तीव्रखबर
काठमाडौं। भारतको दुईदिने औपचारिक (राजकीय) भ्रमण सम्पन्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्। उनी साेमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाले पश्चात् पहिलो पटक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश प्रस्थान गरेका थिए। उनलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे लगायतले बिदाइ गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते नयाँदिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाहले आफ्नो भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय वार्ता गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटघाट गरेका थिए।
भ्रमणका दौरान नेपाल-भारतबीच ऊर्जा, पारवहन, हवाई रुट विस्तार तथा विभिन्न पूर्वाधार विकासका क्षेत्रमा ऐतिहासिक सहमति तथा सम्झौताहरू भएका छन्।विशेष गरी लामो समयदेखि एकतर्फी रहेको बी३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई रुटलाई द्वितर्फी बनाउने सहमति र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको भर्चुअल शिलान्यास यस भ्रमणका प्रमुख उपलब्धि मानिएका छन्। यसबाहेक पारवहन मार्गमा थप सहजता, चितवनमा कृषि-औद्योगिक पार्क स्थापना लगायत विभिन्न आठवटा समझदारीपत्रमा आदानप्रदान भएको छ।
विभिन्न उच्चस्तरीय भेटघाट, द्विपक्षीय सम्झौता र कार्यतालिका सम्पन्न गरेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता भएका हुन्।
प्रतिक्रिया