तीव्रखबर
काठमाडौँ — हिन्दू नेपाली महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर शिव–पार्वतीको पूजा–आराधना गर्दै मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा गरेमा पारिवारिक सुख, शान्ति तथा कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद्हरूका अनुसार तीजको व्रत महिला र पुरुष दुवैले बस्न सक्ने धार्मिक परम्परा छ। परम्परागत रूपमा महिलाले श्रीमान्को दीर्घायु र पारिवारिक सुखको कामनाका लागि व्रत बस्ने प्रचलन भए पनि यसको धार्मिक दायरा त्यतिमै सीमित नरहेको उनीहरूको भनाइ छ।
व्रतका क्रममा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन्। उनका अनुसार निराहार, जलाहार र फलाहार गरी व्रतका तीन प्रकार छन्। स्वास्थ्यले साथ दिए निराहार बस्न सकिने भए पनि नसक्नेले पानी वा फलफूल सेवन गरेर व्रत गर्न सकिन्छ।
गौतमका अनुसार स्वास्थ्य कमजोर भएका व्यक्तिले गहुँ वा मकैको रोटी तथा स्याउ, सुन्तला, केरा लगायतका फलफूल सेवन गरेर पनि व्रत बस्न सक्छन्। धार्मिक आस्थासँगै आफ्नो स्वास्थ्यको संरक्षणलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव छ।
प्रतिक्रिया