November 22, 2026, 11:57 am
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्ने पर्यटकको लहर, प्रवेश गर्नेभन्दा बाहिरिने दोब्बर

मंसिर ६, २०८३ मा प्रकाशित | २४०४ दर्शक तीव्रखबर

सोलुखुम्बु। यस वर्षको हिउँदे चिसो क्रमिक रूपमा बढ्दै गएपछि हवाई मार्ग हुँदै सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सार्वजनिक गरेको साप्ताहिक तथ्यांकले पछिल्लो एक हप्तामा खुम्बु क्षेत्र भित्रिनेभन्दा बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी रहेको देखाएको छ।

प्रहरीको पछिल्लो सात दिनको विवरण अनुसार हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु) बाट १ हजार १८० जना पर्यटक बाहिरिएका छन् भने सोही अवधिमा ५२९ जना पर्यटक मात्र भित्रिएका छन्।

भित्रिने पर्यटकको दाँजोमा बाहिरिनेको सङ्ख्या ६५१ ले बढी छ। आगमनको तुलनामा बहिर्गमन दोब्बरभन्दा बढी देखिनुले शरद्कालीन पर्यटकीय सिजन अब अन्तिम चरणमा पुगेको स्पष्ट संकेत गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मौसम तामाङले उपलब्ध गराएको साप्ताहिक विवरणअनुसार बाहिरिने कुल पर्यटकमध्ये ८७७ जना विदेशी र ३०३ जना स्वदेशी रहेका छन्। यस्तै, सोही अवधिमा ३७४ विदेशी र १५५ स्वदेशी पर्यटक खुम्बु क्षेत्र प्रवेश गरेका छन्।

तथ्यांकको लैङ्गिक विवरण हेर्दा खुम्बुबाट बाहिरिने विदेशी पर्यटकमा ३२७ महिला र ५५० पुरुष छन् भने स्वदेशी पर्यटकमा ४६ महिला र २५७ पुरुष रहेका छन्।

त्यसैगरी, खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकमध्ये १०२ महिला र २७२ पुरुष छन् भने स्वदेशी पर्यटकमध्ये ५४ महिला र १०१ पुरुष छन्। खुम्बु क्षेत्रमा चिसो अत्यधिक बढेसँगै पर्यटकहरू फर्कने क्रम तीव्र भएको स्थानीय दाली शेर्पाले बताए।

उनले भने, “नाम्चे क्षेत्रमा नै रातको समयमा तापक्रम माइनसमा झर्न थालेको छ, रात र बिहान तापक्रम माइनसमा जाँदा पानी जम्न सुरु भएकाले चिसो ह्वात्तै बढेको महसुस भएको छ।”

सगरमाथा क्षेत्रको प्रमुख पर्यटकीय याम मानिने शरद् ऋतुको असोज र कात्तिक महिनामा यहाँ पर्यटकको सर्वाधिक चाप रहने गर्छ। मनसुन बाहिरिएपछि मौसम सफा हुने, हिमशृङ्खलाहरू छर्लङ्ग देखिने तथा पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस बेला पर्यटकको ओइरो लाग्ने गर्छ। तर, कात्तिकको अन्त्यसँगै तापक्रम ओरालो लाग्ने, रातको समयमा कठ्याङ्ग्रिने चिसो हुने र उच्च हिमाली भेगमा हिमपातको जोखिम बढ्ने हुँदा पर्यटक फर्कने क्रम बढ्ने गर्छ ।

उच्च हिमाली भेगमा चिसो बढ्दै जाँदा पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रत्यक्ष असर पर्ने सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए।

सिजनको उत्तरार्धमा मौसमको अवस्था, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अनुकूलतालाई विचार गरेर पर्यटकले आफ्नो यात्रा तालिका तय गर्ने भएकाले फर्कनेको सङ्ख्या बढेको उनले जनाए।

खुम्बु क्षेत्रको समग्र पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै शेर्पाले पर्यटक आवागमनमा मौसमी फेरबदलको सीधा प्रभाव पर्ने बताए । शरद् याममा पर्यटकको बाक्लो उपस्थिति हुने भए पनि जाडो सुरु भएसँगै उच्च हिमाली भेगको यात्रा कठिन बन्दै जाने र पर्यटक घट्ने अर्का पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताए।

पर्यटकको आवागमनमा मौसमी अवस्था र सिजनको प्रभाव प्रस्ट देखिने गरेको लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरले बताए । पर्यटकको चाप उच्च हुँदा हवाई उडान बढ्ने र सिजन कमजोर हुँदै जाँदा पर्यटक बाहिरिने क्रम तीव्र हुने उनले जनाए।

इन्चार्ज मगरले भने, “हवाई उडानका लागि मौसमको अवस्था अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले लुक्ला विमानस्थलबाट हुने उडान गतिविधि पनि मौसमअनुसार नै प्रभावित हुने गर्छ।”

चिसो बढ्न थालेपछि पर्यटकको चहलपहल र स्थानीय पर्यटन व्यवसायमा परिवर्तन देखिन थालेको लुक्लाका स्थानीय व्यवसायी तोयाकुमार श्रेष्ठले बताए। पर्यटकको चाप रहने मुख्य सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटकीय व्यवसायमा गतिविधि क्रमशः सुस्ताउँदै जाने स्थानीयको अनुभव छ । उच्च क्षेत्रमा चिसो बढेसँगै पर्यटकले आफ्नो यात्रा छोट्याउने वा बेँसीतर्फ झर्ने प्रवृत्ति देखिने गरेको उनले जनाए।

प्रहरीको साप्ताहिक प्रतिवेदनमा उक्त एक हप्ताको अवधिमा ६९ वटा जहाज (प्लेन) उडान र २८ वटा हेलिकप्टर उडान भएको उल्लेख छ। खुम्बु क्षेत्रमा पर्यटक आउजाउ गर्ने प्रमुख माध्यम हवाई सेवा नै भएकाले मौसम, पर्यटकको चाप र सिजनको अवस्थाले उडान तालिकामा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।

नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्रअन्तर्गत सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे, लुक्लालगायतका स्थान पदयात्रा, हिमाल अवलोकन र पर्वतारोहणका लागि विश्वभरका पर्यटकको रोजाइमा पर्छन्। वसन्त र शरद् गरी वर्षका दुई मुख्य सिजनमा यहाँ पर्यटकको आगमन उच्च रहने पर्यटनविद् आङछिरिङ शेर्पाले बताए।

वसन्त सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्मलाई मुख्य पर्यटकीय अवधि मानिन्छ । शरद् यामको असोज र कात्तिकमा पर्यटकको चाप उच्च रहे पनि सिजन सकिँदै जाँदा उच्च हिमाली भेगको तापक्रम घट्ने र मौसम बदलिरहने क्रमले पर्यटन गतिविधि प्रभावित हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए।

प्रहरीको पछिल्लो साप्ताहिक तथ्यांकले खुम्बु क्षेत्र प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या निकै बढी देखाउनुले शरद् सिजनको अन्तिम चरणमा पर्यटक फर्कने क्रम तीव्र भएको पुष्टि गरेको छ।

उच्च हिमाली क्षेत्रमा चिसो अझै बढ्दै जाँदा आगामी दिनमा मौसम प्रतिकूल हुन सक्ने भएकाले पर्यटक आवागमनमा मौसमी परिवर्तनको प्रभाव थप देखिन सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *