तीव्रखबर
रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरिएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ ।
यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकेर नष्ट गरिएको थियो भने दक्षिणपश्चिमी क्षेत्रको खमिस मुशैतलाई लक्षित गरी प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र पनि नष्ट गरिएको थियो ।
यसअघि आइतबार साउदी अरबका दुई विमानस्थललाई लक्षित गरी आक्रमण गरिएपछि क्षेत्रमा तनाव थप चुलिएको छ । साउदी उड्डयन अधिकारीहरूका अनुसार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य ११ जना घाइते भएका थिए ।
दमामनजिकै रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल पनि आक्रमणको निशानामा परेको जनाइएको छ । यसअघि शनिबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको साउदी अधिकारीहरूले बताएका थिए ।
लगातार भइरहेका आक्रमण र प्रत्याक्रमणका घटनाले साउदी अरब र यमनका हुथी विद्रोहीबीचको तनाव थप बढाएको छ ।
प्रतिक्रिया