तीव्रखबर
काठमाडौं। मुलुकको संघीय राजधानी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबिसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै राजधानीलाई चौबीसै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएका छन्।
यसअघि विसं २०८१ वैशाख १ गते तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई २४ घण्टा खुला गरिसकिएको छ।
काठमाडौं देशको अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्थापनसहित सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसीटिभी र सडक बत्तीलगायतका न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको प्रजिअ पौडेलले बताए।
यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध गरी २४ घण्टा खुला गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौं जिल्लाभित्र व्यापार, व्यवसाय तथा बजार क्षेत्रसमेत चौबीसै घण्टा सञ्चालन गर्ने यस अभियानलाई सफल बनाउन स्थानीय तह, विभिन्न निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने भएको छ।
प्रतिक्रिया