January 22, 2025, 7:08 am
» कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट » अष्ट्रेलियाबिरूद्द नेपालको पहिलो फिल्डिङमा » ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन

धर्मानन्द भारवि ऊर्फ भरतराज पौडेलको महर्षि वैदिक फाउन्डेसनमा हालीमुहाली देशभरका यज्ञका नाममा करोडौँ रुपैयाँ अपचलन

पुस ५, २०८१ मा प्रकाशित | ४०३०दर्शक तीव्रखबर

–पवित्रमणी शर्मा
काठमाडौं । नेपाल महर्षि वैदिक फाउन्डेसनमा धर्मका नाममा ठगी गर्नेको बाहुल्यता हुन थालेको तथ्य फेला परेको छ । पशुपति क्षेत्रमा विसं २०६८ तिर पितृ मुक्ति महायज्ञ गरेर जम्मा भएको पैसा लिएर एक वर्षसम्म भूमिगत भएका भरतराज पौडेल ऊर्फ धर्मानन्द भारवि यतिखेर फाउन्डेसनमा सक्रिय रहेको रहस्य खुलेको हो ।

धर्मानन्द भारविले पितृ मुक्ति महायज्ञको पैसा लिएर गायब भएपछिकै समयमा फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटासँग सम्बन्ध बनाएका थिए । विश्व हिन्दू महासंघको हिन्दु राष्ट्र अभियानमा पूर्व सांसद शंकर पाण्डेसँग सक्रिय भएर पनि यिनले लाखौँ कुम्ल्याएर भागेका थिए । पूर्व सांसद पाण्डेलाई हिन्दु राष्ट्र बनाउन अनशनमा राखेर धर्मानन्द भारवि भने व्यापारी र चन्दाताकहाँ गएर पैसा उठाउने गरेका थिए ।

नवलपरासी र रुपन्देहीका विभिन्न स्थानमासमेत यज्ञ गराएर जम्मा भएको रकम पौडेलले अपचलन गरेका थिए । धेरैतिर यज्ञ गरेको पैसा लिएर भूमिगत भइरहेका बेला पौडेलले फाउन्डेसनका अध्यक्ष बास्कोटालाई भेटी आबद्ध भएका हुन् । चाकडी गरेर दुनो सोझ्याउन माहिर पौडेल बदनाम भएको भरतराज पौडेल नामलाई भन्दा धर्मानन्द भारविको बढी प्रयोग गर्ने गर्छन् ।

विभिन्न विषयमा बदनाम पौडेलको फाउन्डेसनमा सक्रियतालाई बास्कोटा परिवारभित्रै पनि मन नपराउनेको संख्या धेरै छ । पैसा भनेपछि मरिहत्ते गनेै पौडेलको प्रतिभा भने गज्जब रहेको चर्चा फाउन्डेसनमै हुने गरेको छ । छन्दमा कविता लेखेर राम्रो लयमा गाएर उनले कार्यक्रम सञ्चालन गर्दा सबैलाई मन्त्रमुग्ध बनाउने गर्छन् । यही क्षमता बुझेका फाउन्डेसनका अध्यक्ष बास्कोटाले पौडेललाई साथमा लिई हिँडेका हुन् । कांग्रेस पृष्ठभूमिका मानिस भएकैले पनि बास्कोटाले पौडेललाई फाउन्डेसनमा राखेका हुन् । छोरी, ज्वाइँलाई भन्दा भरतराज पौडेललाई बढी विश्वास गरेको भन्दै वृद्ध बास्कोटाको परिवारभित्रै आलोचना हुने गरेको छ ।

विसं २०७४ तिर भएको कांग्रेसको केन्द्रीय महाधिवेशनमा बास्कोटाले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका थिए । त्यसको प्रचारमा पौडेल देशव्यापी रुपमा कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई मत माग्न समेत व्यस्त भएका थिए ।
बास्कोटाले पौडेललाई फाउन्डेसको सूचना तथा समाचार हेर्ने जिम्मेवारी दिएका छन् । फाउन्डेसनबाट प्रकाशन हुने महर्षि सन्देश म्यागाजिनका पौडेल सम्पादकका रुपमा रहेको जनाइएको छ । फाउन्डेसनले पछिल्लोपटक गत मंसिरमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको अति रुद्री महाभिषेक र वेद एवं आधुनिक विज्ञान महासम्मेलनलगायत हरेक कार्यक्रममा धर्मानन्द भारवि ऊर्फ भरतराज पौडेलले महत्वपूर्ण भूमिका पाउने गरेका छन् ।

प्राप्त समाचारको विषयमा बुँदागत प्रतिकृया लिँदा पौडेलले यो सबै कुरा कपोलकल्पित र भ्रामक भएको र संस्थामा बद्मासी गरेर निस्किएकाहरुले यस्तो आरोप लगाएको उल्लेख गरे । कुनैपनि यज्ञको रकम आफुले अपचलन नगरेको, सबैको लेखा परिक्षण गरि प्रतिवेदन सार्वजनिक गरेको पौडेलको दावी छ । यस विषयमा तीव्रखबरले थप समाचारको खोजी तीव्र बनाएको छ ।

यो पनि पढनुहोस्

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : मलाई केही नसोध्नु – अध्यक्ष बास्कोटा

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : ‘हिसाबकिताब गुपचुप’ !

महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : पूर्व गृहराज्यमन्त्री बास्कोटाको परिवारले गरे करोडौँ अपचलन

प्रतिक्रिया