November 20, 2026, 6:47 am
» प्रधानमन्त्री बालेन आइतबार नेपाल एयरलायन्सबाट दिल्ली जाने » कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने » सुन एकैदिन तोलामा १२ हजार २ सयले घट्यो » कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट » विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

मंसिर ४, २०८३ मा प्रकाशित | ३२०४ दर्शक तीव्रखबर

धनुषा– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायतका क्षेत्रको निरीक्षण गरे ।

अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको निर्माण अवस्था, प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिएका थिए  । उनले लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित प्राविधिक तथा प्रशासनिक निकायलाई निर्देशन दिए ।

विकास आयोजना कागजमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष लाभ पाउनेगरी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले निर्माणको गुणस्तर र निर्धारित समयसीमामा सम्झौता नगर्न आग्रह गरे । स्थानीय आवश्यकता र जनताको मागअनुसार योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

यसै क्रममा मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । जनकपुरधामलाई व्यवस्थित, आकर्षक र अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको उनले जानकारी दिए  ।

उनले जनकपुरधामस्थित मणिमण्डपको अवलोकन गरी त्यसको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका सम्भावनाबारे जानकारी लिए । मणिमण्डपलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै मन्त्री लम्सालले यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नुपर्ने बताए ।

त्यसैगरी, रामजानकी स्टेडियमको निरीक्षण गर्दै उनले खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताए । स्टेडियमलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक पहल गरिने उनको भनाइ थियो ।

मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री लम्सालले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताए ।  अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *