November 24, 2026, 9:03 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » बालेनको भारत भ्रमण उपलब्धिविहीन ! एसडी मुनिले खोले भारतको हवाई रुट प्रस्तावभित्रको चीन कार्ड » एनभिडियामा जेन्सेन हुआङको नाटकीय पुनरागमन, मुख्यालयमा कर्मचारीको भव्य स्वागत ! » सुन-चाँदीको मूल्यमा वृद्धि, आज कति पुग्यो प्रतितोला ? » गुरु नानकको जन्मजयन्ती आज मनाइदै

प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

मंसिर ८, २०८३ मा प्रकाशित | १६०४ दर्शक तीव्रखबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

काठमाडौं / काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ धितालथोक डेरा गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-२ घर भएका २२ वर्षीय धिरज तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९७ ग्राम ६ सय ७० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंबाट खटिएको प्रहरीले धिरजको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

          यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण शिवपुरी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही नगरपालिका-४ गोकर्ण बस्ने सिन्धुली घर भएका ३० वर्षीय कृष्ण बहादुर भुजेल समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

           रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५५ ग्राम ७ सय ४० मिलिग्राम सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोरखपुर कोतवाली बेनीगञ्ज घर भएका ३५ वर्षीय मनिष सिंह, ३४ वर्षीय तनबिर मुसलमान र कपिलवस्तु मायादेवी गाउँपालिका-६ घर भएका २९ वर्षीय सफिक मुसलमान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

          झापा, दमक नगरपालिका-९ प्रधान टोल बस्ने २५ वर्षीय युनिक श्रेष्ठ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले युनिकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-५ गुँरास टोल बस्ने ४९ वर्षीया गिता देवी राय सँग खरिद गरेको भन्ने खुल्नासाथ गिताको कोठा तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ७० मिलिग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

          काभ्रे, बेथानचोक गाउँपालिका-४ प्रावलटोलबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ९ सय ग्राम र पोलेन करिब १ सय २३ ग्राम सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ३५ वर्षीय सागर केसी समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.६१ प ८९४० र बा.प्र.०२-०२६ प ११९२ नम्बरका मोटरसाइकलहरू समेत बरामद गरेको छ ।

          कास्की, पोखरा महानगरपालिका-१४ बेलचौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही महानगरपालिका-१४ चाउथे घर भएका २९ वर्षीय रवी तिमिल्सिना समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

          बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित दाङ तुलसीपुर उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय अर्जुन वलीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

          कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २९ वर्षीय गौरव भट्ट कपाडीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको प्रहरीले म.२ प ५७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

          यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-२ उल्टाखामबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय लक्ष्मण कपाडीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

          सुनसरी, धरान उपमहानगरपालिका-२ माछाभौडीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय अभिषेक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

हत्या गरेको अभियोगमा पक्राउ

रूपन्देही /  आफ्नै श्रीमान् ५२ वर्षीय कमल कुमालको हत्या गरेको अभियोगमा गैडहवा गाउँपालिका-८ शिव मन्दिरटोल बस्ने ५० वर्षीया लक्ष्नी कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्नीले दाउरा प्रहार गर्दा कमल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका कमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने पाल्पा तानसेन नगरपालिका-५ घर भएका २६ वर्षीया माल्भिका रावल र ललितपुर ललितपुर महानगरपालिका-२४ बस्ने ४२ वर्षीय सन्तोष खड्का रहेका छन् ।

पक्राउ मध्ये माल्भिकाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ र सन्तोषले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले माल्भिका र सन्तोषलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काभ्रे / धुलिखेल नगरपालिका-१२ शंखुस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय बलराम थापा समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

          जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५१ हजार ५ सय ४५ रूपैयाँ, कौडा १६ थान र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं / बर्दिया, बाँसगढी नगरपालिका-५ विद्युत चोकस्थित सडकमा सु.प.प्र.०१-००१ क २९५९ नम्बरको मिनी ट्रकको ठक्करबाट साइकलयात्री हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१ रामनगर भतेरी जङ्गलस्थित सडकमा बा.प्र.०६-००१ ख ०३३७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं / पर्सा, कालिकामाई गाउँपालिका-३ हरिहरपुर विर्ता बस्ने मनु हजारको घरमा सोमबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

          यसैगरी पर्सा, बिन्दवासिनी गाउँपालिका-५ प्रसौनिभाठा बस्ने ईस्लाम अहमदको गोठमा सोमबार बेलुकी आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

          महोत्तरी, मनरा शिसवा नगरपालिका-१ बस्ने ५५ वर्षीय भोला मालीको गोठमा सोमबार राति आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

          सर्लाही, बागमती नगरपालिका-१ हिरे डाँडा बस्ने राम बहादुर बलको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख २० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

          बारा, कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने ६५ वर्षीय रतन महरा चमार समेत ३ जनाको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब १० लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

          प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *