छ । जनताले पनि घण्टौं हिँडी दिनभर लाइनमा बसेर मतदान गरे । र, रास्वपालाई देशको नेतृत्व सुम्पे । बालेनको नेतृत्वमा सरकार गठन भएको आठ महिना बितिसकेको छ ।
यस अवधिमा सम्झनालायक आट वटासमेत काम भएका छैनन् । जनता महँगी, बेरोजगारीका कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । दुर्भाग्य, देशको प्रधानमन्त्री भने आफ्नो सल्लाहकारको घरमा गएर नाच्नमा व्यस्त छन् । प्रधानमन्त्री सानतिनो पद होइन । यो ठूलो जिम्मेवार हो । तर, वर्तमान प्रधानमन्त्रीको पारा देख्दा त देश जनताद्धारा निर्वाचित होइन, अनिर्वाचित व्यक्तिले चलाइरहेको देखिन्छ ।
भूपू प्रधानमन्त्रीहरु होस् या वर्तमान प्रधानमन्त्रीले कहिकतै जाँदा वा बस्नुअघि निकै सोचविचार गर्न आवश्यक छ । किनकि त्यसको असर दीर्घकालसम्मका लागि पर्छ । बढेको मूल्य त कायम गरिरहन्छ । घट्नका निम्ति त किनबेच ठप्प हुनैपर्छ । यसरी भीआईपीहरुको आडमा दलालहरुले घरजग्गाको मूल्य बढाउँछन् त घरधनीहरुले कोठा भाडा । अनि मर्कामा चाँहि सर्वसाधारण जनता पर्दछन् ।
चर्को मूल्य हालेर घरजग्गा किन्ने वा कोठामा बस्न उनीहरु बाध्य हुन्छन् । तर, किनेकै मूल्यमा पछि घरजग्गा बिक्री हुन्छ भन्ने के ग्यारेन्टी ? मूल्य स्वाट्टै घट्यो भने त उनीहरु नराम्ररी डुबाउँछन् । दलालीहरुको त काम नै जनता डुबाउने हो । तर, जनताको धनसम्पत्तिको सुरक्षा गर्नु सरकार र सत्तामा बसिसकेका व्यक्तिहरुको हो । त्यसकारण उनीहरु सचेत हुन आवश्यक छ । सँगै राजनीतिक दलका शीर्ष नेताहरु जहाँ बस्यो, त्यहँीको घरजग्गाको मूल्य बढाउनेहरुमाथि कडा कारबाही गरिनुपर्छ ।
(तस्विर समाचारसंग सम्बन्धित छैन्)
प्रतिक्रिया