November 23, 2026, 10:39 am
» प्रधानमन्त्री शाहले मोदीसँगको पत्रकार सम्मेलनमा गरेको सम्बोधनको पूर्णपाठ » नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार » पारस्परिक सम्मान र विश्वास नै नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो : प्रधानमन्त्री शाह » भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति » अयोध्या–जनकपुर रेल सेवा सुरु

पारस्परिक सम्मान र विश्वास नै नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो : प्रधानमन्त्री शाह

मंसिर ७, २०८३ मा प्रकाशित | १६०४ दर्शक तीव्रखबर

नयाँदिल्ली। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालझैं अटल र महासागरझैं विशाल रहेको बताएका छन्।

प्रधानमन्त्री पद सम्हालेपछिको आफ्नो पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशबीचको आत्मीयतालाई शब्दको सीमिततामा बाँध्न नसकिने स्पष्ट पारे।

भगवान् श्री पशुपतिनाथ, माता जानकी र करुणामय मच्छिन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह, न्यानोपन र सद्भाव बोकेर आफू भारत भ्रमणमा आएको उल्लेख गर्दै उनले हार्दिक निमन्त्रणा र न्यानो आतिथ्यताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरे।

पारस्परिक सम्मान, अटल विश्वास र अटुट सद्भाव नै नेपाल-भारत सम्बन्धको मूल आधारशिला भएको बताउँदै उनले यस सम्बन्धको केन्द्रबिन्दुमा दुई देशका जनता रहेको धारणा राखे।

शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयसापेक्ष बनाउने लक्ष्यका साथ सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा बहुआयामिक द्विपक्षीय साझेदारीका विषयमा खुलस्त, सार्थक र दूरगामी छलफल भएको प्रधानमन्त्री शाहले जानकारी दिए। सोही क्रममा नेपालमा आईआईटी स्थापना गर्ने तथा दुई देशका सहरहरूबीच सिधा हवाई सम्पर्क (डाइरेक्ट एयर कनेक्टिभिटी) विस्तार गर्ने विषयमा समेत महत्वपूर्ण सहमति जुटेको उनले बताए।

वार्ताका अवसरमा विभिन्न महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै जनकपुर–अयोध्या रेल सेवा र तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त उद्घाटन तथा शिलान्यास सम्पन्न भएको उल्लेख गर्दै उनले यी ऐतिहासिक उपलब्धिहरूले दुई मुलुकको समृद्ध भविष्य निर्माणमा सघाउ पुर्‍याउने बताए।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले सम्पूर्ण नेपाली जनताको तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा दिएका छन्।

साथै, उनले भारतका आत्मीय जनतालाई भगवान् पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी तथा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नका लागि खुला हृदयले निमन्त्रणा समेत गरेका छन्।

“नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैँ अटल होस्, सहकार्य नदीझैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्,” प्रधानमन्त्री शाहले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *