January 22, 2025, 6:53 am
» सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

सहकारी ठगीका दुई दर्जन प्रतिवादी फरार : अध्यक्षसँग कसरी भयो अकुत सम्पत्ति ?

पुस २, २०८१ मा प्रकाशित | १२००दर्शक तीव्रखबर

मोरङको धनपालथान गाप ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी सँस्थाको ठगी कसुरमा एक जना पुर्पक्षका लागि प्रहरी हिरासतमा पुगेका छन् । २६ जनामध्ये २५ जना फरार रहेको बताइन्छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला र सहकारी अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । एक महिनादेखि इलाका प्रहरी रंगेलीले अनुसन्धान गरेर बुझाएको अभियोग प्रतिवेदन उपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले उनीहरुविरुद्ध ‘सहकारी ठगी कसुर ऐन’ अन्तर्गत मोरङ जिल्ला अदालततमा बिहीबार मुद्दा दर्ता गराएको हो ।

२२ करोड बिगोसहित दायर मुद्दामा सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा घ, ङ, च , छ, ज र त कसुरमा २६ जनालाई प्रतिवादी बनाइएको छ । कसुर ठहरिएमा सबै अभियुक्तले बिगो र पीडितलाई क्षतिपूर्तिसहित ६ देखि ८ वर्ष कैद सजाय हुन सक्ने छ ।

मुद्दा दर्ता भएकामध्ये हालसम्म एक जना मात्र पक्राउ परेका छन । बाँकी सबैलाई फरार प्रतिबादी बनाएर मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकामा वर्तमान कार्यसमिति सदस्य धनपालथान गाप ४ का ३७ वर्षीय रोशन राजवंशीलाई मोरङ अदालतले शुक्रबार थुनछेक सुनवाई गर्दै पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

उमागौरी कृषी सहकारीको ठगी प्रकरण सार्वजनिक भएपछि कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सांसद पोखरेल पत्नी अञ्जलाको नाम हटाएर अध्यक्ष शम्भुप्रसाद रौनियारसहित १० जना सञ्चालकलाई पक्राउ गर्न प्रहरीमा प्रतिवेदन बुझाएको थियो । सोही आधारमा इप्रका रंगेलीले सहकारी रौनियारसहित १० जनाविरुद्ध २१ कात्तिकमा अदालतबाट  पक्राउ पुर्जी जारी भएको हो । तर एक महिनासम्म कोही पनि पक्राउ परेनन् । पछिल्लो समय राजवंशीलाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि २६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।

यी हुन् प्रतिवादीहरु 

रौनियारसहित उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह हुन् । त्यसैगरी सञ्चालक समितिका सदस्यहरु आमोद मण्डल, जितमान  ठाकुर, रोशन राजवंशी, जितमान ठाकुर पनि प्रतिवादी ठहर भएका छन् । लेखा समितिका संयोजक विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि मुद्दा दायर भएको छ । सञ्चालक समितिका पूर्व सदस्यहरु अन्जला कोइराला, दिलमाया राई, उपासी राजवंशीलगायत छन् ।

प्रहरी हिरासतमा रहेका राजवंशीले अध्यक्ष रौनियारको मिलेमतेमा शेयर सदस्यहरुलाई झुक्याएर प्रलोभनमा ठगी गरिएको प्रहरीलाई बयान दिएका छन् । यस्तै दुई दर्जनबढी पीडितहरुले प्रहरीमा आफुहरुलाई झुक्यानमा पारेर सहकारीले ठगी गरेको प्रहरीमा जाहेरी दिएका छन् । सबैले जाहेरीमा दिएको बयान अनुसार सहकारीले महिला उद्यमी कार्यक्रमका लागि १० लाख न्यून ब्याजदरमा ऋण दिलाउने भन्दै शेयर सदस्य बन्न लगाएर बैकबाट १० लाख रकम निकालेका बताएका छन् । त्यसमध्ये थोरै रकम मात्र आफूहरुलाई दिएको, आफुहरुले तिरेको बचत किस्ताको रकम पनि सहकारीले फिर्ता नगरेको दाबी गरेका छन । केही पीडितले सहकारीले जग्गा धितो राख्न लगाएर कर्जा दिने भनेपनि भनेजति कर्जा नदिएको र जग्गाको बेचबिखन रोक्का गराएर कागजपत्र आफैंले राखेको खुलासा गरेका छन् ।

यसकारण दिएकी थिइन् कोइरालाले राजीनामा 

सांसद पत्नी कोइराला दोस्रो कार्यकालमा २०७५ देखि सहकारीको सञ्चालक समिति सदस्य थिइन । सहकारी नीति परिवर्तन भएर सरकारी कर्मचारीले सञ्चालक समितिमा बस्न नपाइने र कार्यक्षेत्र भित्रको हुनुपर्ने नियम लागू भएपछि कोइरालाले ५ माघ २०७८ देखि राजीनामा दिएकी थिइन् ।  तर २ वर्षपछि मात्र राजीनामा स्वीकृत भएको थियो ।

उनलाई रुपन्देहीको बुटवलस्थित आरएसडिसी लघुवित्त सँस्थाले ३० करोड ऋण लिएर नबुझाएको आरोपमा अध्यक्ष शम्भुप्रसाद रौनियारसहित सबै सञ्चालकहरुसँगै कालोसूचीमा राखेको छ । अञ्चलाले आफुलाई निर्दोष बताउँदै उमागौरी र लघुवित्त विरुद्ध परमादेश माग गर्दै उच्च अदालतमा रिट पनि दर्ता गराइन् । उनको रिट अझै अदालतमा विचाराधीन छ ।

विराटनगरको शनिहाटस्थित महेन्द्र रात्रि माविका शिक्षिक अन्जलालाई सांसद पोखरेलले नै आफ्ना कार्यकर्ताको सहकारीमा कार्यक्षेत्र विपरित सञ्चालक समिति सदस्य बनाएको आरोप स्थानीयको छ । त्यसबेला उमागौरी सहकारीको कार्यक्षेत्र पाँच गाविस मात्र थियो ।

सहकारी डेढ वर्षदेखि बन्द छ । गत १४ कात्तिकमा अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले वडा अध्यक्ष र सहकारी रजिष्ट्रारको कार्यालयका कर्मचारीको सहयोगमा कार्यालयको ताला फोडेर कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । बचत र महिला उद्यमी कार्यक्रमको ऋण हिनामिना गरेपछि अध्यक्ष शम्भु रौनियारले कोभिडको बहाना बनाउँदै सहकारी गराएका हुन् ।

बचतकर्ता र ऋण लिएर किस्ता बुझाएका सदस्यहरुले रकम फिर्ताका लागि तत्काल प्रहरीमा उजुरी गरेपछि रौनियार पक्राउ परेका थिए । तर उनी दाजु मार्फत् बैंक चेक दिएर बचतकर्ताहरुसँग मिलापत्र गरेर थुनामुक्त भए । उमागौरी सहकारी मोरङ क्षेत्र नम्बर २ का संघिय सांसद तथा तत्कालीन संविधान सभा सदस्य तथा एमाले मोरङका निर्वतमान अध्यक्ष ऋषि पोखरेलको संरक्षणमा सञ्चालित रहेको आरोप छ ।

उनकै संरक्षणमा महिला उद्यमी कार्यक्रमको तामझामसहित राष्ट्र बैकका निर्देशकलाई ल्याएर उद्घाटन गरिएको बताइन्छ । त्यसपछि उमागौरीले महिलाहरुलाई उद्यम गर्न १० लाख रुपैयासम्म ऋण दिने, सेयर सदस्यलाई नबिल बैकबाट १० लाख रुपैयासम्म ऋण दिने, त्यसको केही रकम मात्र सर्वसाधारणलाई दिने गरिएको थियो । सहकारी बन्द भएपछि बैकको किस्ता नतिरेको भन्दै नबिलले बचतकर्ताहरुलाई ताकेता गरेपछि मात्र उनीहरुले आफू ठगिएको थाहा पाएका थिए ।

उमागौरी सहकारीले आरएसडिसीबाट २०७७ असोज २३ गतेको निर्णयबमोजिम २ करोड रुपैयाँ, २०७७ फागुन १३ गते थप २ करोड रुपैयाँ र २०७८ असार २४ गते ७५ लाख रुपैयाँ ऋण लिएको थियो । कर्जा मागको निर्णयमा अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत सबै पदाधिकारीको हस्ताक्षर देखिन्छ । कर्जा कारोबार गर्ने अख्तियारी संस्थाका अध्यक्ष रौनियार, व्यवस्थापक चिरञ्जिवीकुमार यादव र कोषाध्यक्ष शम्भुप्रसाद सिंहलाई प्रदान गरिएको थियो । आरएसडिसीका अनुसार सबै बैठकमा पोखरेलपत्नी अञ्जलाको उपस्थिति र निर्णयहरुमा हस्ताक्षर देखिन्छ ।

ती कर्जाको जमानीबापत २०७७ असोज २७, फागनु २ र २०७८ असार २३ मा धनजमानीको कबुलियतनामा गरी दिएकाले राष्ट्र बैंकको निर्देशन अनुसार संचालक समिति सदस्य कोइरालालाई पनि कालोसूचीमा समावेश गरिएको’ अदालतमा पठाएको जवाफमा उल्लेख छ । अञ्जलाले राजीनामा दिए पनि ऋण लिने बेलामा कबुलियत गरेकाले त्यसपछि सञ्चालक पद छाड्दैमा आफ्नो दायित्व नरहेको भनेर पन्छिन नमिल्ने आरएसडिसीको तर्क छ ।

२०६८ सालमा स्थापना भएको सहकारीमा ऋषिकेशकी पत्नी अञ्जला दोस्रो साधारणसभाबाट सहकारी सञ्चालक थिइन् । उनी करिब १० वर्ष सहकारीको सञ्चालक बन्दा पोखरेल नै सहकारीको हर्ताकर्ता रहेको स्थानीय बताउँछन् । पोखरेलकै पहलमा नविल बैंकसँग ऋण लगानीको सम्झौता भएको थियो । सोही ऋण सर्वसाधारणको जग्गा धितोमा राखेर लिएपछि सहकारीकै सञ्चालकले अपचलन गरेका छन् ।

२०६८ सालमा स्थापित यो सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको बुझिएको छ । सहकारीका सदस्य र ऋणीको घरजग्गा धितोमा राखिएको छ । सहकारीको नाममा विभिन्न बैंकको ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ रहेको बताइन्छ ।

१८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी छ । तर, लगानीको विवरण उल्लेख छैन । यसबीचमा अध्यक्ष रौनियारले विराटनगरको शान्ति चोकमा सुविधा सम्पन्न घर बनाएका छन् भने महंगो गाडी चढ्दै आएका थिए ।

जनआस्थाबाट

प्रतिक्रिया