तीव्रखबर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन २०८३’ स्वीकृत गरेको छ। सोमबार कार्यवाहक प्रमुख एवं समितिका अध्यक्ष सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले मार्गदर्शन स्वीकृत गरेको हो ।
मार्गदर्शनले विद्यार्थीको रुचि, सिर्जनात्मक प्रतिभा र जीवनोपयोगी सीप विकासमा जोड दिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उमेर र आवश्यकताअनुसार फरक–फरक गतिविधिमा सहभागी गराइनेछ ।
कक्षा १ देखि ३ सम्म ‘रमाइलो शुक्रबार’, कक्षा ४ देखि ८ सम्म ‘सिर्जनात्मक सिकाइ’ र कक्षा ९ मा ‘शिक्षामा सीप’ कार्यक्रम सञ्चालन गरिनेछ । सिर्जनात्मक सिकाइअन्तर्गत अबाकस, विज्ञान तथा प्रविधिमा आधारित अभ्यास, सङ्केत लेखन, कृत्रिम बुद्धिमत्ता, योग, ध्यान, गायन, नृत्य र हस्तकलाजस्ता विषय समेटिएका छन् । कक्षा ९ का विद्यार्थीलाई पाककला, केश सज्जा, विद्युत् जडान तथा मूर्तिकला र चित्रकलासम्बन्धी व्यावहारिक सीप सिकाइनेछ । खेलकुदअन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते, क्रिकेट र फुटबलको प्रशिक्षणसमेत सञ्चालन गरिनेछ ।
‘सुन्दर विद्यालय’ कार्यक्रममार्फत विद्यार्थीको सहभागितामा कक्षाकोठा तथा शौचालय सरसफाइ, फोहोरमैला व्यवस्थापन, वृक्षरोपण र वातावरण संरक्षणका गतिविधि सञ्चालन हुनेछन् । विद्यालयले हरेक शुक्रबार तीन घण्टा कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मार्गदर्शनमा प्रशिक्षकको योग्यता, अनुदान, खर्चको अभिलेख, नियमित अनुगमन र सिकाइ उपलब्धिको मूल्याङ्कनसम्बन्धी व्यवस्था पनि गरिएको छ । सिर्जनात्मक सिकाइका प्रत्येक उपसमूहलाई अधिकतम ८७ हजार ५०० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।
बैठकले महेन्द्र भवन आवासीय माध्यमिक विद्यालयको नाम परिवर्तन गरी ‘महेन्द्र भवन महानगर विद्यालय’ कायम गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया