November 17, 2026, 7:23 pm
» ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ » सुदूरपश्चिमलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा » सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते » नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार कति ? » भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति

ठूला सहर छाडेर गाउँ-बस्तीमा गुञ्जिँदै नेपथ्य, चार स्थानमा कन्सर्ट गर्ने

कार्तिक ३०, २०८३ मा प्रकाशित | २४०४ दर्शक तीव्रखबर

काठमाडौं– ठूला सहरका मञ्चमा दर्शकको मन जित्दै आएको लोकप्रिय ब्याण्ड नेपथ्य अब गाउँ–बस्ती र मझौला सहरका दर्शकमाझ पुग्ने भएको छ ।

सिक्किम तथा नेपालको पूर्वी भेगको सांगीतिक यात्रा सकेर फर्किएको ब्याण्डले देशका चार फरक स्थानमा कन्सर्ट गर्ने तयारी गरेको हो ।

यसपटक नेपथ्यले चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारालाई आफ्नो सांगीतिक यात्राको गन्तव्य बनाएको छ ।

ब्याण्डको पहिलो प्रस्तुति मंसिर ३ गते सौराहाको सिसुवार मैदानमा हुनेछ । त्यसपछि मंसिर ५ गते पुतलीबजारको मालेबगर खेल मैदान, मंसिर ९ गते बेनीको खुलामञ्च र मंसिर १२ गते बेलचौतारास्थित भानुभक्त क्याम्पसको मैदानमा नेपथ्यले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछ ।

यी चार स्थानमध्ये म्याग्दीको बेनीमा नेपथ्य यसअघि पनि पुगिसकेको छ। तर, सौराहा, पुतलीबजार र बेलचौतारामा भने ब्याण्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो । कन्सर्टको घोषणासँगै ती क्षेत्रका स्थानीयमा उत्साह बढेको छ । सौराहामा सहुलियत दरका टिकट बिक्री भइसकेका छन् भने अन्य टिकट पनि सीमित मात्र बाँकी रहेको जनाइएको छ ।

सबै कन्सर्टका लागि अपराह्न ४ बजे प्रवेशद्वार खुला गरिनेछ। नेपथ्यले यस यात्रामार्फत संगीतको पहुँच ठूला सहरमा मात्र सीमित नराखी साना सहर र ग्रामीण बस्तीका दर्शकसम्म पुर्‍याउन खोजेको देखिन्छ । देशभित्र र विदेशका ठूला सहरमा प्रस्तुति दिँदै आएको ब्याण्डले स्थानीय दर्शकको चाहनालाई समेत प्राथमिकता दिएको हो ।

नेपालका यी चार स्थानको सांगीतिक यात्रा सकेपछि नेपथ्य अस्ट्रेलिया जानेछ । डिसेम्बरमा ब्याण्डले एडिलेड, सिड्नी र पर्थमा कन्सर्ट गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *