तीव्रखबर
काठमाडौं — नेपाली कांग्रेसकी नवनिर्वाचित महामन्त्री डिला संग्रौलाले पार्टीभित्रको विभाजन अन्त्य गर्दै छरिएको कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने बताएकी छन्।
महामन्त्रीमा निर्वाचित भएपछि संग्रौलाले महिला सहभागिता वृद्धि, स्थानीय तहको निर्वाचनको तयारी र तल्लो तहका कार्यकर्तामा देखिएको निराशा चिर्नुलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताइन्।
‘महिला सहभागिता बढाउनु, स्थानीय तहको निर्वाचन फेस गर्नु, तल्लो तहमा देखिएको कार्यकर्ताप्रतिको वितृष्णालाई चिर्नु र छरिएको कांग्रेसलाई एक बनाएर अगाडि जानु हाम्रो प्रमुख काम रहन्छ,’ उनले भनिन्।
उनले आफूहरूमाथि ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र स्थानीय तहको निर्वाचनमा सक्रिय रूपमा खटिएर जनताको मनोभावना बुझ्ने आफ्नो प्रमुख दायित्व रहेको बताइन्।
संग्रौला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पहिलोपटक महिला महामन्त्रीमा निर्वाचित भएकी हुन्। यसअघि पार्टीको विधानमा महिला महामन्त्री अनिवार्य गर्ने व्यवस्था थिएन। यसपटक विधान संशोधन गरी महिला महामन्त्रीको व्यवस्था गरिएको हो।
महिला महामन्त्री पदका लागि संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ बीच मुख्य प्रतिस्पर्धा भएको थियो। यसअघि नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छन्।
प्रतिक्रिया