December 22, 2024, 11:54 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

नगरपालिकासंग ‘पैसा असुल्दै’ सूचनाको हकका महासचिव साह र कोशी प्रदेश संयोजक खान सूचनाको हकका लागि राष्ट्रिय महासंघमा अनियमितता

कार्तिक २४, २०८१ मा प्रकाशित | २३७०दर्शक तीव्रखबर

– पवित्रमणी शर्मा
काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय महासचिव अजयकुमार साह र कोशी प्रदेश संयोजक नजबुल खान (निलम)ले उदयपुरको त्रियुगा नगरपालिकालाई दबाब दिएर कोशी प्रदेश अधिवेशनमा जाँदा गाडी भाडाका साथै होटल बास र खानावापत भन्दै पैसा अशुलेको प्रमाण तीव्रखबरले प्राप्त गरेको छ ।
गत वर्ष चैत महिनामा सम्पन्न प्रदेश अधिवेशनमा उदयपुरको गाइघाटबाट कोशी प्रदेशको राजधानी बिराटनगर जान महासचिव साह र प्रदेश संयोजक खानले नगरपालिकासँग रु ५० हजार लिएको प्रमाणसहित नगरपालिका स्रोतले त्यससम्बन्धी कागजात तीव्रखबरलाई उपलब्ध गराएको हो । नगरपालिकाले उपलब्ध गराएको कागजातका अनुसार पैसा प्रदेश संयोजक खानले माग गरेका थिए । नगरपालिकाले भु्क्तानी गरेको दस्तावेज तीव्रखबरसँग सुरक्षित छ ।
धरासायी बनेको पत्रपत्रिका तथा सञ्चार क्षेत्रको प्रवद्धनका लागि छुट्याइँदै आएको पत्रपत्रिका तथा सञ्चार खर्चबाट नगरपालिकाले महासंघ कोशी प्रदेशको लेटरप्याडमा आएको निवेदनमा तोक लगाएर पैसा दिएको देखिन्छ । नगरपालिका स्रोतका अनुसार महासचिव साह र प्रदेश संयोजक खानले माग गरेको पैसा नदिए सूचना माग गरेर अप्ठ्यारो बनाउने धम्की दिएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत लेखाका कर्मचारीले रु ५० हजार भुक्तानी गर्न बाध्य भएको थियो ।
यत्रो महासंघको महासचिव दावी गर्ने साहले बिराटनगर जाने भाडाकै लागि नगरपालिकासँग पैसा माग गर्नु लाजमर्दो भएको ती कर्मचारीले सुनाए – ‘महासचिव साह र प्रदेश संयोजक खानले उदयपुरका स्थानीय तहमा हामी सूचनाको महासंघमा छौँ हामीले भने अनुसार नगरे जे पनि हुनसक्छ भन्दै धम्की दिएर कर्मचारीलाई तर्साउने गरेका छन् ।’
नगरपालिकाबाट लिएको रु ५० हजारमध्ये रु ३२ हजारमा स्कर्पियो गाडी रिजर्व गरी बिराटनगर गएको र होटलबास र खानाको रु १८ हजार नगरपालिकाले तिरेको कागजातमा उल्लेख छ । महासंघ प्रदेश समितिका एक सदस्यका अनुसार संयोजक खानले यसैगरी महासचिवसँग मिलेर सूचनाको हकका नाममा सार्वजनिक निकायसँग असुली गर्नका लागि प्रदेश संयोजक पद छोड्न मानेनन् । सूचनाको हकमा काम गर्ने प्रदेशमा खानभन्दा अरु काबिल मानिस हुँदा हुँदै उनले पद छोड्न नमानी दोहोर्याएका हुन् ।
होटल बास र खानाका नाममा नगरपालिकासँग लिएको पैसाबाट महासचिव साह र प्रदेश संयोजक खानले नगरपालिकालाई हिसाबकिताब देखाएपनि बिराटनगरमा बस्ने र खाने व्यवस्था छुट्टै गरिएको थियो । यसका लागि राष्टिय सूचना आयोग र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि सहयोग गरेको जानकारी पनि ती सदस्यले दिए ।
त्रियुगा नगरपालिकाका सुचना अधिकारी घनश्याम पोखरेललाई सम्पर्क गर्दा कार्यालय बाहिर रहेकाले कागजात हेरेर जानकारी दिने बताए ।
महासंघका महासचिव साह र प्रदेश संयोजक खानलाई पटक पटक फोन गर्दा पनिे मोवाइल सम्पर्क नहुने र अफ हुने क्रम दोहोरिरह्यो ।

यो पनि पढ्नुहोस्

महासंघकाे अनियमिततामा उपसमितिलाई समेत गुमराह : तीन पदाधिकारीकाे मिलेमतो

एकै पटक सात वटा चेकमा हस्ताक्षर गर्न लगाएपछि कोषाध्यक्षले दिइन् राजीनामा

सुचनाको हक महासंघको नाममा बागचन्द दम्पत्तीको मोजमस्ती

प्रतिक्रिया