तीव्रखबर
काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भएका दुर्घटनामा मोटरसाइकल चालक, पैदलयात्री तथा सवारीसाधनमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरी, काभ्रे, कास्की, नवलपरासी पश्चिम, रौतहट र बाँकेमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ मा शुक्रबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका १८ वर्षीय जयप्रकाश साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका साहको छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, काभ्रेको महाभारत गाउँपालिका–८ घर्तीछापस्थित सडकमा शुक्रबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २४ वर्षीय दिनेश पाख्रिनको घटनास्थलमै मृत्यु भएको छ।
कास्कीको पोखरा महानगरपालिका–२९ आदर्श चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ। तालचोकबाट पावरहाउसतर्फ जाँदै गरेको मोटरसाइकलले शुक्रबार बेलुकी शर्मालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित सडकमा शुक्रबार बेलुकी मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपन्देहीको देवदह नगरपालिका–९ का ४० वर्षीय सुवास सेन्चुरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका सेन्चुरीको देवदह मेडिकल कलेज, भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा संलग्न मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा शनिबार बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको छ। मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी पण्डितको गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौरीस्थित सडकमा शनिबार बिहान दुई कार आपसमा ठोक्किँदा ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई काठमाडौं बस्दै आएका शाही दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया