October 11, 2026, 7:59 am
» हनुमानढोकास्थित दशैं घरमा जमरा राखियो, घटस्थापनासँगै विजयादशमीको रौनक सुरु » रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते » बूढीगण्डकी बाढी : ३६ जनाको उद्धार » बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम » भारतीय युट्युबर ध्रुव राठीसहित ककरोचका नेताहरु रिहा

बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग

अशोज २५, २०८३ मा प्रकाशित | २७०४ दर्शक तीव्रखबर

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीको मुख्य कारण सामान्य वर्षा मात्र नभई पहिरोले खोला थुनिएर बनेको अस्थायी बाँध फुट्नु हुनसक्ने मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार पछिल्ला केही दिनमा गोरखाका विभिन्न वर्षामापन केन्द्रमा रेकर्ड भएको वर्षाको मात्रा ठूलो बाढी निम्त्याउन पर्याप्त देखिँदैन । तर, पछिल्लो वर्षाले कमजोर भूभागमा पहिरो निम्त्याएको र त्यसले खोला थुनेपछि एक्कासि ठूलो बाढी आएको हुनसक्ने विभागको प्रारम्भिक विश्लेषण छ ।

विभागका अनुसार गोरखाको बारपाक, नामरुङ र सेतीबेसीलगायतका वर्षामापन केन्द्रमा पछिल्ला दिनमा सामान्यदेखि मध्यम स्तरको वर्षा रेकर्ड भएको छ । अक्टोबर ६ मा बारपाकमा २१ मिलिमिटर वर्षा भएको थियो भने अक्टोबर १० मा विभिन्न केन्द्रमा ५ देखि २४ मिलिमिटरसम्म वर्षा मापन गरिएको थियो । अक्टोबर ७ मा घ्याच्चुङ तथा अक्टोबर ८ र ९ मा बारपाक क्षेत्रमा पनि छोटो समयमा वर्षा भएको तथ्याङ्कले देखाएको छ ।

महानिर्देशक श्रेष्ठले पछिल्लो २४ घण्टामा उल्लेख्य वर्षा नभए पनि अघिल्ला दिनको वर्षाले पहिरो निम्त्याएको हुनसक्ने बताउनुभयो । उहाँका अनुसार पहिरोका कारण खोला थुनिएर पानी जम्मा भएको र पछि थुनिएको भाग फुट्दा ठूलो बाढी आएको हुनसक्ने सम्भावनाबारे अध्ययन भइरहेको छ ।

यसैगरी, हालैको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपात तथा हिमनदीसँग सम्बन्धित घटनाले बाढीमा भूमिका खेलेको हुनसक्ने सम्भावनालाई पनि विभागले नकारेको छैन । बाढीको वास्तविक कारण पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।

उहाँले हालको मौसम पूर्वानुमानअनुसार उक्त क्षेत्रमा छिटपुट वर्षाको सम्भावना मात्र देखिएकाले ठूलो वर्षा प्रणाली सक्रिय नरहेको जानकारी दिनुभयो । यद्यपि, भूगोलको संवेदनशीलता र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बाढी प्रभावित तथा कमजोर भूभागमा निरन्तर निगरानी र सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ ।

विभागका अनुसार गोरखा क्षेत्रमा ठूलो वर्षा नभए पनि जमिन पहिले नै कमजोर अवस्थामा रहेकाले सामान्य वर्षाले समेत पहिरो निम्त्याउन सक्ने जोखिम छ । त्यसैले तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि बुढीगण्डकी नदी तथा आसपासका जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *