तीव्रखबर
काठमाडाैं। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थप ओरालो लागेसँगै चिसो ह्वात्तै बढेको छ।
नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज (सोमबार) बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
यो बिहानको सुरुवाती मापन मात्र भएकाले आजको वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेलासम्म उपत्यकाको न्यूनतम तापक्रम अझै केही घट्ने सम्भावना रहन्छ भने कहिलेकाहीँ सुरुवातकै तापक्रम यथावत् रहन पनि सक्छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियसको बीचमा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
हिजो आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस मापन गरिएको थियो। अघिल्लो दिनको तुलनामा आज बिहान तापक्रम ०.२ डिग्री सेल्सियसले घटेकाले उपत्यकावासीले बिहानैदेखि बढी चिसो महसुस गरेका छन्।
मौसमविद्हरूका अनुसार रातको समयमा आकाश बादलले ढाक्दा जमिनको ताप बाहिर जान नपाउने भएकाले बिहान न्यूनतम तापक्रम केही बढ्छ। तर, रातभर आकाश सफा र खुला रहँदा चिसो हावाका कारण बिहानको तापक्रम घट्न जान्छ। हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले अधिकांश भूभागको मौसम मुख्यतया सफा रहेको छ। यद्यपि, बिहानीपख तराई तथा उपत्यकाका कतिपय स्थानमा हल्का हुस्सु र कुहिरो लाग्ने क्रम सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाले दैनिक रूपमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न २० वटा प्रमुख स्टेसनहरूको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। जसमा बिहान ८:४५ बजे न्यूनतम तापक्रम र साँझ ५:४५ बजे अधिकतम तापक्रम सार्वजनिक गरिन्छ। मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसोको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको मौसम र गर्मीको अवस्था दर्शाउँछ।
देशभर दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम तीव्र बनेको छ। विशेषगरी जुम्ला लगायतका उच्च हिमाली जिल्लाहरूमा न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरिसकेको छ। चिसो बढ्दै गएकाले बिहान र बेलुकाको समयमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
प्रतिक्रिया