तीव्रखबर
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र द्विपक्षीय हितका विविध विषयमा केन्द्रित रहेर उक्त भेटवार्ता भएको हो। प्रधानमन्त्री बालेन आगामी मंसिर ६ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ।
सोही सन्दर्भमा भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
सचिवालयका अनुसार भेटवार्तामा राजदूत दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए।
साथै, उनले प्रधानमन्त्रीको भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारीसमेत गराएका छन्।
सो अवसरमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। त्यसैगरी, नेपालमा आएको रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति प्रधानमन्त्रीले विशेष आभारसमेत व्यक्त गरेका थिए।
भेटका दौरान नेपाल र भारतबीचको वर्षौं पुरानो ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र प्रगाढ बनाउने विषयमा समेत महत्त्वपूर्ण छलफल भएको छ।
प्रतिक्रिया