तीव्रखबर
काठमाडौँ। नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका नेता-कार्यकर्ताको विश्वास कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
काठमाडौँको कार्की ब्यांक्वेटमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू कुनै पनि पदप्रति आशक्त नरहेको स्पष्ट पारेकी छन्। देशको सर्वोच्च संवैधानिक पद मानिने राष्ट्रपतिको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेको उल्लेख गर्दै उनले पार्टी राजनीतिमा फर्कनुको उद्देश्य कुनै व्यक्तिगत पद, सुविधा वा अवसर हासिल गर्नु नरहेको प्रस्ट्याइन्।
पार्टीको वैचारिक विकास, संगठनको सुदृढीकरण, सामाजिक-आर्थिक रूपान्तरण तथा राष्ट्रिय दायित्व पूरा गर्नका लागि आफू राजनीतिमा सक्रिय रूपमा फर्किएको उनको भनाइ छ।
कलिलो उमेरदेखि नै नेकपा एमालेको सङ्गठन निर्माण, लोकतान्त्रिक आन्दोलन, राष्ट्रियताको संवर्द्धन र विभिन्न राजनीतिक जिम्मेवारीमा आफू तल्लीन रहेको उनले स्मरण गरिन्।
पार्टीकै आधिकारिक निर्णयअनुसार राष्ट्रपतिको निर्वाचनमा सहभागी भई विजयी भएको र करिब सात वर्षसम्म संवैधानिक मर्यादाभित्र रहेर देश र जनताको हितमा निष्पक्ष ढङ्गले काम गरेको उनले बताइन्।
प्रतिक्रिया