तीव्रखबर
रसुव- भोटेकोशी बाढीबाट प्रभावित महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायको अवस्था बुझ्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी रसुवाको आमाछोदिङमो गाउँपालिका पुगेकी छन् ।
बाढीका कारण प्रभावित समुदायले भोग्नुपरेका समस्या, तत्कालीन आवश्यकता तथा पुनःस्थापनाको अवस्थाबारे जानकारी लिन मन्त्री बादीले बिहीबार गाउँपालिकाको स्थलगत अनुगमन गरेकी हुन् ।
गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै उनले बाढीबाट विशेषगरी महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको प्रभावबारे स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ ।
अनुगमनका क्रममा मन्त्री बादीले प्रभावित समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
यसैबीच, बाढी प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधनसँगै दीर्घकालीन संरक्षण र पुनःस्थापनाका कार्यक्रम आमाछोदिङमो गाउँपालिकाबाटै सुरु गर्ने तयारी रहेको गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताइन्।
मन्त्रालयका विशेष कार्यक्रममार्फत प्रभावित समुदायको सामाजिक सुरक्षा र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया