तीव्रखबर
नयाँदिल्ली।भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको उच्चस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनले यसपटक एक नयाँ र ऐतिहासिक कूटनीतिक दृष्टान्त प्रस्तुत गरेको छ।
यसअघि दुई देशका प्रधानमन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनमा अङ्ग्रेजी भाषामा मात्र बोल्ने लामो समयदेखिको प्रचलन रहे पनि यसपटक भने दुवै नेताले आ-आफ्नै राष्ट्रिय भाषामा सम्बोधन गरेर कूटनीतिक मर्यादामा एक मौलिक र गर्विलो संस्कृति स्थापित गरेका छन्।
सुरुमा सम्बोधनका लागि आसन ग्रहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी भाषामा आफ्नो लिखित मन्तव्य वाचन गरेका थिए। उनको लगत्तै सम्बोधनका लागि उभिएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पनि मातृभाषा नेपालीप्रतिको उच्च सम्मान प्रकट गर्दै पूर्ण रूपमा नेपाली भाषामै मन्तव्य राखे।
दुवै नेताले आआफ्नो राष्ट्रभाषामा सम्बोधन गरिरहँदा कार्यक्रममा उपस्थित कूटनीतिक नियोगका प्रतिनिधि, उच्च अधिकारी तथा सञ्चारकर्मीहरूका लागि भने अङ्ग्रेजी अनुवादको अडियो प्रबन्ध गरिएको थियो।
दुई छिमेकी देशका सरकार प्रमुखहरूले अन्तर्राष्ट्रिय मञ्च वा संयुक्त सम्बोधनमा समेत आफ्नो राष्ट्रिय भाषाको प्रयोगलाई प्राथमिकता दिनुले दुवै देशमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
प्रधानमन्त्री शाहको यो कदमले नेपालको राष्ट्रिय पहिचान र नेपाली भाषाको गौरवलाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा थप उचाइमा पुर्याएको भन्दै अहिले चौतर्फी प्रशंसा भइरहेको छ।
यसअघि आजै दुई प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तामा व्यापार, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी तथा ‘प्रधानमन्त्री गतिशक्ति’ राष्ट्रिय गुरुयोजना लगायतका बहुआयामिक विषयहरूमा गम्भीर छलफल भएको थियो।
साथै, दुई नेताले संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवा र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको समेत भर्चुअल माध्यमबाट उद्घाटन तथा शिलान्यास गरिसकेका छन्।
प्रतिक्रिया