तीव्रखबर
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको प्रकरणमा प्रधानमन्त्री कार्यालयको भूमिकासमेत छानबिन गर्न माग गरेका छन् ।
बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै आङ्देम्बेले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह ?’
उनका अनुसार आयोजनाको ठेक्काका लागि छवटा कम्पनीले बोलपत्र पेस गरेका थिए । तीमध्ये तीनवटा कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए। आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइएको र त्यसपछि ठेक्का रद्द गरिएको उनको दाबी छ ।
आङ्देम्बेले सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्यशक्तिको दुरुपयोग भएको भन्दै स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्नुपर्ने बताए । उनले प्रश्न गर्दै भने- ‘कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो? ठेक्का रद्द गर्ने कानुनी आधार के हो? राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने ?’
उनले सुनकोशी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा आयोजना प्रशासनिक हस्तक्षेपको सिकार हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छलफल भएको र समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको आङ्देम्बेले बताएका छन् । उनले भने, ‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला, तर कानुन कुल्चिने अधिकार छैन । मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक बनाउन पाइँदैन ।’
प्रतिक्रिया