September 19, 2024, 10:05 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

सबै प्रदेशमा सत्ताहीन बन्दै माओवादी

असार ३१, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं : विस्तृत शान्तिसम्झौतापछि पटकपटक सत्ताको स्वाद चाखिरहेको नेकपा (माओवादी केन्द्र) अबदेखि सत्ताहीन बन्ने सन्निकटमा पुगेको छ। पटकपटक एमाले कांग्रेससँगको सहयात्रा फेरिफेरि सत्तामा पुगेको माओवादी अरू कसैका कारण होइन्, आफ्नै चलाखीपनले सत्ताहीन बन्न थालेको विपक्षी दलका नेताहरूले टिप्पणी गरेका छन्। केन्द्रदेखि विभिन्न प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहयात्रापछि एक्लिएको हो।

माओवादीले आफ्नो पटक क्षेत्रको रूपमा लिने प्रदेश हो लुम्बिनी। यस प्रदेशमा अहिले प्रदेश प्रमुख अमिक शेरचन, सभामुख तुलाराम घर्तीमगर र मुख्यमन्त्री जोखबहादुर महरा माओवादीकै छन्। प्रदेशमा हुने यी तीन शक्तिशाली पद कुनैबेला एमाले त कुनैबेला कांग्रेसको साथ लिएर माओवादीले आफ्नो पोल्टामा पार्‍यो। तेस्रो दल हुँदा पनि यी शक्तिशाली पद माओवादीले आफैं नेतृत्व गरिरहेको छ। महरासँगै रोल्पाका कुलप्रसाद केसी (सोनाम) पनि यसअघि मुख्यमन्त्री बनेका थिए।

केन्द्रमा सत्ता फेरिएसँगै सबैभन्दा धेरै चोट माओवादीलाई लुम्बिनीमा परेको सोही पार्टीका नेता, कार्यकर्ताहरू सुनाउँछन्। लुम्बिनी प्रदेशमा कुल ८७ सांसद् छन्। बहुमतका लागि ४४ सांसद् आवश्यक पर्छ। तर, एमाले र कांग्रेसमात्रै मिल्दा ५६ सांसद् पुग्छन्। यहाँ सरकारको नेतृत्वले नेकपा एमालेले पाउने देखिएको छ। एमालेका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्दैछन्। गिरी यसअघि पनि मुख्यमन्त्री भइसकेका हुन्।

माओवादीले आफ्नो आधार क्षेत्रको रूपमा लिने अर्को प्रदेश हो कर्णाली। यस प्रदेशमा पनि उक्त पार्टीले सरकारको नेतृत्व गरेको थियो। नेता महेन्द्रबहादुर शाही र राजकुमार शाहीले यो प्रदेशको नेतृत्व गरेका थिए। अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले र कांग्रेसले आधाआधा कार्यकाल लिँदैछन्। कर्णालीमा कुल प्रदेशसभा सदस्य ४० जना छन्। बहुमतका लागि २१ मत आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २३ मत हुन्छ। कांग्रेसका १३, एमाले १०, माओवादी १३, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रको एक÷एक जना सांसद् छन्। नयाँ बन्ने सरकारको नेतृत्व प्रदेशमा पनि एमाले कांग्रेसले भागबन्डा गरेका छन्। तर, मधेस प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री छन्। उनलाई एमालेले साथ दिएको हो। अबको बाँकी अवधि सिंहपछि एमाले, कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

अस्तित्व रक्षाको संकटमा

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्युठानका प्रतिनिधिसभा सदस्य सूर्य थापाले माओवादी अस्तित्व रक्षाको संकटमा पुगेको टिप्पणी गरे। ‘कि एमाले, कि त कांग्रेसको साथले सरकारको नेतृत्वमा पुग्यो’, थापाले भने, ‘प्रचण्डको आत्मरति, चञ्चलपन, चुलबुले र अराजनीति प्रवृत्तिले अब काम गर्दैन।’ नेता थापाले एमालेको साथमा बनेको माओवादी नेतृत्व सरकारको सुरुदेखि नै विरोध गर्दै आएका थिए। प्यूठानबाट पहिलोपटक संघीय सांसदमा निर्वाचन भएर काठमाडौं फर्किंदासमेत बुटवलमा थापाले सञ्चारकर्मीसँग प्रचण्डको नेतृत्वको सरकार बने आफूले संसद्भित्र र बाहिर विरोध गर्ने खरो रूपमा प्रतिक्रिया दिएका थिए। नेपाल सरकारका अर्थमन्त्री एवं माओवादी रोल्पाका नेता वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट भाषण गरिसकेपछि पनि सांसद् थापाले बजेटमाथि कडा टिप्पणी गरेका थिए।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदैछन्। शपथग्रहण सोमबार मात्र हुने भएको छ। सम्भवतः सोमबार मन्त्रिमण्डल विस्तार हुने नेताहरूले बताएका छन्। केन्द्रमा सरकार बनेपछि मात्र प्रदेशमा सरकार बन्ने कसरत सुरु हुनेछ।

प्रतिक्रिया