तीव्रखबर
– अनुसा थापा
पछिल्लो समय ज्योतिषीको कार्यालय जताततै देखिन्छ । कोठा र सटर भाडामा लिएर ज्योतिषी अफिस खोलिएको छ । चिन्हा हेर्ने, हात पढ्ने, भविष्य देखाउने भन्दै ज्योतिषीहरुले ठगिरहेका छन् । चिन्हा हेरेको, हात पढेको, भविष्य देखाएको मनलाग्दी पैसा असुलिन्छ । चिन्हा हेरेकै हजार रुपैयाँभन्दा बढी असुल गरिन्छ ।
चिन्हा हेराएर मात्रै भएन, यो गर–त्यो गर भनिन्छ । ‘तपाईँलाई दशा लागेको छ, ग्रह दशा कटाउनुपर्छ’ भन्दै ज्योतिषीहरुले आफ्नो व्यापार चलाउँछन् । भ्रमको खेती गरेर सर्वसाधारण लुटिँदैछ । यता, महिलाहरु फुकफाकमा संलग्न हुन थालेका छन् । फुकफाक गर्ने भन्ने, सटर लिएर कुचैकुचोले हिर्काउने ।
त्यस्ता माताका कारण सर्वसाधारणले अकालमा ज्यान गुमाउँदै आएका छन् । अहिले त पुरुष पनि माता बन्न थालेका छन् । प्रहरीले हालै एक जना पुरुष मातालाई नियन्त्रणमा लिएको छ । त्यस्ता ज्योषिती र मातालाई युट्युबहरुले चर्चामा ल्याइरहेका छन् । माताले यस्तो भन्यो भन्ने, इन्टरभ्यु लिने अनि चर्चामा ल्याइदिने ।
ज्योतिषी अफिसको दर्ता छ कि छैन ? उनीहरुले ठगेका छन् कि छैनन् ? युट्युबहरुले त्योचाँहि खोज्दैनन् । अगाडि ल्याएर कपाल पोको पार्दैमा माता ? पछिल्लो समय यो सहज रुपमा कमाउने माध्यम बनेको छ । यसो हात हेरेजस्तो गरेर ज्योतिषी र कथित माताहरुले टन्नै कमाइरहेका छन् ।
तर, नियामक निकायको त्यसमा आँखा जाँदैन । नियामक निकायले देखेर पनि अनदेखा गरिरहेको अवस्था छ । ज्योषिती, झारफुकको नाममा ठग्ने कार्य काठमाडौं उपत्यकासहित बाहिर पनि देखिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सिर्जनानगरस्थित माताको एउटा ठूलो घर छ ।
प्रत्येक बुधबार र शनिबार त्यहाँ ठूलो कार्यक्रम हुन्छ । भक्तजनहरु किलोका किलो फलफूल लिएर आउँछन् । उनीहरु माताको घर बाहिरैबाट ढोग्दै हिँड्छन् । दिनभर नाँचगान गरेर बिताउँछन् । गम्भीर कुरा त के भने, आमाबुवा स्कुले बच्चा पनि त्यहाँ लिएर आउँछन् । स्कुल छोडाएर त्यहाँ ल्याइन्छ ।
बिचरा, त्यो बालबालिकालाई के थाहा ? आफूलाई कहाँ लगिँदैछ ? भन्ने उनीहरुलाई जानकारी नै हुँदैन । बाबुआमाले ल्याउँछन्, उनीहरु आउँछन् । ती माताले त्यसरी नै ठगठाग गरेर थुप्रै स्थानमा सम्पत्ति जोडेको बताइन्छ । विगतमा केही नभएकी उनी कहाँबाट कहाँ पुगिसकिन् ।
सर्वसाधारण भने आफू खाईनखाई ल्याएर त्यहाँ चढाउँछन् । माइती किवाचोक र घर सुशिल भैरवथान भएकी उनको पहिले होटल भएको स्थानीय बताउँछन् । कहिल्यै स्कुलमा पाइला नटेकेकी उनको श्रीमान टायर टाल्थे । रोचक प्रसंग के भने, नपढेको मान्छेको पढेको मान्छेलाई ठगिरहेकी छिन् ।
अनि मान्छे पढेर मात्र हुँदो रहेछ ? ठग्न जान्नेलाई पढ्नै पर्दैन । उनीहरुले माता बनेर पनि सम्पत्ति कमाइहाल्छन् । ज्योतिषीको नाममा ठग्नेलाई राज्य किन कारबाही गर्न सक्दैन ? तिनलाई च्यापच्याप समातेर ठगी मुद्दा लगाउनु पर्दैन ? ‘लिटिल बुद्ध’ को नाममा ठगेर बनाएको महल त सबैले देखेका छौं ।
तैपनि सर्वसाधारणको किन आँखा खुल्दैन ? राज्यले किन यस्तो धन्दा बन्द गर्दैन ? माताहरु चर्चामा आउन जेपनि बोल्छन् । कति माताहरु राजा फर्किन्छ भन्छन् । कति माताहरु सरकार ढल्छ भन्छन् । कति माताहरु पृथ्वी सखाप हुन्छ भनेर बोल्छन् । यसरी जनतालाई भ्रमित बनाउनेको अगाडि सरकार किन लाचार ?
सञ्चारमाध्यमले पनि यस्ताको पछाडि लाग्न छोड्नुपर्छ । तिन गरिरहेको ठगीधन्दा जनतालाई देखाइदिनुपर्छ । अनि मात्र उनीहरु कानुनको कठघरामा पुग्छन् । सर्वसाधारण ठगिनबाट जोगिन्छन् । नेपालको कानुनले छुवाछुत र विभेद गर्न नपाउने व्यवस्था गरेको छ । छुवाछुत र विभेद गर्नेलाई कारबाही हुन्छ ।
तैपनि, अहिलेपनि जातीय विभेद र छुवाछुत कायमै छ । जातीय विभेद गर्दै मन्दिरमा छिर्न नदिएको थुप्रै घटना सार्वजनिक भइरहेको हुन्छ । महिनावारी हुँदा अहिलेपनि गोठमा राख्ने वा घरबाहिर बसाउने चलन कतिपय जिल्लामा देखिन्छ । धर्म परिवर्तनको गैरकानुनी धन्दा पनि जारी छ ।
आर्थिक अवस्था कमजोर भएकालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराइन्छ । यसमा पनि सरकारले रोक लगाउन सकेको छैन । सार्वजनिक काममा कोही नलाग्ने, अनि धर्मको नाममा दिन व्यतित गर्ने । घरको फोहोरचाँहि राज्यले उठाइदिनुपर्ने, आफूचाँहि केही नगर्ने ।
देश यत्तिकै बन्दैन । नागरिक पनि सचेत हुनुपर्छ । अरु देश यत्तिकै अमेरिका, अष्ट्रेलिया बनेको छैन । जसको घरको फोहोर राज्यले उठाइदिनुपर्छ, उसको कुरा अमेरिका, अष्ट्रेलियाको हुन्छ । अनि यस्ता नागरिकलाई के भन्ने ? बालेन्द्र साह नेतृत्वको सरकारले यस्ता व्यक्तिहरुलाई च्याप च्यापी समात्नुपर्छ ।
तिनको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । सरकारले अनिवार्य सार्वजनिक काम गर्न लगाउनुपर्छ । केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा झार उखाल्न पनि पारिश्रमिक दिने व्यवस्था गरियो । त्यस्तो पनि हुन्छ ? आफ्नो गाउँठाउँ सफा गर्नलाई के को पैसा ? पहिलेपहिलेका मान्छे सार्वजनिक काम गर्थें ।
उनीहरुसँग फुर्सद हुँदैनथ्यो । मन्दिर, पार्टीपौवा, ढुंगाधारालगायतका संरचना निर्माण गर्ने, सरसफाइ गर्ने काममै दिन बित्थ्यो । अहिले मान्छेहरु धेरै फुर्सदिलो भए । सार्वजनिक काम नगर्ने, माता, ज्योतिषीकहाँ गएर दिन बिताउने । पहिलेपहिलेका मान्छेले आफैंले पुल बनाउँथे ।
खोलानालाहरु आफैं सफा गर्थें । तर, राज्यले गलत बानी बसायो । पुल बनाउन आफ्नो मान्छेलाई ठेक्का दिन थालियो । खोलानाला सफा गर्ने नाममा राज्यको ढुकुटी खन्याइयो । त्यसैले जनता बिग्रिए । काम छैन, पुरुषहरु तास खेलेर दिन बिताउँछन् । महिलाहरु माताको घर ढोग्दै हिँड्छन् ।
यहाँ जसले ठग्न सक्यो, तिनै माथि पुगेका छन् । जति माता र ज्योतिषी छन्, उनीहरुले पार्टीलाई लेबी तिरेका छन् । उनीहरु पार्टीको सदस्य छन् । पार्टीले उनीहरुलाई संरक्षण गरिहाल्छ । यदि माताले फुकेर बिसेक हुने हो भने डाक्टर किन चाहियो ? अस्पताल किन खोल्नुपर्यो ? डाक्टर र नर्सलाई तलब किन दिनुपर्यो ?
त्यसैले नागरिक सचेत होऔं । जबसम्म नागरिक सचेत हुँदैनन्, तबसम्म माताका ठगीधन्दाहरु चलिरहन्छ । नागरिकको सम्पत्ति सकिन्छ तर माताहरुको ठगीधन्दा सकिँदैन । झारफुक गर्ने नाममा यौन दुर्व्यवहार गरेको घटनाहरु पनि सार्वजनिक भएका छन् । माताकै कारण धेरैले ज्यान गुमाएका छन् ।
तर, राज्य नागरिकलाई सचेत गराउँदैन । माताकहाँ नजानुस् भनेर विज्ञापन बोर्ड सूचना निकाल्दैन । राज्यलाई मतलब छैन, सञ्चारमाध्यम तिनलाई नै प्रोत्साहन गरिरहेको छ । अनि नागरिक ठगिने क्रम रोकिन्छ ? प्रधानमन्त्रीको यसमा चाँडो ध्यान जाओस् । माताहरुले सर्वसाधारणको ज्यान पनि लुटे, सम्पत्ति पनि ।
तस्वीर : एआई
प्रतिक्रिया