October 13, 2026, 11:11 am
» कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित » पनामामा भूकम्पपछि आपतकाल घोषणा » नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार » प्रचण्ड रसुवा-भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी » बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

अशोज २६, २०८३ मा प्रकाशित | २९०४ दर्शक तीव्रखबर

काठमाडौं — नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीलाई पदीय अधिकारको दुरुपयोग नगर्न र जनताप्रति जिम्मेवार, इमानदार तथा उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकारको दुरुपयोगले प्रहरी सङ्गठनको प्रतिष्ठामा आँच पुग्ने बताए।

महानिरीक्षक कार्कीले प्रहरी नेतृत्व आदेशबाट मात्र नभई आफ्नो व्यवहार र उदाहरणबाट स्थापित हुनुपर्नेमा जोड दिए। दीक्षित हुने प्रहरी निरीक्षकहरूलाई बधाई तथा शुभकामना दिँदै उनले शपथअनुसार जनताप्रति संवेदनशील र सेवाभावका साथ काम गर्न निर्देशन दिए।

उनले सेवाग्राहीसँगको व्यवहार, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबल, अनुशासन, समुदायसँगको सम्बन्ध तथा कठिन परिस्थितिमा गरिने निर्णयबाट नेतृत्वको वास्तविक मूल्याङ्कन हुने बताए।

‘प्रहरीको पोसाकले परिचय दिएजस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउँछ,’ उनले भने, ‘प्रहरीको पदले अधिकार दिन्छ, तर चरित्रले उक्त अधिकारलाई वैधता दिन्छ। त्यसैले पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुँदैन।’

तालिम सम्पन्न भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा अब सुरु हुने उल्लेख गर्दै उनले प्रहरी निरीक्षकको पद केवल दर्जा मात्र नभई निर्णय क्षमता र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्त्वपूर्ण परीक्षा भएको बताए।

उनले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषबाट मुक्त भई निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। यही नै प्रहरी सेवाको मूल नैतिक आधार भएको उनको भनाइ थियो।

समारोहका प्रमुख अतिथि प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गरे। प्रशिक्षार्थीहरूले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए भने नेपाल सङ्गीत विद्यालयले साङ्गीतिक धुन प्रस्तुत गरेको थियो।

नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरे। पुरस्कार प्राप्त गर्नेमा अध्ययन विधातर्फ चोपबहादुर डेंगा, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धितर्फ गोपाल राई, प्रहरी युक्ति तथा कारबाहीतर्फ रामकुमार जिटी, चाँदमारीतर्फ विकासकुमार धामी, सर्वतृतीयतर्फ विशाल पौडेल र सर्वद्वितीयतर्फ बालकृष्ण पोख्रेल रहेका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले दीक्षित हुने प्रहरी निरीक्षकहरूलाई शपथ गराएका थिए। प्रशिक्षार्थीहरूले धार्मिक ग्रन्थ स्पर्श गरी शपथ ग्रहण गरेका थिए।

समारोहमा प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त समूहबाट कुल ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *