November 22, 2026, 10:59 am
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई विगतमा भन्दा फरक उपहार दिने

मंसिर ६, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने भारत भ्रमणमा जाँदैछन्। यस राजकीय भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुलाई नेपालका दुई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक धरोहरसँग सम्बन्धित प्रतिमाहरू उपहारस्वरूप प्रदान गर्नेछन्।

यसअघि नेपालका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा भगवान् पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने प्रचलन रहँदै आएको थियो। तर प्रधानमन्त्री बालेन शाहले यसपटक भिन्न र ऐतिहासिक महत्त्व राख्ने उपहारहरू छनोट गरेका छन्।

बालेन शाहको नयाँ दिल्ली भ्रमणका क्रममा सोमबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। उनले प्रधानमन्त्री मोदीलाई रातो मच्छिन्द्रनाथको प्रतिमा उपहार दिनेछन्। रातो मच्छिन्द्रनाथ नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएका प्रमुख देवता हुन्।

नेपालको परम्परागत मान्यताअनुसार लिच्छवि राजा नरेन्द्रदेवले रातो मच्छिन्द्रनाथलाई भारतको तत्कालीन कामरूप (वर्तमान असम) स्थित कामाख्या क्षेत्रबाट काठमाडौँ उपत्यकामा ल्याएका थिए।

धार्मिक मान्यताअनुसार त्यस समयमा उपत्यकामा लामो समयसम्म वर्षा नहुँदा अनिकालको स्थिति सिर्जना भएको थियो। मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि वर्षा सुरु भएको विश्वास गरिन्छ।

त्यस्तै, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई प्रधानमन्त्री शाहले काठमाडौँको चाबहिलस्थित चारुमती विहारसँग सम्बन्धित एक प्रतिमा उपहारमा दिने तयारी गरिरहेका छन्। चारुमती विहारको इतिहास भारतका मौर्य सम्राट् अशोक र उनकी छोरी चारुमतीसँग जोडिएको छ।

परम्परागत मान्यताअनुसार सम्राट् अशोक आफ्नी छोरी चारुमतीका साथ काठमाडौँ उपत्यकामा आएका थिए। चारुमतीले स्थानीय क्षेत्रीय राजकुमार देवपालसँग विवाह गरिन् र देवपाटन क्षेत्रमा बसोबास गर्न थालिन्। उनले सोही क्षेत्रमा विहार निर्माण गराएको मानिन्छ। सोही क्षेत्रमा उनको निधन भएको समेत बताइन्छ।

नेपालका यी दुवै ऐतिहासिक धरोहरहरूसँग सम्बन्धित प्रतिमाहरूको उपहारमार्फत प्रधानमन्त्री शाहले भारत र नेपालबीचको सदियौँ पुरानो धार्मिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धलाई दर्शाउने प्रयास गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *