November 20, 2026, 3:46 am
» सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन » आजको मौसम : कोशी, मधेस र बागमतीसहितका प्रदेशमा आंशिक बदली हुने » आज हरिबोधिनी एकादशी : देशभर तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै » चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य » २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

आज हरिबोधिनी एकादशी : देशभर तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

मंसिर ४, २०८३ मा प्रकाशित | १६०४ दर्शक तीव्रखबर

काठमाडौं।  कार्तिक शुक्ल एकादशीका दिन आज औषधीय गुणले भरिपूर्ण तुलसीको विशेष पूजा–आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ।

हरिबोधिनी एकादशीका दिन भगवान् दामोदर (विष्णु) सँग तुलसीको विवाह र विशेष पूजा गरेर मनाउने वैदिक सनातनी परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने विश्वास रहेकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी भन्ने गरिएको हो।

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिना विष्णुका भक्तहरूले तुलसीको व्रत बसी विशेष पूजा–आराधना गर्छन्। भगवान् विष्णु क्षीरसागरमा सुतेको मानिने भएकाले यी चार महिना विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा छ। यस अवधिमा खोला तथा नदीनालामा बाढीपहिरोको जोखिम हुने र सर्पलगायतका जीवको भय रहने भएकाले यात्रा नगर्नु नै शुभ मानिन्छ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठलाई आज गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सिँगारेर विष्णुसँग तुलसीको विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन दामोदरसँग तुलसीको विवाह गर्ने परम्परा बसेको हो।

तुलसीको मठ नजिकै भगवान् विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गर्ने चलन छ। कार्तिक महिनाभर सबै देवीदेवता तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताए।

आदिकालदेखि पूजा गरिँदै आएको तुलसीको महिमा वैज्ञानिक दृष्टिकोणले समेत अत्यन्त लाभदायक प्रमाणित भएको छ। त्यसैले तुलसीको मठ भएको घरलाई तीर्थसमान मानिन्छ। तुलसीको सुगन्धले दशै दिशा पवित्र हुने विश्वास गरिन्छ। तुलसीको पूजा गरिने घरमा यमदूतसमेत पस्दैनन् भन्ने धार्मिक आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरआँगनमा तुलसीको मठ बनाउँछन्।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायतका रोगका लागि अचुक औषधि मानिन्छ। यो रस शरीरमा दलेर सुतेमा लामखुट्टेले टोक्दैन भने तुलसीको मठ भएको स्थान वरपर विषालु सर्पसमेत आउँदैनन्।

मठ आसपास बहने हावाले वातावरणका विषालु कीटाणु नष्ट गर्छ। मलेरिया रोग फैलाउने वायुलाई नष्ट गर्न सक्ने शक्ति तुलसीमा रहेको तथ्य आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ। शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधिका रूपमा लिइन्छ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा मात्र तुलसीपत्र भगवान् विष्णुलाई चढाउँदा १० हजार गाई दान गरेबराबरको फल प्राप्त हुने व्याख्या गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ। रात्रिमा ‘गोविन्द उठ्नुस्, तिमी सुते जगत् सुत्छ, तिमी उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ।

यसको प्रतीकात्मक अर्थ मानवका पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र मन गरी ११ वटै इन्द्रियलाई वशमा राख्नु हो। चार महिनासम्म उपासना गरेर श्रद्धाभक्तिपूर्वक हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुको विशेष पूजा गर्दा यी ११ वटै पक्ष जागृत हुने विश्वास गरिन्छ।

यस अवसरमा किसानहरूले तुलसीको मठमा उखुको बोट गाड्ने गर्छन्। आजका दिन अन्न ग्रहण गर्न नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने चलन छ। यसरी व्रत बस्दा पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।

ठूलो एकादशीसमेत भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरेबराबरको फल दिने शास्त्रीय मान्यता छ। कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक स्मरण गरी गरिने स्नान, दान, जप र होमले विशेष फल दिने तथा सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ।

आजका दिन काठमाडौं उपत्यकाका चार नारायण-भक्तपुरको चाँगुनारायण तथा काठमाडौँका शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा विशेष मेला लाग्छ। ती स्थानमा जान नसक्ने भक्तजनले काठमाडौंको उत्तरतर्फ रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरेबराबरको फल पाउने विश्वास छ। आजै देशभरका नारायणस्थान र मन्दिरहरूमा विशेष पूजा-आराधना गरी यो पर्व मनाइन्छ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने नारायणस्थान मठका मठाधीश स्वामी निगमानन्दले जनाए। बूढानीलकण्ठमा हरि (विष्णु) र हर (शिव) दुवै देवताको मूर्ति छ। एउटै विशाल ढुङ्गामा हरि र हर दुवैको मूर्ति कुँदिएको विश्वकै दुर्लभ शिला मानिने भएकाले यहाँ वार्षिक लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

उपत्यकाका चार नारायण र बूढानीलकण्ठका साथै देशभरका नारायण मन्दिरमा आज भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ। आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन गर्न साइत हेराउनु नपर्ने धार्मिक मान्यता छ। त्यसपछि भने हवन (होम) जुरेको दिन पारेर मात्र तुलसी पूजा उद्यापन गर्नुपर्ने विधि छ। यससँगै चारमहिने विशेष तुलसी पूजा विधिवत् रूपमा समापन हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *