तीव्रखबर
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्रको रक्षा गर्दै महँगी, भ्रष्टाचार, बेथिति तथा दण्डहीनताविरुद्ध आवाज उठाउन आम नागरिकलाई राष्ट्रिय जागरण अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
शनिबार अभियानको उद्घाटन गर्दै प्रचण्डले निरङ्कुशता र अराजकताविरुद्ध एकजुट हुन नागरिकसमक्ष अपिल गरेका हुन्।
देश अहिले राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको बताए।
महँगीका कारण जनजीवन कष्टकर बनेको, बेरोजगारी र युवा पलायन बढिरहेको तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले विभिन्न कठिनाइ भोगिरहेको उनको भनाइ थियो। उनले जनजीविकासँग सम्बन्धित आधारभूत समस्या झन् जटिल बन्दै गएको पनि उल्लेख गरे।
प्रचण्डले विगतका कामको इमानदारीपूर्वक समीक्षा गर्दै गल्ती र कमजोरीप्रति आत्मालोचना गर्नुपर्ने आवश्यकता औँल्याए। जनताको विश्वास पुनः बलियो बनाउन सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका सकारात्मक कामलाई निरन्तरता दिँदै थप उत्तरदायी बन्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
अभियानमार्फत स्थानीय, प्रदेश र संघीय तहमा जनताका समस्या पहिचान गरी समाधानका लागि निरन्तर पहल गरिने उनले बताए।
“हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो,” प्रचण्डले भने। जनताबाट प्राप्त गुनासाको अभिलेख राखिने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे पुनः जनतालाई जानकारी गराइने उनले स्पष्ट पारे।
नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानको उद्घाटन समारोहमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूको उपस्थिति थियो।
प्रतिक्रिया