November 16, 2026, 3:04 pm
» ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै » जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध » घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय » मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

खेलकुदमाथि सरकारकै खेलबाड : राष्ट्रिय खेलकुदको महाकुम्भ आउनै लाग्दा पनि परिषद् नेतृत्वविहीन

कार्तिक ३०, २०८३ मा प्रकाशित | २८०४ दर्शक तीव्रखबर

काठमाडौं । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउनै लाग्दा पनि त्यसको व्यवस्थापन गर्नु पर्ने मुख्य दायित्व बोकेको राष्ट्रिय खेलकुद परिषद् भने नेतृत्वबिहीन अवस्थामा छ । वर्तमान सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै नेतृत्वबिहीन बनेको परिषद्मा हालसम्म पनि सरकारले पदाधिकारीहरुको नियुक्त गर्न नसकेको हो ।

सरकारले अध्यादेश जारी गरेपछि गत बैशाख २२ गते एकैपटक खेलकुद परिषद्का तत्कालीन उपाध्यक्ष ध्रुब आचार्यसहितका ४४ जना पदाधिकारी तथा सदस्यहरु एकै पटक पदमुक्त भएका थिए । प्रधानमन्त्री संरक्षक र विभागीय मन्त्री पदेन अध्यक्ष रहने परिषद् त्यसयता नेतृत्वबिहीन अवस्थामा छ ।

परिषद्को उपाध्यक्ष तथा कार्यकारी प्रमुखका रुपमा रहने सदस्य सचिवसहितका पदाधिकारी र सदस्यहरु शिक्षा तथा खेलकुद मन्त्रीको सिफारिसमा संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले नियुक्त गर्ने गरिएको छ । खेलकुद विकास ऐन, २०४८ लाई प्रतिस्थापन गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि यस्तो व्यवस्था गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि परम्परागत राजनीतिक दलहरुले आफन्त, नातागोता र स्वार्थ समूहका मानिसहरुलाई राजनीतिक नियुक्ति दिएर राज्यदोहन गरिएको र नयाँ शक्तिको रुपमा उदय भएको रास्वपाले आफ्नो तरिकाले जनपक्षीय काम गर्न पुराना नियुक्ति बाधक बन्ने भन्दै सरकारले अध्यादेश ल्याएर सरकार मातहत रहेका संस्थानहरुका पदाधिकारीहरुलाई हटाएको थियो । प्रधानमन्त्री साहकै भाषमा भन्ने हो भने पनि ‘यो सरकार ननस्टप गाडी हो, गन्तव्यमा नपुगेसम्म ब्रेक लाग्दैन ।’ तर, अध्यादेशले पदाधिकारीबिहीन बनेका विभिन्न निकायहरुमा पदपूर्ति हुँदा पनि खेलकुद परिषद् नै पदाधिकारीबिहीन हुनुपर्ने अवस्थाले प्रधानमन्त्रीको भनाइ र गराइमा किन यस्तो अन्तर भएको हो ? प्रश्न उठेको छ ।

हाल उक्त परिषद्को पदेन अध्यक्ष शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल छन् । मन्त्रालयका एक अधिकारीका अनुसार सरकारको प्रवक्तासमेत रहेका पोखरेलले परिषद्मा पदाधिकारी नियुक्तिका लागि खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरुसँग छलफल चलाउने सोचमा छन् । नाम र पद उल्लेख नगर्न आग्रह गर्दै उनले भने –‘अहिले त पहिलेको जसरी आफूलाई थाहा भएको सूचना दिन पनि धेरै पटक सोच्नुपर्छ । मन्त्रालयको गतिविधिका बारेमा चुईंक्क बोल्ल पाईंदैन । मन्त्रीज्यूले राष्ट्रिय खेलकुद परिषद्मा पदाधिकारी नियुक्त गर्ने प्रक्रिया सुरु गर्नुपर्ने हो । सायद अब प्रक्रिया अगाडी बढ्छ होला ।

युवाहरुको सरकार भएर पनि खेलकुद क्षेत्रको प्रमुख निकाय राष्ट्रिय खेलकुद परिषद्मा पदाधिकारी नियुक्त नहुँदा मन्त्रालयमा सम्बन्धित क्षेत्रका व्यक्ति र संस्थाहरुबाट ब्यापक गुनासो आउने गरेको उनले सुनाए । अझ १० औं खेलकुद प्रतियोगिता नजिकिँदासमेत परिषद् नेतृत्वबिहीन हुनु लज्जाको विषय भएको भन्दै मन्त्रालयको आलोचना हुनु अर्को दुखद् कुरा भएको उनको भनाइ रहेको छ ।

खेलकुद क्षेत्रका अगुवाहरुले युवा मन्त्री हुँदाहुँदै पनि परिषद्लाई त्यसरी पदाधिकारीबिहीन अवस्थामा राख्नु मन्त्रीको गैरजिम्मेवारी रहेको आरोप लगाएका छन् । परिषद्का पूर्व सदस्यसचिव युवराज लामाले जनताले आश गरेको भनेर दाबी गर्ने शक्तिले नै यसरी त्यो निकायलाई पंगु बनाउन खोजेको आरोप लगाए । देशको गौरवको रुपमा रहेको राष्ट्रिय खेलकुद प्रतियोगिता जस्तो ‘खेल क्षेत्रको महाकुम्भ’ को मुखमा आइपुग्दा पनि परिषद् पदाधिकारीबिहीन हुनु खेल क्षेत्रका लागि अभिशाप भएको लामाको गुनासो छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय ती अधिकारीले निजामति कर्मचारीहरुको काममा सरकारको व्यापक हस्तक्षेप रहेको कारण पनि परिषद्मा पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाउन नसकिएको बताए । तीब्रखबर डटकमसँगको जिज्ञासामा उनले कानूनअनुसार यसरी जाने भनेर सल्लाह दिनसमेत डराउनु पर्ने अवस्था रहेको जानकारी दिए । ‘अहिले त मन्त्रालयगत निर्णय गर्न पनि मन्त्रालयलाई छुट छैन । प्रधानमन्त्री कार्यालयबाट खटिएका व्यक्तिहरुले हरेक दिन अनुगमन गर्छन् । उहाँहरुलाई रिपोर्टिङ गरेर उहाँहरुले उता सबै कुरा बुझाएर प्रधानमन्त्री कार्यालयको अनुमति आएपछि बल्ल मन्बालयगत निर्णय हुने हो ।’–उनले भने ।

राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब जम्मा दुई हप्ता
खेल क्षेत्रको महाकुम्भका रुपमा लिइने १० संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब जम्मा दुई हप्ता बाँकी छ । यस पटकको यो प्रतियोगित यही मंसिर १६ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुन लागेको हो । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि प्रतियोगिताको सुरु भने मंसिर ८ गतेबाटै हुन लागेको छ । यसरी हेर्ने हो भने यो प्रतियोगिता सुरु हुन अब एक हप्ता पनि छैन ।

मंसिर ८ गतेबाट पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलमा प्रतिस्पर्धा सुरु गर्ने तयारी रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन चन्दको भनाइ रहेको छ । उनका अनुसार सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी, साइक्लिङ, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु, बक्सिङ ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, इस्पोटर्स सेपाक ताक्रोसहित २३ खेल खेलाइनेछ ।

त्यसैगरी दैलेखमा आइटिएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू खेलाइनेछ भने लुम्बिनी प्रदेशको नेपालगञ्जमा पौडी र सुटिङका खेलहरू तथा बर्दियामा टेनिस र खो–खोका खेल खेलाइने सदस्य–सचिव चन्दले बताए ।

राष्ट्रिय खेलकुद परिषद्को संघीय समिति त पदाधिकारीबिहीन छ, यस्तो अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या हुन्न र ? भन्ने तीब्रखबरको प्रश्नको जवाफमा सदस्य सचिव चन्दले पदाधिकारी हुनु र नहुनुमा आकाश–जमिनको फरक हुने बताए । ‘पदाधिकारी हुनु र नहुनुमा त आकाश–जमिनको अन्तर हुन्छ नि । यो त राष्ट्रिय स्तरको ठूलो प्रतियोगिता हो । जहाँसम्म सरकारले यसमा विवेक पुर्‍याएर चाँडो निर्णय गर्छ होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *