November 26, 2026, 12:02 pm
» मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह » नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार » विवाह बन्धनमा बाँधिए रोहित पौडेल » एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

स्वास्थ्य बीमालाई दिगो बनाउन ऐन संशोधन गरिँदै

मंसिर १०, २०८३ मा प्रकाशित | २१०४ दर्शक तीव्रखबर

काठमाडौँ- स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउन सरकारले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग प्रस्तावित संशोधन विधेयकबारे छलफल गरेकी छन् ।

मन्त्रालयले आवश्यक गृहकार्य पूरा गरी विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । कानुनी प्रक्रिया पूरा भएपछि विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा ल्याउने व्यवस्था समेटिएको छ ।

त्यस्तै, आर्थिक रूपमा कमजोर नागरिकको उपचार खर्च राज्यले बेहोर्ने, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमार्फत उपलब्ध स्वास्थ्य सुविधाबीच समन्वय तथा एकीकरण गर्ने प्रस्ताव पनि गरिएको छ ।

बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषयलाई समेत संशोधनमा प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताका अनुसार स्वास्थ्य बीमालाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने सरकारको लक्ष्य छ । आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *